साफ च्याम्पियनसिपमा पाकिस्तानसँग नेपाल स्तब्ध



नेपाल समाचारपत्र, काठमाडौं
भर्खरै सम्पन्न एसियाडमा पाकिस्तानसँग हारेको नमीठो क्षणलाई नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप फुटबलमा पनि मेटाउन सकेन । साफ च्याम्पियनसिपअन्तर्गत मंगलबार उदघाटन खेलमा नेपाल पाकिस्तानसँग २–१ गोलअन्तरले हारेको हो । बंगलादेसको ढाकामा भएको खेलमा नेपालले अन्तिम समयतिर गोल बेहोरेपछि पुरै ३ अंक गुमाउन प¥यो । जबकी खेल १–१ बराबरीमा सकिने प्रबल संभावनामा थियो ।

थपिएको ५ मिनेट इन्जुरी समयको अन्तिम मिनेटतिर नेपाललाई मोहम्मद अलीले गोल गर्दै स्तब्ध तुल्याएका थिए । बायाँ विंगबाट लामो क्रस नेपालको डि क्षेत्रमा भएको थियो । सदुल्लाहले हेडमार्फत् अलीतिर बल सप्लाई गरेका थिए । सदुल्लाह गोलपोस्टबाट करिब ६ यार्डको दुरीमा थिए । नेपालका नम्बर एक गोलरक्षक किरण चेम्जोङ लिम्बु र एक खेलाडी गोलपोस्टमा थिए ।

तर सदुल्लाहको हेडबाट दिएको पासलाई अलीले पनि हेडबाटै गोल गरेका थिए ।

उक्त गोलसँगै नेपालको साफ च्याम्पियनसिपमा शुरुवात नै खल्लो भएको । प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले सेमिफाइनलको लक्ष्य लिएका छन् । तर यो हारले नेपाललाई ठूलो धक्का लागेको छ । पहिलो खेलको हारले गर्दा नेपालको लागि भुटान र बंगलादेसलाई हराउनै पर्ने चर्को दवाव बनेको छ ।

बंगलादेस आयोजक नै भएको हुँदा नेपाललाई त्यो खेल पनि मुश्किल नै हुने देखिएको छ । खेलमा नेपाली खेलाडीको प्रदर्शन हेर्दा नेपालले यस पटक पनि साफ च्याम्पियनसिपमा उपाधि जित्नबाट वंचित हुने संभावना छ । नेपालले यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन ।

यसअघि ३७औं मिनेटमा नेपाल पेनाल्टी गोल बेहोर्दै खेलमा पछि परेको थियो । कप्तान विराज महर्जनले डिबक्समा बल लिन दौडेका पाक खेलाडी मोहम्मद रिजाजलाई धक्का दिएर लडाएपछि म्याच रेफ्रीले नेपालविरुद्ध सीधै पेनाल्टीको संकेत गरे । विराजले पहेँलो कार्ड पनि पाएका थिए । पेनाल्टी किक हान्न नाभीद बसीर आए र किरणलाई अर्को दिशामा डाइभ लगाएर उनले सहजै गोल गरेका थिए ।

नेपालको दोस्रो हाफमा अलि गतिलो आक्रमण भएको थियो । यसैको नतिजा निस्क्यो पनि । ८२औं मिनेटमा विमल घर्तीमगरले पाकिस्तान खेलाडीले घेरिएको अवस्थामा पनि क्लोज रेन्जमा सुन्दर गोल गरे । सुनील बलको कर्नर प्रहारमा निराजन खड्काले हेडद्वारा बल विमलतिर पास गरे । विमलले कुनै गल्ती नगरी पाकिस्तानको जाली चुमाएका थिए । यो गोलले नेपाल खेलमा फर्कियो । तर अन्तिममा गोल आत्मसात गरेपछि नेपालको एक अंक पनि छिनियो ।

सेटै भएन—गुरुङ (पूर्व कप्तान)

नेपालले अन्तिममा काउन्टर एट्याकमा गोल खानु प¥यो । सबै गोल गर्न तिर लागेपछि त्यो गोल खायो । तर ससर्ती हेर्दा यो नेपालको प्रदर्शन राम्रो देखिएन । सेटै भएन । सुजल श्रेष्ठलाई मिडफिल्डमा खेलाएर खेर फालियो । उनीलाई मिडफिल्डमा जिम्मा दिनु नै होइन । अर्को हारको कारण एयर बल बढी खेल्नु पनि हो । नेपालले एयर बल खेलेपछि सिद्धियो ।

विराज महर्जनले क्याप्टेन भएर पनि महा गल्ती गर्न पुगे । डि बक्समा उनले संयम अपनाउनु पर्ने थियो । तर उनले खेलाडी घचेटि दियो र पेनाल्टीमा नेपालले गोल बेहोरेपछि खेलाडीको मनोबल घटेको थियो । दोस्रो हाफमा अलि राम्रो खेलियो तर त्यति राम्रो भन्न सकिँदैन । मैले बंगलादेसको खेल पनि हेरेँ । बंगलादेसको खेल राम्रो छ । यसैले नेपाललाई पहिलो चरण पार गर्नै गाह्रो हुनेछ मलाई लाग्छ ।

प्रतिक्रिया दिनुहोस्