विवादको दिगो व्यवस्थापन होस्



भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) मा चिकित्सकसँग सम्बन्धित व्यवस्था संशोधन गर्न माग गर्दै नेपाल चिकित्सक संघले देशभरको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पारेपछि बिरामीहरु बिचल्लीमा परे । सरकारले वार्ता गरेर आन्दोलन मत्थर भए पनि समस्याको दिगो समाधान खोपजएको जस्तो देखिँदैन ।

सरकारलाई लचिलो बनाउन गरिएको आन्दोलनले सोझै सर्वसाधारणलाई बढी प्रभावित बनायो । नेपालमा विरोधको शैलीमा परिवर्तन नआउँदा सधैँ सर्वसाधरण प्रभावित हुने गरेका छन् । असन्तुष्ट पक्षले विरोध गर्न पाइन्छ तर कुनै पनि नागरिकको अधिकारलाई हनन गर्न भने पाइन्न । मुलुकी संहिताको विरोधमा डाक्टरहरुले गरेको आन्दोलनबाट बिरामीहरु मर्कामा परेका छन् ।

सरकारले उनीहरुको मागलाई नजरअन्दाज गर्दा चिकित्सकहरु थप आक्रोशित भएका छन् । आफ्ना निश्चित मागहरु राखेर विरोध गरिरहेका डाक्टरहरुसँग सरकारले दिगो समाधान खोज्न जरुरी छ ।

विकसित राष्ट्रहरुमा विरोध गर्ने शैली नै फरक हुने गर्दछ । नागरिकलाई कुनै असर नपुग्ने गरी सरकारलाई दबाब दिने शैलीहरुको प्रयोग गरिन्छ । तर, नेपालको सन्दर्भमा हेर्ने हो भने, असन्तुष्ट समूहले विरोध गर्दा सर्वसाधरणहरु मर्कामा पर्ने गरेका छन् । त्यसै गरी, सरकारले पनि असन्तुष्ट पक्षसँग छलफल नगर्दा अवस्था बिग्रर्ने गर्दछ । विरोधका आवाज उठिरहँदा सरकारले पनि आन्दोलनरत पक्षसँग छलफल गरी समाधान गर्नतर्फ लाग्नुपर्छ ।

अतः असन्तुष्ट पक्षहरुले विरोधको शैलीमा परिवर्तन ल्याउनुपर्छ र सरकारले पनि असन्तुष्ट पक्षसँग छलफल गरी विवाद मिलाउनतर्फ लाग्नुपर्छ ।
– सुरक्षा कार्की, इमाडोल ।

प्रतिक्रिया दिनुहोस्