मंसिरमा बाग्मतीबाट बिजुली झलल



सुरेश तामाङ, मकवानपुर ।
स्वदेशी निजी क्षेत्रको लगानी र प्राविधिकबाट बाग्मती नदीमा विजुली निकाल्न अन्तिम तयारी भैरहेको छ । बाग्मती नदीबाट व्यावसायीक बिजुली निकाल्ने गरी निजी कम्पनीको लगानीबाटै यो पहिलो हो ।

२२ मेघावाट क्षमताको जलविद्युत निकाल्न यतिबेला विभिन्न काम भइरहेको छ । निजी क्षेत्रको माण्डु हाइड्रोपावर कम्पनीले बाग्मतीको पानीबाट व्यवसायीक बिजुली उत्पादन गर्न लागिएको हो । कम्पनीले २०७२ जेठदेखि निरन्तर काम गरिरहेको छ ।

स्वदेशी कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिको लगानीमा बाग्मती साना जलविद्यत् आयोजनाले २ हजार ४ सय २४ मिटर लम्बाईको सुरुङ खनिसकेको छ । सुरुङ खन्ने काम गएको माघ महिनामा सम्पन्न गरेको हो । भने कम्पनीले बाँध निर्माणको काम समेत सम्पन्न गरिसकेको छ ।

आयोजनाले बाग्मती नदी, कुलेखानी, र कोगटेको पानीलाई बाँध बनाएर बिजुली उत्पादन गर्न लागिएको हो ।

‘हामीले सुरुङ खन्ने काम सम्पन्न गरेर फिनिसिङको काम गरिरहेका छौँ,’ आयोजनाका इन्जिनियर रत्न बोम्जनले बताउनुभयो । आयोजनाको सबै काम लगभग अन्तिम चरणमा पु¥याएको उहाँले बताउनुभयो ।

‘आयोजनाको मुख्य मुख्य काम सकिसकेको छ । लगभग हामी अन्तिम चरणमै छौँ ।,’ कम्पनीका इन्जिनियर बोम्जनले भन्नुभयो–‘अबको मंसिरभित्र सम्पूर्ण काम सम्पन्न गरेर टेस्टिङको काम हुन्छ ।’


उहाँका अनुसार मकवानपुरको इपा पन्चकन्या–८, बाग्मती दोभानमा बाँध बनाई २४ सय ४० मिटर तल ईपा बेँशीमा रहेको निर्माणाधिन पावर हाउससम्मको काम लगभग अन्तिम चरणमा पु¥याएको छ ।

कम्पनीको लगानीमा आयोजनाको सम्पूर्ण काम सुरुदेखि नेपाली कम्पनी साउथ यसियन ईन्फ्रास्ट्रक्चर प्रालि र चिनियाँ कम्पनी सिइच्वाङ हेइच्वाङले गरिरहेको आयोजनाले जनाएको छ । भने कन्सल्टेन्टको जिम्मेवारी सुरुदेखि नै नेपाली र भारतीयको लगानीमा रहेको फिडब्याक जेभीले लिईरहेको छ ।

आयोजनाले यस अघि असारभित्र सम्पूर्ण काम सम्पन्न गर्ने भनिएपनि केही कारणले गर्दा समय थप गर्नु पर्ने स्थिती आएको आयोजनाका इन्जिनियर बोम्जनले बताउनुभयो ।

काम सुरु गर्दा भूकम्प, नाकाबन्दी, फास्ट ट्रयाक निर्माण लगायतले आयोजनाको काम अबरोध पु¥यायो । जसले गर्दा आयोजनाको काम सम्पन्न हुन समय थप्नु पर्ने अबस्था देखियो ।

इपापञ्चकन्या दोभानमा निर्माण सम्पन्न १० देखि १३ मिटर उचाइको बाँध हुँदै सुरुङबाट प्रतिसेकेन्ड १२ दशमलव ४ क्युसेक पानी बग्नेछ । मुख्य सुरुङको चौडाइ ३ दशमलव ७ र उचाइ ३ दशमलव ८ डायमिटर रहेको आयोजनाले जनाएको छ ।

आयोजनाले ड्याम सँगै इन्टेक र अन्डर सुल्युस (बालुवा छान्ने ट्यांकी)को काम समेत सम्पन्न गरिसकेको छ ।

सुरुङको फिनिसिङको काम भैरहेको आयोजनाले जनाएको छ । हालसम्म ५० मिटर सुरुङको फिनिसिङको काम गर्न बाँकी रहेको आयोजनाको दाबी छ ।
सुरुङको फिनिसिङ गर्ने बेला कमजोर चट्टान भएको भागमा कंक्रिट लाईनिङ र कडा चट्टान भएको भागमा भने सटकंक्रिट लाईनिङ गर्नुपर्ने प्राविधिक नियम रहेको ईन्जिनियर बोम्जनले बताउनुभयो ।

त्यस्तै ईपा बेशीँमा निर्माणाधिन पावरहाउसमा फिनिसिङको काम भैरहनुका साथै ईलेक्ट्रोमेकानिकल जसमा टर्वाईन, जेनेरेटर लगायत रहने ठाउँ राख्ने काम सुरु भैरहेको इन्जिनियर बोम्जनले जानकारी दिनुभयो ।

पेनस्टक पाईप (टनेल निस्कने ठाउँबाट पावर हाउससम्म पानी लाने पाईप) ६ सय १० मिटर मध्येमा ४०० मिटर काम सम्पन्न भैसकेको कम्पनीको दावी छ ।
४ अर्व लागत अनुमानमा निर्माण हुन लागेको यस आयोजनाको प्रसारण लाईन जोड्न साँढे १३ किमि तार तान्ने काम सम्पन्न गरिसकेको छ । उक्त तार पावर हाउसदेखि भिमफेदीको धोर्सिङभन्ने ठाउँमा ६६ केभी प्रसारण लाईन रहेको कुलेखानी पहिलोको सवस्टेशनमा लगेर जोडि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्