लगातार नाच र जात्रामा रुमलियोे मध्यपुर थिमि



पुष्कर बुढाथोकी
भक्तपुर । मध्यपुरथिमि नगरपालिका भित्रका बिभिन्न स्थानमा पछिल्ला ५ दिनसम्म लगातार रातमा समेत ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेको बिभिन्न नाच र जात्रा प्रर्दशन भएका छन् । १२ वर्षपछि एक पटक फरक शैलमिा हुने धार्मिक महत्व बोकेको निलबाराही नाच चारदिनसम्म लगातार नगरका बिभिन्न स्थनमा प्रर्दशन हुने गरेको स्थानीय दीलकृष्ण प्रजापतिले बताउनुभयो । प्रत्येकवर्ष गाईजात्राको भोलीपल्टको मध्यरातीबाट अर्थात भाद्र द्वितीयादेखि पञ्चमीसम्म बोडेमा चल्ने नाच नीलबाराही नाच हो ।

बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुन ः नारायणथानमा समापन गरिने परम्परा अनुसार यो नाच प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा नीलबाराही देवीको नाच देखाउने गरिन्छ ।

बोडेमा राक्षसहरुले दुःख दिएपछि नील बाराही देवीले एक स्थानीयलाई नाच सिकाएर पठाएपछि वर्षौअघिदेखि सुरु भएको यो नाच नाच्दा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । स्थानीय जुजुभाई बाँसश्रेष्ठ भन्नुभयो,‘बिभिन्न देवीदेवताको आकृति रहेको मुकुण्डो लगाएर घण्टौसम्म टोलटोल घुमेर दैनिक १० देखि १४ घण्टासम्म नाच्नुपर्ने यो नाच चलिरहदा देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नहुने र जुत्तासमेत लगाउन नहुने नियम रहेको छ ।’

देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगण रहेको यो नाचमा ६ गुरु, १९ देवताका सहयोगी, धाँ, भुस्याहा, का, बौचा बाजा बजाउने ९ लगायतका विभिन्न सहयोगीहरु गरी १ सय १५ जनाको संलग्नता रहेको हुन्छ । नीलबाराही गुठी नै संचालन गरी स्थानीयले नाचलाई जोगाउदै हरेक वर्ष यो नाच संचालन गर्दै आएका छन् ।

मल्लकालिन लाय्कू भैलः अर्थात भैरब जात्रा भाद्र कृष्ण द्धितीया (गुंलागा द्धितीया) देखि पञ्चमीसम्म मनाईन्छ ।गतवर्ष लायकू दरबारबाट प्रर्दशन गरिएको यो नाच यसवर्ष भने लायकु भैलका नाय पमाः श्यामकाजी श्रेष्ठको स्वीकृतिमा मध्यपुरथिमि ५ नासननी टोलका प्रजापतिहरुले संचालन गरेका छन् ।यो तान्त्रिक एवं ऐतिहासिक नाच मानिन्छ ।

लायकु भैल गुरु एवं नाय पमाः अर्जुन श्रेष्ठले नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुर ताल दिने गरेको जानकारी दिनुभयो ।

भैरब दुई, दाःगि अर्थात कुमारी दुई, र ज्यापूँग एक गरी ५ जना देवगण रहने यो नाच तान्त्रिक बिधि पुरा गरेर दैवी शक्ति प्राप्त गरि संचालन हुने नाचका मूल गुरु श्रीगोपाल प्रजापतिले बताउनुभयो ।

जसमा भैरबले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँग अर्थात कपालको बिंया, अक्षता, ताय् भएको भाडो, हातमा लिएर बिभिन्न तालमा बिभिन्न हाउँभाउँ प्रस्तुत गर्दै नाच्ने परम्परा रहेको छ ।

प्राचिनकालमा मध्यपुर थिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दुःख दिएपछि तान्त्रिकमार्फत मानिसको शरीरमा भैरब, कुमारीको शक्ति प्रवेश गराई क्रोधित मुद्रामा टोलटोलमा नचाएपछि भूतप्रेत भागेकाले त्यसपछि यो नाच चल्दै आएको किम्वदन्ती रहेको छ । शास्त्रीय एवं तान्त्रिक बिधिको प्रयोग गरी देवगणहरुको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा हरेको नाचका व्यबस्थापक चन्द्रकृष्ण प्रजापतिले जानाकारी दिनुभयो ।

त्यसैगरि देवासुर संग्राममा आधारित रहेर कलात्मक ढंगले तान्त्रिक बिधी अनुसार नाचिने महाकाली नाच पनि थिमिमा प्रर्दशन गरिएको छ । १६ वटा देवी देवता र दैत्यहरुको प्रतिकका रुपमा देवगणहरुले नाच्ने यो नाचमा पनि दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ ।

गाईजात्राको दिन राती अष्टमात्रिका र नागचा नाच समेत प्रर्दशन गरिएको छ । अष्टमात्रिका देवीको प्रतिकमा रुपमा तान्त्रिक बिधि अनुसार यो नाच नाचिन्छ । त्यस्तै भष्मासुर दैत्यका धार्मिक कथामा आधारित रहेर संचालन हुने नागचा नृत्य पनि यहाँ प्रर्दशन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्