गायनदेखि अभिनयसम्म फैलिएका थिए रिमाल



९३ वर्षको उमेरमा शुक्रबार बिहान १ बजेर ७ मिनेटमा अन्तिम श्वास फेरेका रेडियो नेपालका प्रथम गायक, रंगकर्मी तथा अभिनेता हरिप्रसाद रिमालको योगदान गायनदेखि नेपाली रंगमञ्च, रेडियो नाटक तथा फिल्मी अभिनयसम्ममा अवस्मरणीयरूपमा फैलिएको छ। १९८२ साल आश्विन ३ गते शुक्रबार पूर्णिमाको दिन पिता घनश्याम रिमाल र माता मोहनकुमारी रिमालका सुपुत्रका रूपमा काठमाडौंको लगनटोलमा जन्मिएका उनले १९९६ सालमा १४ वर्षकै उमेरमा महान् नाटककार स्व. बालकृष्ण समद्वारा लिखित नाटक मुकुन्द इन्दिरामा अभिनय गरी नाट्य यात्रा शुरू गरेका थिए। अभिनय यात्राको प्रारम्भिक चरणमै उनले स्व. समद्वारा निर्देशित भीमसेन थापाको अन्त्य, ऊ मरेकी छैन, भक्त भानुभक्त, अन्धवेग, प्र≈लादजस्ता अवस्मरणीय नाटकमा सशक्त एवं जीवन्त अभिनय गरेका थिए।

रिमालले २०२२ सालमा प्रदर्शित नेपालमै छायांकन गरिएको पहिलो फिल्म आमामा तत्कालीन शासन व्यवस्थाअन्तर्गतको प्रधानपञ्चको चरित्रमा अभिनय गरी प्रथमपटक फिल्ममा आफ्नो कला कुशतला प्रदर्शन गरेका थिए। उनले आमापश्चात् हिजो आज भोलि, परिवर्तन, मनको बाँध, के घर के डेरा, सिन्दुर, पिरती, सन्तानसँगै अन्य फिल्ममा समेत सशक्त अभिनय गरेका छन्।

२००७ सालमा रेडियो नेपालबाट प्रसारण गरिएको पहिलो गीत मेरो दिल टुक्रा बनेर एक दिन आँखाको बाटो बहनेछ गाएका उनले रेडियो नेपालकै प्रथम गायकका रूपमा समेत ऐतिहासिक स्थान निर्माण गरेका छन्। उनले गाएका बिनाबादल असिना पर्दैन माया लाग्छ बोलाउन सक्दिन, फगत एक नजरमा कसैले हियो मन, पवनले फूललाई केही भन्यो कि, न त सम्झनु न त बिर्सनुजस्ता गीत कालजयी बनेर अहिलेसम्म पनि नेपालीको जिब्रोमा झुन्डिएका छन्। ४० वर्षसम्म रेडियो नेपालमा सेवा गर्ने क्रममा उनले २ सयभन्दा बढी गीत गाएका छन् भने त्यति नै संख्यामा रेडियो नाटकको निर्देशनसमेत गरेका छन्। कुशल गायक, त्यति नै क्षमतावान् अभिनेता एवं रेडियो नाटकका लोकप्रिय निर्देशक रिमालले २०३४ सालदेखि सांंस्कृतिक संस्थानमा रंगमञ्चको नाटक निर्देशक पद सम्हालेर नाट्य क्षेत्रमा थप सेवा गरे। रेडियो नेपालमै छँदा २०१४ सालमा उनको विवाह समाचारवाचिका कल्याणी रिमालसित भएको थियो।

सांस्कृतिक संस्थानमा नाट्य निर्देशक छ”दा रिमालले प्रशस्त नाटकको निर्देशन गरेका थिए भने रंगमञ्चको क्षेत्रमा अनगिन्ती कलाकार एवं नाटक निर्देशक उत्पादन गरेर यो क्षेत्रलाई ऋणी बनाएका छन्। उनको प्रशिक्षण र साथका कारण रंगमञ्चका प्रतिभाशाली जनशक्तिको अभिवृद्धि सम्भव भएको छ। महिला कलाकारले रंगमञ्चमा अभिनय गर्ने अनुमति नपाएको राणाकालमा रिमालले २००७ सालअघि नै राणा प्रधानमन्त्री पद्म शमशेरसँगत विशेष अनुमति लिएर सर्वप्रथम बुद्धिमाया महर्जनलाई नाटकमा खेल्ने तारतम्य मिलाई महिला कलाकारले पनि नाटकमा भाग लिन सक्ने आम चलन चलाइदिएका थिए। आफंैले नेवारी तथा नेपाली नाटक लेखेर निर्देशन गर्ने विशिष्ट क्षमताका धनी ऐतिहासिक व्यक्तिŒव रिमालले ६ दशक लामो समयसम्म निरन्तररूपमा कला र संगीत क्षेत्रको सेवा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्