नेपाली खेलाडी सम्मिलित टिम विजयी



काठमाडौं, (नेस)
काजकिस्तानको अस्तानामा भएको आईटीएफ यु–१२ को फाइनलअन्तर्गत पहिलो चरणमा नेपालका आरभ सम्राट हाडा, अकि जुबेन राउत र प्रणव मानन्धर सम्मिलित दक्षिण एसियाली टिमले जित हात पारेको छ ।

दक्षिण एसियाली टिमले थाईल्याण्डलाई २–१ ले हराएको हो । अकि जुबेनले पहिलो खेल थाइल्यान्डका नम्बर २ खेलाडीसँग ५–७, ४–६ ले गुमाएका थिए । दोस्रो खेलमा भने आरभ सम्राटले थाइल्यान्डका नम्बर एक खेलाडीलाई २—६, ६–०, ६—३ ले हराउँदै १–१ खेल बराबरीमा ल्याए । तेस्रो खेलमा डबल्सतर्फ आरभ र अकिले ६–३, १–६, १०–७ ले जितेका थिए । १२ बर्षभन्दा मुनिका खेलाडीहरूको प्रतियोगितामा ११ वर्षीय आरभको नेतृत्वमा रहेको छ ।

यस्तै छात्रातर्फ नेपालकी आइशा डोल्कर गुरुङ र अजा रेग्मीले महिला सिंगल्सतर्फ चीनियाँ खेलाडीसँग हार बेहोरेका थिए । साथै अजा र सुभांगी लक्ष्मी शाहको टिमले डबल्समा ०—६ र ०—६ को खराब हार आत्मसात गरेको थियो । एसियन च्याम्पियनशिपमा भारत पछी दक्षिण एसियालाई प्रतिनिधित्व गर्दै गरेको नेपालले ५ क्षेत्रबाट १२ टोलीको चयन गरेको थियो ।

अप्रिल २०१८ मा ललितपुरको सातदोबाटो टेनिस कम्प्लेक्समा भएको खेलमा श्रीलंका र पाकिस्तानलाई पराजीत गर्दै नेपाल प्रतिनिधित्वका रूपमा छानिएको हो । सेप्टेम्बर २ देखि ९ सम्म चल्ने खेलको फाइनलमा नेपालले टेनिसका महारथी राष्ट्र चीन, हंगकंग, दक्षिण कोरिया, ताइपेइ, इन्डोनेशिया, थाइल्याण्ड, मलेसिया, भारत, लेबनान, काजकिस्तान र उज्बेकिस्तानका खेलाडीहरूसँग प्रतिष्पर्धा गर्नेछ ।

दुई टोलिका उत्कृष्ट दुई टिमले सेमी—फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । टोलीमा अगाडी रहेको थाइल्याण्डलाई पराजित गरे सँगै नेपाल सेमी फाइनलको नजिक पुगेको छ । नेपालको टोलिमा रहेका अरू राष्ट्रहरू लेबनान, चीन, काजकिस्तान र थाइल्याण्ड हुन् । नेपालले अर्को चरणमा आयोजक राष्ट्र काजकिस्तानसँग प्रतिष्पर्धा गर्नेछ ।

अन्तर्रा्ष्ट्रिय खेल मंचमा नेपालका लागि यो ऐतिहासिक दिन हो । गत बर्ष काजकिस्तानमै सम्पन्न भएको फाइनल खेलमा नेपालले सुरुवाती खेलहरूमा हार व्यहोर्न परेपछि ११ टिममध्ये ९ औं स्थानमै सिमित रहन पुगेको थियो, तथापी नेपालले पछील्लो राउण्डका खेलहरूमा मलेसिया र बंगलादेशलाई हराएको थियो । नेपालका अन्डर १२ जुनियर टेनिस खेलाडीले प्राप्त गरेको यो उपलब्धिले राष्ट्रलाई गौरवान्वित गराएको छ ।

प्रतिक्रिया दिनुहोस्