रजश्वला पाप होइन



महिलाहरूमा हुने रजश्वला अर्थात् महिनावारी र सुत्केरी बार्ने चलनलाई छाउपडी प्रथा भनिन्छ । मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा रजश्वला तथा सुत्केरी भएका बेला छाइछुइ गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने आदि धार्मिक अन्धविश्वास रहँदै आएको पाइन्छ ।

धार्मिक भाषामा महिनावारीलाई मासिक धर्म भनिन्छ । मासिक धर्म प्रकृतिमा रहेका जीवन भएका हरेक तत्वहरूमा हुने गर्दछ । जस्तै– वनस्पतिमा फूल फुल्नु र मधुरस निस्कनु प्रजननको तयारी हो । त्यस्तै युवतीहरूमा पनि उमेर पुगेपछि रजाश्वला हुनु भनेको उनीहरू प्रजननका लागि योग्य भएको प्राकृतिक संकेत हो ।

तसर्थ महिनावारी कुनै मानव अधीनमा रहेको आपराधिक कर्म नभई एक प्राकृतिक प्रक्रिया हो । तर यो कुसंस्कारको रूपमा रहिआएको छ । छाउपडीका कारण कैयौं महिलाले ज्यानै गुमाउनुपरेको छ । अहिलेको आधुनिक जमानामा पनि छाउपडीका कारण किशोरीको ज्यान जानु राष्ट्रिय लज्जाको विषय हो । महिनावारी हुँदा महिलालाई घरको सट्टा गोठमा राख्ने र त्यस्तो गोठमा चार रात बिताएपछि पाँचांै दिन मात्र घर फर्काउने कुप्रथा अझै पनि विद्यमान छ ।

केही समयपहिले दैलेखमा दुई किशोरीले ज्यान गुमाएको ठाउँ त्यस्तो ठाउँ हो जसलाई केही वर्षअघि नै केही गैरसरकारी संस्थाहरूले छाउपडीमुक्त घोषणा गरेका थिए । महिलाहरूले रजश्वला र सुत्केरी भएका बेला घरका सरसामान छुन नहुने भन्दै यो अवधिमा घरनजिकको गोठमा राख्ने अन्धविश्वास र कुसंस्कारले यस क्षेत्रको समाजलाई ग्रसित बनाएको छ ।

सुत्केरी वा रजश्वलाको समयमा स्वास्थ्य कमजोर हुने भएकाले पनि यो बेला महिलालाई अझ बढी हेरचाह तथा स्याहार आवश्यक पर्छ । तर, यही समयमा घरको सट्टा फोहोर गोठमा राख्दा महिला तथा किशोरीहरू झनै पीडित हुने गरेका छन् । महिलाहरू यसरी छाउपडी बस्दा बलात्कार भएका घटनादेखि सर्पले टोकेर मृत्यु भएको वा चिसोमा कठ्यांग्रिएर वा धुवाँले निसास्सिएर र अत्यधिक रक्तस्राव भएर मृत्यु भएका घटना बेलाबखत सार्वजनिक हुने गरेका छन् ।

छाउपडी प्रथा अन्त्यका लागि विभिन्न सामाजिक संघसंस्थाले प्रचारप्रसार गर्नुका साथै अभियान सञ्चालन नगरेका पनि होइनन् । तर, त्यस्ता प्रयास या त पर्याप्त हुन सकेका छैनन् या प्रभावकारी भएका छैनन्, जसका कारण छाउपडीरूपी कुप्रथा कायमै रहेको हो । यो अवस्थामा विभिन्न सामाजिक संघसंस्था तथा सरकारले यस किसिमको कुप्रथा हटाउनका लागि अभियान नै सञ्चालन गरी स्थानीय समुदायमा जनचेतना जगाउन आवश्यक छ । अझ सरकारी तहबाट यस किसिमको अन्धविश्वासको अभ्यासलाई दण्डनीय बनाउने गरी कानुनी व्यवस्था गर्न जरुरी छ ताकि यस किसिमको अभ्यासका लागि बाध्य पार्नेहरूलाई कानुनी कारबाही गर्न सकियोस् ।

जनचेतना अभिवृद्धि र कानुनको कार्यान्वयनलाई सँगसँगै लैजान सके मात्र यस किसिमको कुप्रथा तथा अन्धविश्वासलाई हटाउन सकिन्छ । सरकार र स्थानीय समुदायको ध्यान त्यसैतर्फ केन्द्रित होस् । यसरी सदियौंदेखि जरा गाडेर रहेका चुनौतीहरूलाई कुनै एक पक्षले मात्र प्रयास गरेर सुधार्न सकिँदैन ।

यस्तो कामका लागि समाजका जिम्मेवार सबै पक्षहरूको सहयोग अपरिहार्य रहन्छ । सरकारी तवरबाट यस्ता प्रथाविरुद्धका नीति नियम तय गरी महिलाप्रति हुने यस्ता अमानवीय व्यवहारहरूलाई गैरकानुनी घोषित गरिनुपर्दछ ।

मानवअधिकारवादीहरूले यस्ता प्रथाबाट अन्यायमा परेर दुःख भोगिरहेकाहरूको जीवन सरल बनाउने र उनीहरूको अधिकार दिलाउने प्रयास गर्नुपर्दछ । समाजसेवी र धार्मिक पक्षका जिम्मेवार व्यक्तिहरूले समाजका ठूलाठालु र जिम्मेवार वर्गहरूको विचार रूपान्तरमा जोड दिनुपर्दछ ।
– रुपा भण्डारी, काभ्रे ।

प्रतिक्रिया दिनुहोस्