आज नेपालले भुटानसँग खेल्दै



नेपाल समाचारपत्र, काठमाडौं
पाकिस्तानसँग हारेपछि नेपाललाई साफ च्याम्पियनसिपमा रहिरहन आज हुने खेल जित्नै पर्ने दवाव भएको छ । बंगलादेसको ढाकामा जारी प्रतियोगिताअन्तर्गत नेपालले आज भुटानसँग खेल्दैछ । भुटानले पहिलो खेलमा बंगलादेससँग २–० को हार बेहोरेको थियो । नेपाल र भुटानका लागि जित्ने नै पहिलो प्राथमिकता हुनेछ । हारले प्रतियोगिताबाट बाहिरिने संभावना बढ्नेछ ।

प्रशिक्षक बालगोपाल महर्जनले जित नै चाहिने बताएका छन् । उनले बताएअनुसार नेपालले भुटानलाई हराउन सक्नेछ । त्यसो त नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपमा भुटानसँग अप्रत्यासित नतिजा आत्मसात पनि गर्नु परेको छैन । यसैले पनि नेपालले आज जित्ने संभावना धेरै छ ।

नेपालले भुटानविरुद्ध जित्दै आएको छ भन्ने तर्कले खेल्नु पनि शायद नेपाललाई घाटा हुन सक्छ । जबकी पाकिस्तानसँग पनि नेपालले जित्ने आंकलन गरिएको थियो । धेरै जसो फुटबल प्रशिक्षक र खेलाडीले नेपालले जित्ने अनुमान गरे । नेपालका पूर्व कप्तान अनिल गुरुङले पनि पाकिस्तानलाई हराउँछ भनेका थिए । तर उल्टो नतिजा निस्केपछि नेपाललाई प्रतियोगितामा दवाव बढेको छ ।

नेपालले अहिलेसम्म दुई भेट गरेकोमा भुटानलाई दुबै पटक हराएको थियो । सन् २००३ मा नेपाल २–० ले र २००५ मा ३–१ ले खेल जितेको थियो । प्रशिक्षक महर्जनले बताए—भुटानसँग जितको विकल्प छैन । तापनि भुटानलाई पक्कै कमजोर आँकिनु पनि हुँदैन । यो खेलमा पहिलो खेलको कमजोरीहरु सुधार्नु पनि पर्छ ।

प्रतिक्रिया दिनुहोस्