प्रदेश ७ मा गौरापर्व धुमधामसंग मनाईयो, भोलीदेखि जात्रा सुरु हुदै



विनोद सिंह विष्ट, बैतडी ।
प्रदेश सात(सुदूरपश्चिम)मा मनाइने महान पर्व गौरा आज धुमधामसित मनाइएको छ । हिजो भित्र्याएको गौरालाई ब्रतालु महिलाहरुले गौरा खलामा लगेर पूजाआजा गरेका छन् । बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौराको पूजाआजा गरिएको हो । ब्रतालु महिलाहरुले गौरा घरमा रहेको गौरादेवीको प्रतिमूर्तीलाई बिशेष श्रृंगारपटार गरेर अठ्यवाली गाउँदै गौराको पूजा गरिएको हो ।
भाद्र महिनाको कृष्ण वा शुक्ल पक्षमा पर्ने गौरा पर्व यो क्षेत्रको मौलिक पर्व हो ।

यो बर्ष कृष्ण पक्षमा परेको गौराको दुर्वाष्टमी अर्थात अठ्यावाली मुख्य दिन हो । अठ्यावालीका दिन ब्रतालु महिलाहरुले भगवान शिव र पार्वतीको फाग मार्फत गाथा गाउँदै पूजाआजा गरेका आचार्य घनश्याम लेखकले बताए । अरु समयमा देवीदेवताको अक्षताले पूजा गर्ने चलन रहेपनि गौरामा बिरुडाले पूजा गर्ने चलन रही आएको छ । गौरादेवीको बिरुडाले पूजा गर्दै फाग मार्फत गौरा महेश्वरको आराधना गरिएको छ । गौराको पूजा गरेपछि महिलाहरुले बिशेष प्रकारको धागो अर्थात दुबधागो पनि धारण गरेका छन् । ब्रतालु महिलाहरुले आफ्ना श्रीमान,छोराछोरी र आफन्तको चिरायु दिर्घायुको कामना गर्दै बिरुडाले टाउको पुजेका छन् । बिरुडालाई गौराको मुख्य प्रसादको रुपमा लिइन्छ ।


बिरुडाले टाउको पुज्ने बेला महिलाहरुले विभिन्न किसिमका आशिष दिने गरेका छन् । गौरामाताको प्रसाद स्वरुप बिरुडाले टाउको पुज्ने यो बेला आशिष दिने चलन रही आएको छ । गौराको फाग सहित पूजाआजा गरेपछि आज नै ब्रतालु महिलाहरुले दुबधागो धारण गरेका छन् । अमुक्ताभरण सप्तमीका दिनमा गौरामा चढाएको दुबधागो ब्रतालु महिलाहरुले दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने परम्परा छ ।

गौरामा महिलाहरुले गौराको पूजा गरेपछि आफ्ना आफन्तहरुसंग सुखदुख साट्न ड्यौडा खेलमा पनि सरीक भएका छन् । दिनभरी गौराको पूजामा सरीक ब्रतालु महिलाहरु साँझको समयमा ड्यौडामा रम्ने गर्दछन् । ड्यौडामा सुखदुख र मायाप्रितीका गीत समेटिने गरेको दोगडाकेदार ३ श्रीकोटका गणेश विष्टले बताए । महिला जस्तै गौरापर्वको मुख्य दिनमा पुरुषहरुले पनि ठाडो खेल,ढुस्को,धमारी खेलेका छन् । विभिन्न देवीदेवताका गाथामा आधारित ठाडो खेल,ढुस्को धमारी गौरापर्वमा खेल्ने चलन रहेको छ । यसका साथै मंगलवारदेखि बैतडीका अधिकांस देवीदेवताका मनिदरमा जात्रा सुरु हुने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्