जापानमा भूकम्प, आठको मृत्यु



टोकियो । उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

यस भूकम्पपछि भवन भत्किएर र भू–स्खलनमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ वेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ ।

गत साता पनि यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो । यस क्षेत्रमा विद्युत्सेवा उपलब्ध गराइआएको प्रमुख थर्मल प्लान्टमा भूकम्पबाट क्षति पुगेका कारण ३० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । यस भूकम्पको केन्द्रविन्दु क्षेत्रीय राजधानी साप्पोरोबाट ६२ किलोमिटर टाढा रहेकाले सुनामीको चेतावनी भने दिइएको छैन ।

भूकम्पपछि दर्जनाैँ घर ध्वस्त भएको र भूकम्प प्रभावित इलाकामा रहेका आवासीय दर्जनौँ व्यक्तिलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । प्रहरी अधिकारीलगायत करिब २० हजार उद्धारकर्ता परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताएका छन् । सो उद्धारकार्यमा अरू करिब २० हजार सैनिक पनि परिचालन गर्ने तयारी भइरहेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि बोल्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले मानिसको ज्यान बचाउन हरसम्भव प्रयास गरिने बताए । सन् २०११ को मार्च ११ मा जापानमा आएको विनाशकारी ९ रेक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी जनधनको ठूलो क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्