सन्तोष र तैयवदेखि वर्षासम्मको रोमाञ्चक राधा पियारी



संगीतकार शम्भुजित बास्कोटाले लामो समयपछि स्वर दिएको फिल्म चौका दाउको पहिलो गीत राधा पियारी शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच रिलिज भएको छ। शम्भुजित बास्कोटाको कथा र संगीत रहेको फिल्मका सार्वजनिक गीतमा स्वर शम्भुजित बास्कोटा र कोमल भण्डारीको रहेको छ।

बास्कोटाका संगीतकार पुत्र सौर्यजित बास्कोटा र मनोजराज भण्डारीको निर्माण रहेको फिल्मको गीतमा लामो समयपछि अभिनयमा फर्किएका हास्यकलाकार सन्तोष पन्त र तैयव शाहदेखि वर्षा राउत, रवीन्द्र झा, विल्सनविक्रम राई र अजर्स ढुंगानालाई रोमाञ्चकरूपमा प्रस्तुत गरिएको छ। भिडियोमा भीमफेंदी गाइजको रोचक कोरियोग्राफी रहेको छ। कार्यक्रममा बोल्दै शम्भुजित बास्कोटाले गीत अलग किसिमको बनेको बताए। ‘गीत राम्रो बनेसँगै यो गीतमा भीमफेंदी गाइज समूहको उत्कृष्ट नृत्य छ। भाइहरूको प्रतिभा देखेर आउनुस् गीतमा काम गर्नुस् भनेर मैले नै बोलाएर उहाँहरूलाई नचाएको हँुु’ –उनले भने। निर्देशक पूणेन्द्र झाले फिल्म सामाजिक राजनीतिक परिवेशमा बनेको बताए। ‘कमेडी जनरामा बनेको फिल्म रोमान्टिक छ। सोसल पोलिटिकल सेटअपमा बनेको यो फिल्ममा निर्देशन गर्न पाउँदा निकै राम्रो लागेको छ’ –उनले भने।

कार्यक्रममा प्रमुख अतिथि हास्यव्यंग्य अभिनेता हरिवशं आचार्यले चौका दाउको गीत निकै राम्रो भएको चर्चा गर्दै लामो समयदेखि फिल्मी संगीतमा एकछत्र राज गरेका संगीतकार बास्कोटालाई आफूहरूले बनाइरहेको फिल्म दाल भात तरकारीको संगीतको जिम्मा दिएको बताए। ‘हाम्रो फिल्म तँ त साह«ै बिग्रिस नि बद्री, जे भो राम्रै भोमा पनि उहाँले नै संगीत गर्नुभएको थियो। उहाँको संगीतको कारणले फिल्मलाई निकै फाइदा भयो। उहाँ फिल्म निर्माणमा पनि आउनु भएकोमा खुसी लाग्यो’, हरिवंशको भनाइ थियो– ‘यो फिल्म पनि राम्रो हुनेछ भन्ने विश्वास छ।’ हास्यकलाकार किरण केसीले फिल्मको गीत र सन्तोष पन्त तथा तैयव शाहको नृत्य निकै राम्रो लागेको बताए। ‘अहिले एउटै किसिमको गीत सुनिरहेका हुन्छौं, यो भने अलगखालको छ’ –उनले भने। गायिका कोमल राजभण्डारीले आफ्नै संगीतमा विभिन्न गीत गाए पनि शम्भुजित बास्कोटाको संगीतमा उनीसँगै गीत गाउँदा निकै रमाइलो र खुसीको अनुभव भएको बताइन्।


भीमफेंदी गाइजले शम्भुजित बास्कोटाले गाएको गीतमा अभिनय र कोरियोग्राफी गर्न पाउँदा आफूहरूलाई प्लस प्वाइन्ट भएको जनाएको छ। फिल्म ए मेरो हजुर–टुमा सहअभिनेताको रूपमा खेलेका अजर्स ढुंगाना चौका दाउबाट नायकका रूपमा डेब्यु गरेका हुन् भने फिल्मका अन्य कलाकारमा सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, मोनीका केसी, शिवशंकर रिजाल ‘जोगीन्दर‘, बालकलाकार सागर सिग्देललगायतको अभिनय देख्न सकिन्छ।
आगामी कात्तिक ९ गते अल नेपाल रिलिज हुने फिल्ममा अभिमन्यु निरवीको पटकथा तथा संवाद, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत रोशन श्रेष्ठको द्वन्द्व, दीर्घ गुरुङको छायांकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्