क्षेत्रीय कनेक्टिभिटी नै ‘बुद्धिस्ट सर्किट’



सुनील महर्जन, काठमाडौं

‘बुद्धिस्ट सर्किट’ स्थापना गर्ने प्रतिबद्धता विमस्टेक सम्मेलनको घोषणापत्र मार्फत व्यक्त गरिएको छ ।आगामी दुई वर्षपछि भारतमा हुने बौद्ध सम्मेलनले पनि यही प्रतिबद्धता कार्यान्वयन गर्न सघाउने विश्वास विमस्टेकका सदस्य राष्ट्रको रहेको छ ।

विगतमा झै यस पटकको सम्मेलनले पनि बुद्धिस्ट सर्किटको विषय प्राथमिकता साथ उठाएको पाइयो ।‘ कुरो उठान भयो । कुरो मात्र गरेर केही हुन्न । कार्यान्वयका लागि विशेषतः नेपाल र भारतले बढी अग्रसरता देखाउनुपर्दछ ।’ पूर्व संस्कृतिमन्त्री दीपकुमार उपाध्याय भन्नुभयो ‘ किन भने बुद्धको जीवनीसंग जोडिएको चार महत्वपूर्ण घटनास्थल नेपाल र भारतमा रहेका छन् ।’

भगवान गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी विश्वका शान्तिमार्गी र बुद्धधर्मावलम्बीहरुको महत्वपूर्ण गन्तव्य रहेको छ ।त्यसैगरी बुद्धको ज्ञान प्राप्त गर्नुभएको भारतको बोधिगया, पहिलो पटक धर्मप्रवचन दिनुभएको सारनाथ (मृगदावन) र महापरिनिर्वाण (देहत्याग) भएको कुशीनगर भारतमै रहेको छ ।

बुद्धिस्ट सर्किटमा भारतको पहिले देखि रुचि रहेको अवस्थामा यसलाई कार्यान्वयन गर्न भारत र नेपालले पहल गर्नुपर्ने खा“चो पनि भारतका लागि पूर्व नेपाली राजदूत समेत रहनुभएका उपाध्यायले औल्याउनुभयो । ‘यसलाई अघि बढाउन दुवै देशले विशेष परियोजना ल्याउनुपर्दछ । नेपालले गर्नु पर्ने त मुख्य कनेक्टिभिटीकै कुरा हो ।

 

कनेक्टिभिटी भनेको सडक यातायात, रेल यातायात, हवाई यातायातको कुरो हो ।’ उहाँले भन्नुभयो। यसले विश्वका बुद्धधर्मावलम्बी र शान्तिकामीलाई चार धामको दर्शन गर्न प्रेरित गर्ने र त्यसको लाभ दुवै देशले लिन सक्र्ने पनि उपाध्यायको भनाई रहेको छ ।

भारतले बोधगया, सारनाथ र कुशीनगरसंग जोड्ने गरी करिब सात सय किलोमिटर क्षेत्र समेटेर बुद्ध सर्किट बनाउने कामलाई तीब्रता दिइरहेको छ । यो सर्किटमा बुद्धजन्मस्थल लुम्बिनीलाई समेट्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोच रहेको छ ।

विश्वभरका बौद्धमार्गी पर्यटकहरुलाई भारतमा आकर्षित गर्न सहज हुने कारणले नै लुम्बिनीलाई बुद्ध सर्किटमा जोड्ने उद्देश्य भारतले लिएको बताउँदै पूर्वराजदूत उपाध्यायले नेपालले पनि आफ्नो हितबाट सोचेर कार्यान्वयन अघि बढाउनुपर्ने बताउनुभयो ।

भारतको उत्तर प्रदेश पर्यटन निगमले भारतको बोधिगया, कुशिनगर श्रवास्ती, राजगृह लगायत बौद्ध धर्मको तीर्थस्थलहरुमा पर्यटकहरु घुमाउँदा लुम्बिनीलाई पनि रुटमा राखेको पाइएको छ ।यस्तो अवस्थामा नेपालले पनि बुद्धिस्ट सर्किटको अवधारणा अनुरुप लुम्बिनी वरपरको स्थानमा बाटो, भौतिकपूर्वाधार जोड्नुपर्ने लुम्बिनी विकास कोषका पूर्व कार्यकारिणी सदस्य भिक्षु कौण्डन्यको धारणा रहेको छ ।‘ भारतले आफ्नो क्षेत्रमा गरे झै अहिले नेपालले बुद्धिस्ट सर्किटमा लुम्बिनीसंगै कपिलवस्तु, देवदेह, रामग्राम पनि जोड्न सकिन्छ । भिक्षु कौण्डन्यले भन्नुभयो ।

त्यसपछि क्रमशः विमस्टेक सदस्य राष्ट्रहरुलाई समेटिदै जानुपर्ने छ । विमस्टेकका सदस्य राष्ट्र श्रीलंका, थाइल्यान्ड र म्यानमार बौद्धमार्गी राष्ट्र हुन् । ती राष्ट्रका नागरिकलाई नेपालमा आकर्षित गर्न सक्ने हो भने देशको पर्यटन क्षेत्रले लाभ लिन सक्छ । बंगलादेशको पनि चक्मा क्षेत्रमा बुद्धधर्मावलम्बीहरु नै छन् ।

बुद्धिस्ट सर्किटको अवधारणा यस पटक चर्चामा नभई कार्यान्वयनतिर अघि बढ्नुपर्ने परराष्ट्र हिरण्यलाल श्रेष्ठको पनि जोड रहेको छ । ‘बुद्धिस्ट सर्किटलाई बढाउने कुरा महत्वपूर्ण छ । तर त्यसलाई बढाउ“दा पाकिस्तानलाई ‘माईनस’ गर्न हु“दैन ।’ परराष्ट्रविद् श्रेष्ठले भन्नुभयो ।

श्रेष्ठका अनुसार पाकिस्तानको गान्दाहार क्षेत्रमा पहिलो बुद्धको मूर्ति भेटिएको थियो । पाकिस्तानमा बुद्धले तपस्या गर्दा करङ देखिएको मूर्ति, जुँगा भएको मूर्ति त्यो मैले म्यूजियममा हेरेर आएको उहा“ले जानकारी दिँदै भन्नुभयो ‘त्यसैले गान्दारलाई राख्नु पर्ने नै हुन्छ । अफगानिस्तानको बामियानमा विश्वकै ठूल–ठूला मूर्ति छन् । त्यसलाई र सर्किटमा राख्नुपर्दछ । ’
बुद्धिस्ट सर्किटबाट महत्वपूर्ण लाभ लिन सकिने बताउ“दै श्रेष्ठले यसलाई उच्च महत्वका साथ अघि बढाउनुपर्ने पनि जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्