ट्रम्पको पहिलो कार्यकाल भित्रै परमाणु निसस्त्रिकरण गर्न किम इच्छुक



सोल, वासिङटन (एजेन्सी)
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले पहिलो पटक निसस्त्रिकरणका लागि समय तालिका प्रस्तुत गरेको छ ।

उक्त समय तालिका अनुसार अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकाल अन्त्यसम्म निसस्त्रिकरण पुरा गर्ने उल्लेख गरिएको सोलका अधिकारीहरुले बताए ।

किमको उक्त योजनालाई लिएर ट्रम्पले धन्यवाद दिँदै ‘मिलेर पुरा गर्ने ‘ इच्छा ब्यक्त गरेका छन् । किम र दक्षिण कोरियाली नेता मुन जे इनबीच सेप्टेम्बर १८–२० मा प्याङयाङमा भेटवार्ता हुने कार्यक्रम रहेको छ । उनीहरु बीचको यो तेस्रो शिखर सम्मेलनमा परमाणु निसस्त्रिकरणका लागि ब्यवहारिक कदमका विषयमा छलफल हुने मुनका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ युइ योङले जानकारी दिए । किमसँग भेटेको एक दिनपछि उनले सो कुरा बताएका हुन् ।

यस शिखर सम्मेलनले उत्तर कोरिया र अमेरिकाबीच परमाणु निसस्त्रिकरणमा वार्ता गर्ने नयाँ मार्ग प्रसस्त गर्न सक्ने बताइएको छ । गत महिना यस दिशामा प्रगति नभएको बताउँदै ट्रम्पले आफना विदेशमन्त्री माइक पोम्पियोको प्योङयाङ भ्रम्रण रद्द गरेका थिए ।

किमले दक्षिण कोरियाली अधिकारीलाई ट्रम्प प्रतिको आफनो विश्वासमा कुनै परिवर्तन नआएको बताएका थिए । ट्रम्पको पहिलो कार्यकाल सन् २०२१ को पुर्वाद्धमा समाप्त हुन अगाडी नै अमेरिकासँगको शत्रुतापुर्ण सम्बन्ध अन्त्य गर्न र निसस्त्रिकरण गर्न चाहेको किमले बताएको चुङले जानकारी दिए ।
राष्टपति ट्रम्पका विषयमा कहिल्यै आफु कुनै नकारात्मक नबोलेको उनले जोड दिइरहेका थिए – चुङले बताए ।

ट्रम्पले ट्विट मार्फत किमको टिप्पणीको स्वागत गरे । ‘ उत्तर कोरियाका किम जोङ उनको दावी, राष्ट्रपति ट्रम्प प्रति अडिग विश्वास । धन्यवाद चेयरम्यान किम । हामी मिलेर यसलाई पुरा गर्छौं ‘ ट्रम्पले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्