दशैंअगावै मण्डन बजारमा घरघरै धारा



मोतीराम तिमल्सिना, काभ्रे
नेपाल सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको गृह नगर मण्डन देउपुर नगरपालिकामा २०७० सालबाट शुरु भएको खानेपानी आयोजनाबाट वितरण हुने धारा दशै अगावै सर्वसाधारणले उपयोग गर्न पाउने भएका छन् ।

मण्डन देउपुर नगरपालिकाको सक्रियतामा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय काभ्रेले उपभोक्ता समिति मार्फत मण्डन देउपुर नगरपालिकाका ४ सय ३६ घर परिवारलाई खानेपानी वितरणका लागि डिप बोरिङ्गको कार्य अगाडी बढाएको थियो । साविकको महादेवस्थान गाउँ विकास समितिका वडा नम्वर २,४,७ र ८ नम्वर वडाका ४ सय ३६ घर धुरीका लागि डिप बोरिङ्ग मार्फत खानेपानीको ब्यवस्थापन गरिएको हो ।

‘पहिलो चरणमा बजार क्षेत्र र आसपासमा खानेपानी वितरणको कार्य शुरु गरेपछि सबै घर घरमा खानेपानीको धारा वितरणका लागि थप कार्य अगाडी बढाईनेछ’–नगर प्रमुख टोकबहादुर वाईवाले भने–‘दशै अगावै खानेपानीको धारा वितरण गरी पानी उपभोग गराउन उपभोक्ता समितिलाई भनिसकेको छु ।’

२ करोड ९८ लाख रुपैया खर्च भईसकेको उक्त आयोजनाका लागि संघ र प्रदेश सरकारले थप रकम विनियोजन गरेको छ । थप रकमबाट मण्डन देउपुर नगरपालिकाकै अन्य वडाहरु त सबै वडाबासीहरुलाई घर घर धारा पु¥याउने लक्ष्य लिईएको छ ।

‘खानेपानी कार्यालयले निरन्तरको प्रयास पछि उक्त स्थानमा डिप बोरिङ्ग र खानेपानी वितरणका लागि पानी ट्याङ्की निर्माण गरिएको छ’–खानेपानी कार्यालयका प्रमुख रामचन्द्र काफ्ेलेले भने–‘दशै अघि पानी वितरणका लागि डिप बोरिङ्ग देखि पानी ट्याङ्कसम्म डबल लाईनको पाईप विछ्याउने कार्य सकिएको छ ।’ पानी वितरणका लागि नेपाल विद्यूत्त प्राधिकरणबाट अलग्गै ट्रान्सफरमर समेत ब्यवस्थापन गरिएको छ ।

उपभोक्ता समितिका नाममा विजुलीको मिटर, डिप बोरिङ्गमा पम्प जडान र केहि सामान्य प्राविधिक कार्य सम्पन्न भएपछि मुख्य लाईनको विस्तार हुनेछ । पानीको परिक्षण समेत सम्पन्न गरी तत्काल वितरणका लागि कार्य प्रारम्भ गरिएको उपभोक्ता समितिका सचिव रामहरी सापकोटाले बताए ।

पानी वितरणका लागि ७५ हजार लिटर क्षमताको पानी ट्याङ्की कुन्ता बजारबाट डेड किलोमिटर माथी मण्डन देउपुर नगरपालिकाको वडा नम्वर ७ जितरी पोखरीसँगै निर्माण गरिएको छ ।

११ सय मिटर लामो पाईप विछ्याई ट्याङ्की समेत कम्पाउण्ड गरिएको उक्त आयोजनाको डिप बोरिङ्ग लगायतका अन्य कार्यहरुको अवस्थाका बारेमा जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, खानेपानी कार्यालयका प्रमुख रामचन्द्र काफ्ले, इन्जिनियर भूषण मल्ल लगायतले अनुगमन गरेका थिए ।

स्थानीय जनप्रतिनिधि, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन अधिकारी, सल्लाहकार गोकुल गौतम लगायतले उक्त स्थानको अनुगमन गरी तत्काल खानेपानी वितरणका लागि आवश्यक कार्य अगाडी बढाउन उपभोक्ता समितिलाई अनुरोध गरेका थिए । उपभोक्ता समितिले स्थानीयहरुको माग र आवश्यकतालाई ध्यानमा राख्दै उक्त परियोजनालाई अन्तिम चरणमा पु¥याईएको सचिव सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्