पार्किङ समस्या समाधानार्थ कामनपाको सराहनीय योजना



काठमाडौंका व्यस्त बजारमा सवारीसाधन पार्किङको समस्या दिन–प्रतिदिन बढिरहेको छ । जताततै अव्यवस्थित पार्किङले एकातिर शहर नै कुरुप बन्न पुगेको छ भने अर्कातिर व्यापारी एवम् पैदल यात्रीलाई समेत बाधा पुगेको देखिन्छ ।

भित्री शहरमा हुने सवारीसाधनको अस्तव्यस्ततालाई कम गर्न काठमाडौं महानगरपालिकाले केही भित्री शहरमा दिउँसोको समयमा चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा रोक लगाएको पनि हो । तर भित्री शहर र आसपासमा समेत सवारी पार्किङ स्थल नभएकाले महानगरपालिकाको यो निर्णय विवादास्पद नै रह्यो । यसरी अस्थायी प्रकृतिको समाधानभन्दा पनि दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नु अपरिहार्य छ ।

हुन त शहरका कतिपय व्यापारिक भवनको अन्डरग्राउन्ड सवारीसाधन पार्किङका लागि बनाइए पनि अन्य प्रयोजनमा प्रयोग भइरहेको देखिन्छ । सवारी पार्किङका लागि भनी बनाइएका अन्डरग्राउन्ड सोही प्रयोजनमा प्रयोग भइरहेको छ वा छैन भन्ने खोजी गरी कडाइ गर्नु पनि जरुरी छ । यसो गर्न सकियो भने पनि केही हदसम्म समस्या न्यून गर्न सकिन्छ ।

काठमाडौंका व्यस्त शहरमा पार्किङको समस्या बढिरहेकाले लामो अध्ययनपछि महानगरपालिकाले उपत्यकाका तीन स्थानमा अत्याधुनिक पार्किङस्थल निर्माण गर्ने योजना अगाडि सारेको छ । काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको धर्मपथस्थित जग्गामा स्मार्ट पार्किङ निर्माण गर्न इच्छुक कम्पनीसँग आसयपत्रसमेत माग गरिसकेको छ ।

त्यस्तै दरबारमार्ग र न्यूरोडस्थित असन–इन्द्रचोकतर्फ जाने सडकमा मोबाइलबाट समयसीमा जानकारी लिन मिल्ने गरी दुई स्थानमा डिजिटल पार्किङ बनाउने योजना अघि बढाएको छ । न्यूरोडमा मोबाइल प्रयोग गरी सञ्चालन गर्न सक्ने डिजिटल पार्किङ नेपालकै पहिलो हुने बताइन्छ ।

कामपाले धर्मपथमा १ रोपनी १० आना जग्गामा निर्माण गर्न लागेको पार्किङस्थलमा ५ सय सवारीसाधन अट्नेछन् । यो पार्किङ भवन ७ तलाको हुनेछ । त्यस्तै दरबारमार्गमा १ सय र न्यूरोडस्थित असन–इन्द्रचोकतर्फ जाने सडकमा बनाइने पार्किङ स्थलमा २ सय ५० वटा चारपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने जनाइएको छ ।

पार्किङस्थल पहुँचयुक्त, पैदलयात्री–मैत्री, बस्ने तथा पर्खने ठाउँको व्यवस्था, पर्याप्त उज्यालो, विद्युतीय सवारी चार्ज स्टेसन, कार सफाइ तथा मर्मत सुविधा, पार्किङ सेन्सर आदिले सुविधा सम्पन्न हुने जनाइएको छ । तीनवटै पार्किङस्थल निर्माण भएपछि राजधानीको दरबारमार्ग र न्यूरोड आसपासको पार्किङ व्यवस्थापनमा अवश्य सुधार आउनेछ ।

योजना मात्र नभएर शीघ्र कार्यान्वयन हुन सक्यो भने महानगरको यस कार्यको सराहना गर्नै पर्छ । आशा गरौं, अब भने यस क्षेत्रको पार्किङ समस्या समाधान होला कि !

प्रतिक्रिया दिनुहोस्