हक्कानी सञ्जालका संस्थापक जलालुद्दीनको मृत्यु



काबुल ।
अफगानिस्तानभित्र सशक्त एवं प्रभावशाली मानिएको हक्कानी नेटवर्क ९समूह० का संस्थापक जलालुद्दीन हक्कानीको दीर्घरोगका कारण मृत्यु भएको अफगान तालिबानले जनाएको छ ।

अफगान तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध रहेको हक्कानी समूहको नेतृत्व अहिले जलालुद्दीनका छोरा सिराजुद्दीनले गरिरहेका छन् । उनी अफगान तालिबानका उपनेता पनि हुन् ।

जलालुद्दीनको मृत्यु दीर्घरोगका कारण भएको उल्लेख गर्दै तालिबानले प्रकाशन गरेको वक्तव्यमा जलालुद्दीन आफ्नो समयका ठूला जिहादी व्यक्तित्व रहेको बताइएको छ ।

सन् १९८० को दशकमा हक्कानीले अमेरिका र पाकिस्तानको सहयोगमा अफगानिस्तानबाट रुसी सैनिक फिर्ता गराउन लामो सशस्त्र सङ्घर्षको नेतृत्व गरेका थिए ।

अरबी भाषा धाराप्रबाह बोल्न सक्ने जलालुद्दीनले ओसामा बिन लादेन समेतका अरबी लडाकूहरुसँग सम्बन्ध सुदृढ गर्न भूमिका निर्वाह गरेका थिए । उनी अफगानिस्तानमा तालिबानीहरु सरकारमा रहँदा मन्त्री समेत भएका थिए ।

जलालुद्दीनको मृत्युको खास कारण भने खुलाइएको छैन । सन् २००८ र २०१५ मा पनि उनको मृत्यु भएको हल्ला चलेको थियो । उनी ८० वर्षको हाराहारी उमेरका रहेको बताइन्छ । पछिल्ला वर्षहरुमा उनी पाकिस्तानमा लुकिछिपी बसेको विश्वास गरिन्छ ।

अफगानिस्तानमा अमेरिकी हस्तक्षेप पश्चात हक्कानी समूहले ठुल्ठूला आक्रमणको नेतृत्व गरेको ठानिन्छ । पछिल्ला दिनहरुमा काबुल सहितका विभिन्न स्थानमा भएका आक्रमणमा समेत हक्कानी समूहको संलग्नता रहेको छ तर त्यसको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिइरहेको छ ।

विश्लेषकहरुको भनाइमा हक्कानीसँग आइएस समूहको सम्बन्ध पनि प्रगाढ छ, तर बाह्य संसारलाई भ्रमित पार्न हक्कानी समूह र आइएसबीच बेलाबेला अन्तरसंघर्ष हुने गरेको छ ।

पाकिस्तानको छायाँ सैनिकसँग लामो सम्बन्ध कायम राखेको हक्कानी समूहलाई अमेरिकी एडमिरल माइक मुलेनले सन् २०११ मा पाकिस्तानी जासूसी संस्थाको “विश्वसनीय हतियार” रहेको बताउनुभएको थियो ।

अमेरिकाले आतङ्ककारी समूह घोषित गरेको हक्कानी समूहले ठूलो संख्यामा आत्मघाती बम हमला गर्ने गरेको बताइन्छ ।

काबुलमा मे २०१७ मा भएको ट्रक बम हमलामा समेत हक्कानी समूहको संलग्नताको आशंका छ । यस हमलाबाट करिब १५० जनाको मृत्यु भएको थियो । तर सिराजुद्दीनको बिरलै आउने एक अडियो सन्देशमा उक्त हमला आफूहरुले नगरेको भन्दै अस्वीकार गरेका थिए ।
रासस

प्रतिक्रिया दिनुहोस्