छोटो रुटमा जोर बिजोर प्रणाली



हेटौंडा  । पछिल्लो समय अधिक प्रयोगमा आइरहेको हेटौंडा–कुलेखानी–फर्पिङ–काठमाडौं रुटमा चल्ने यात्रुबाहक सवारीसाधनमा जोर बिजोर प्रणाली लागु हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको बैठकले उक्त रुटमा चल्ने यात्रुबाहक सुमो तथा जीपको चाप सन्तुलनका लागि असोज १ गतेदेखि मंसिर मसान्तसम्म जोर बिजोर प्रणाली लागु गरी कुलेखानी–फाखेल–फर्पिङ–काठमाडौं र कुलेखानी–सिस्नेरी–फर्पिङ–काठमाडौं रुटमा सञ्चालन गर्न इजाजत (रुट परमिट) का लागि यातायात व्यबस्था विभागमा सिफारिस गरी पठाउने निर्णय गरेको हो ।

सस्नेरीतर्फको सडक निर्माण कार्य सम्पन्न भइसकेपछि उक्त रुटबाट मात्र सवारी गुड्ने सम्भावना बढ्ने र फाखेलतर्फका सर्वसाधारणलाई समस्या हुने भएकाले फाखेलतर्फको रुटमा पनि समानरुपमा सवारी सञ्चालन गर्न यस किसिमको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले बताउनु भएको छ ।

३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडालाई नै बनाउन सबैको सहमति हुन हेटौंडा–कुलेखानी–फर्पिङ–काठमाडौं सडक स्तरोन्नति तथा ट्राफिक जाम कम गर्न जरुरी भएको र त्यसका लागि जोर बिजोर प्रणाली उपयुक्त रहेको ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले बताउनु भएको छ ।
सम्पूर्णको सेवासुविधालाई ध्यान दिनु अत्यावश्यक भएकाले जोर बिजोर प्रणाली लागु भएमा उपयुक्त हुने जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालले बताउनुभयो ।

मंसिर ५ गतेपश्चात दुवै रुट हुँदै सञ्चालन हुने सुमो÷जीपमा जोर बिजोर प्रणालीलाई निरन्तरता दिने भएकोले हेटौंडा–कुलेखानी–फर्पिङ–काठमाडौं (फाखेल–सिस्नेरी) सडक पञ्जीकरण गर्नका लागि यातायात व्यबस्था विभागमा सिफारिस गरी पठाउने निर्णय गरिएको छ ।

निर्णयहरु कार्यान्वयनपश्चात् हेटौंडा–कुलेखानी–फर्पिङ–काठमाडौं रुटमा ट्राफिक जाम कम हुने, दुवैतर्फमा स्थानीयलाई सवारीसुविधा प्राप्त हुने विश्वास राखिएको छ । जोर बिजोर प्रणालीका लागि यातायात व्यवसायीले पनि सहमति जनाएका छन् ।

सिस्नेरी तथा फाखेलबाट हेटौंडा बजारसम्म तरकारी ढुवानी गर्ने सवारीको विषयको विवाद भने टुंगिन सकेको छैन । उक्त स्थानबाट हेटौंडा बजारसम्म तरकारी ढुवानी गर्न निजी सवारीलाई बेलुका ८ बजेदेखि विहान ५ बजेसम्मको समय प्रदान गरिएको छ । स्थानीय कृषकहरुको लागि उक्त समय पर्याप्त नभएको भन्दै इन्द्रसरोवर गाउँपालिका २ नम्बर वडा अध्यक्ष राजुमान महर्जनले असन्तुष्टि व्यक्त गर्नुभयो ।

कृषकले उत्पादन गरेको तरकारी निर्धारित समयमा ल्याउँदा कृषकले उपयुक्त बजार मूल्य प्राप्त गर्न नसकेको महर्जनले बताउनुभयो । कृषकहरुले तरकारी ढुवानीका लागि बेलुका ६ बजेदेखि विहान ८ बजेसम्मको समय माग गरेका छन् । तर, हेटौंडा–कुलेखानी–फर्पिङ–काठमाडौं रुटमा ट्राफिक व्यबस्थापनलाई मध्यनजर गर्दै निर्धारित समय भन्दा अलिकति समय पनि अगाडि वा पछाडि गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्