एक सातामा लगानीकर्ताको साढे १७ अर्ब गुम्यो



काठमाडौं, (नेस)
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगातारको गिरावटका कारण यस साता लगानीकर्ताले साढे १७ अर्ब रुपियाँ गुमाएका छन्। साताको पहिलो दिन आइतबार समग्र बजार पुँजीकरण १४ खर्ब २३ अर्ब ४८ करोड रुपियाँ रहेकोमा अन्तिम कारोबार दिन बिहीबार १४ खर्ब ५ अर्ब ८३ करोड रुपियाँमा झरेकाले लगानीकर्ताले उक्त रकम गुमाएका हुन्।

यस साता नेप्से परिसूचक भने पहिलो दिनको तुलनामा ५ दशमलव ९७ अंकले बढेर अन्तिम दिन १ हजार १ सय ८१ दशमलव ६९ अंकमा पुगेको छ। कुल १८० कम्पनीको ११ हजार ७ सय ८८ कारोबारबाट ८० करोड ३० लाख ७ हजार रुपियाँ बराबरका २५ लाख ४२ हजार ७ सय १० कित्ता शेयर खरिद बिक्री भएको छ। कारोबार रकम गत साताभन्दा ३१ दशमलव ८१ प्रतिशतले कम हो। गत साता १ अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपियाँबराबरको ४४ लाख २१ हजार ९ सय ५० कित्ता शेयर किनबेच भएको थियो।

कारोबारमा भएका १८० कम्पनीमध्ये सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरको कारोबार भएको छ। सो कम्पनीकोे ७ करोड ३९ लाख ६० हजार रुपियाँको शेयर किनबेच भएको हो।

यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ४५ लाख ८० हजार रुपियाँ, एनएमबि बैंकको ४ करोड ७ लाख ५० हजार रुपियाँ, एनआईसी एसिया बैंकको ३ करोड ३३ लाख ८० हजार रुपियाँ र एनएलजी इन्स्योरेन्सको २ करोड ४९ लाख ५० हजार रुपियाँ शेयर कारोबार भएको छ।

कारोबार भएको शेयर संख्याको आधारमा एनएमबि बैंकको शेयर नै अगाडि रहेको छ। जसको १ लाख ३२ हजार कित्ता शेयर किनबेच भएको हो। कारोबार संख्यामा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ, जसको संख्या ५ सय ८८ वटा रहेको छ। यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार चार दिन खुल्ला रहयो।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ३७ अंकले बढेर २ सय ४९ दशमलव ७९ अंकमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्