रसुवागढी–केरुङ सडक: अवरुद्ध हुँदा चाडवाडलाई ल्याएको अर्बौका सामान अलपत्र



नेपाल समाचारपत्र, काठमाडौं
पछिल्लो एक महिनादेखि पहिरोका कारण अवरुद्ध रसुवागढी–केरुङ सडक खुल्न अझै एक हप्ताभन्दा बढी समय लाग्ने देखिएको छ। राजमार्ग बन्द हुँदा रसुवागढी भन्सार कार्यालयले संकलन गर्ने भन्सार शुल्कसमेत भदौ महिनामा शून्यमा झरेको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले रसुवागढी–केरुङ सडक खण्डमा ४ ठाउँमा अवरोध रहेको बताउनुभयो। ‘पुलको खम्बा भाँचिएका कारण सवारी आवागन गर्न नमिल्ने भएको थियो। पुललगायत अन्य दुई काम सकिसकेको छ। दुई ठाउँमा अझै बाँकी छ। नेपाली सेनाको समन्वयमा सडक विभागले सडक ‘ब्लास्टिङ’को काम गरिरहेको छ, एक हप्ताभित्रमा खुल्छ।’ नेपाल समाचारपत्रसँग कुरा गर्दै पौडेलले भन्नुभयो।

एक महिनादेखि सडक अवरुद्ध हुँदा रसुवागढी भन्सार नाकामा विभिन्न वस्तु बोकेका ५ सयभन्दा बढी कन्टेनर रोकिएका छन्। १२ सयभन्दँ बढी कन्टेनर बराबरको सामान केरुङमा थन्किएर बसेको छ। स्याउ, प्याजलगायतका सामग्री कुहिन थालेको छ।

चीनसंँगको दुईपक्षीय व्यापारका लागि प्रमुख मानिएको रसुवागढी भन्सार नाकामा विभिन्न वस्तु बोकेका ५ सयभन्दा बढी कन्टेनर रोकिएका छन्। भारी वर्षापछि आएको बाढीले भत्काएको पुल मर्मतमा हुन नसक्दा गएको साउन १२ गतेदेखि केरुङ नाकामा यातायात ठप्प प्रायः छ। वर्षापछि गोसाइकुण्ड गाउँपालिका वडा नंम्बर ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध भएको छ भने रसुवागढी नाका नजिकै गएका २ स्थानको पहिरो पनि हालसम्म पन्छाउन सकिएको छैन। अहिले गल्छी–धुञ्चे–रसुवागढी राजमार्गअन्तर्गत धुन्चे नजिक खसेको पहिरोका कारण अवरुद्ध सडक भने सञ्चालनमा सञ्चालनमा आइसकेको छ।

तिज र दशैं लक्षित चीनबाट आयात गरिएका सामान बीच बाटोमै अड्कििदा व्यापारीहरू मर्कामा परेका छन्। चाडबाडका लागि नेपाल ल्याउन लागिएका अर्बौं मूल्य बराबरका सामान चीनको केरुङमा थन्किएका छन्। करिब १ हजार २ सय कन्टेनर बराबरको सामान केरुङमा थन्किएपछि करोडौंको घाटा व्यहोर्नु परेको व्यवसायी बताउँछन्। नाकामा यातायात ठप्प भएपछि स्याउ, प्याजलगायत सामग्री कुहिन थालेका छन्। राष्ट्रिय व्यापारसंघका उपाध्यक्ष शाव मन्जिल श्रेष्ठले चीनबाट दशैं तिहार लगायत चाडबाडका लागि आयात गरिएको सामान बीच बाटोमै रोकिँदा व्यापार व्यवसायमा असर गरेको बताउनुभयो।

यातायात अवरुद्ध भएपछि रसुवा भन्सार कार्यालयको कारोबार ठप्प भएको छ। दैनिक करोडौं राजस्व असुल हुने नाका सुनासान छ। यातायात अवरुद्ध हुँदा चीनबाट आयात भएका सामान भन्सार कार्यालयमा जाँचपास र घोषणाका लागि समेत आउन पाएका छैनन्। चीनबाट आयातित कन्टेनरले राजस्व दाखिला, जाँचपास र वस्तु घोषणाको काम एक महिनादेखि ठप्प छ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउन महिनामा रसुवागढी भन्सार कार्यालयले २४ करोड ६१ लाख रुपियाँ बराबरमात्रै राजस्व संकलन गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा झण्डै आधा कम हो।

रसुवागढी नाका बन्द हुँदा स्थानीय बासिन्दाको दैनिक जीवन यापन सञ्चालन गर्न आवश्यक वस्तु वस्तु विनिमयको परिपूर्ति गर्न मात्र नभई राष्ट्रिय व्यापारमा पनि यसले असर पार्ने गरेको छ। हाल यस नाकाबाट निकासी तथा पैठारीको कार्य विस्तार हुंँदै गएको र यस सडक सञ्जाललगायत भौतिक पूर्वाधार विस्तार गर्ने कार्य पनि अगाडि बढी रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्