वार्ता नै दुरुदर्शिता



मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राजधानीको मध्यभेगमा अवस्थित बागबजारको दुरी खासै टाढा छैन । तर मुलुकलाई पुनःयुद्धमा धकेल्ने गरी आफ्नै समिपमा भएको राजनीतिक प्रशिक्षणबारे सिंहदरवार बेखवर छ ।

अर्ध भूमिगत शैलीमा आफ्ना गतिविधी गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष कार्यकर्ताबीच प्रशिक्षण भइरहँदा सिंहदरवार यसबारेमा बेखवर बन्यो । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको पार्टीका जिल्लादेखि केन्द्रिय स्तरका नेता प्रशिक्षणमा सहभागी थिए ।

प्रशिक्षण गत बुधवार भएको थियो, सो पार्टीकै विद्यार्थी कार्यालयमा केन्द्र र जिल्ला तहका नेताहरुको जमघट थियो । प्रहरीले विप्लव समुहका पोलिटब्यूरो र विभिन्न तहका नेतालाई पक्राउ गरी कानूनी कार्वाहीको दायरामा ल्याइरहेका बेला राजधानीमै भएको प्रशिक्षण अर्थपूर्ण छ ।

एकातर्फ कठोर झै देखिएको प्रशासन अर्कोतर्फ मौन हुनु रहस्यमय छ । सरकारले पार्टी महासचिव विप्लवसहित अन्य नेतालाई पक्रन सर्कुलर जारी गरेको र प्रवक्तासहित अन्य नेता कार्यकर्तामाथि धरपकड गरी सार्वजनिक अपराधको मुद्धा लगाएकाले विद्रोहका लागि बागबजार जमघट भएको सो पार्टीको एक नेताले दावी गरेका छन् ।

खाली हातले विद्रोह नहुने भएकाले सैन्य दस्ता तयार पार्न प्रशिक्षण आयोजना गरिएको र यस्तै प्रकृतिका गतिविधीलाई निरन्तरता दिने रणनीतिका साथ गृहकार्य अघि बढाएकोे बताइएको छ । अर्ध सैनिक गतिविधी बढाउन जिल्ला तहका नेतालाई फरक–फरक जिल्ला र केन्द्रका नेतालाई पनि उपत्यका बाहिर खटाएको दावी गरिएको छ । उक्त पार्टीले संविधानसभा निर्वाचन र नयाँ संविधान लेखन स्थापित गर्न निर्वाचित भएको वर्तमान राज्य व्यवस्थालाई पनि संसदीय व्यवस्थाको संज्ञा दिदै त्यसको अन्त्यका लागि क्रान्ति अनिवार्य रहेको दाबी गरेको छ । यसलाई सो पार्टीले एकीकृत जनक्रान्ति नाम दिएको छ ।

२ वर्षअघि रोल्पाको थवाङमा भएको सो पार्टीको आठौं महाधिवेशनले संसदीय राज्यसत्ता फाल्नुपर्ने निर्णय गरेको थियो । आफ्नो पार्टीमा ७५ जना केन्द्रिय सदस्य र करिव १२ लाख संगठित कार्यकर्ता रहेको दावी विप्लव पार्टीको छ । उक्त पार्टीले गत वर्षको स्थानीय, प्रदेश र संघिय निर्वाचन बहिस्कार गर्दै मुलुकका विभिन्न भेगमा बिस्फोट गराएको थियो । बिस्फोट आफ्नै नेतृत्वको पार्टीले गराएको नेकपाका नेताले स्वीकारेका थिए ।

सरकारले विप्लब समुहका पोलिटब्यूरो र विभिन्न तहका नेतालाई पक्रेर कानूनी दायरामा ल्याउने पहल गरिरहेका बेला सो पार्टीको गतिविधीलाई अझै गम्भिर भएर निहाल्न जरुरी छ । राजनीतिक समस्यालाई राजनीतिक रुपमा नै समाधान गर्न पहल गर्नुपर्दछ । तर राजनीतिक आवरणमा हुने विस्फोट र अन्य हिंसात्मक आपराधिक गतिविधिलाई प्रश्रेय दिन भने हुँदैन । यदि समस्या राजनीतिक नै हो भने वार्तामार्फत निकास खोज्नुमै दुरुदर्शिता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्