मोड्रिच यूईएफा वर्ष खेलाडी



लन्डन, (एजेन्सी)
युभेन्टसका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै लुका मोड्रिच यूरोपका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
बिहीबार मोनाकोमा च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरिएको कार्यक्रममा मोड्रिचलाई यूईएफा वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको हो । क्रोएसियाको कप्तान एवं रियल मेड्रिडका मिडफिल्डर मोड्रिचले पूर्व सहकर्मी रोनाल्डो र सलाहलाई पछाडी पारेका हुन् ।
रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका उनले क्रोएसियालाई फिफा विश्वकपको फाइनलमा पु¥याएका थिए । उनले विश्वकपमा व्यक्तिगत रुपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बल हात पारेका थिए ।

खेलाडी छनोट क्रममा मतदान हुँदा मोड्रिचले ३ सय १३ मत पाएका थिए । उनले रोनाल्डोभन्दा ९० मत बढी पाए । रोनाल्डोले रियलका लागि गत सिजनमा ४४ खेल खेलेर ४४ नै गोल गरेका थिए । लिभरपुलमा गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै प्रिमियर लिगको गोल्डेन बुट जितेका सलाहले १ सय ३४ अंक हासिल गरेका थिए ।

रोनाल्डो उत्कृष्ट फरवार्ड
क्रिस्टियानो रोनाल्डो युइएफा उत्कृष्ट खेलाडी हुन नसके पनि यूरोपका उत्कृष्ट फरवार्ड घोषित भएका छन् । रोनाल्डोले बार्सिलोनाका लियोनल मेसी र मोहमद सलाहलाई उछिन्दै युरोपको उत्कृष्ट फरवार्डको उपाधि जितेका हुन् । उनले उत्कृष्ट फरवार्डको लागि भएको मतदानमा २ सय ८७ अंक हासिल गरे । दोस्रो स्थानका सलाहले २ सय १८ अंक जोडेका थिए । तेस्रो स्थानका मेसीले भने ४३ अंक मात्रै पाएका थिए ।

गत सिजन स्पेनिस ला लिगा क्लब रियल मेड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि दिलाउंदा रोनाल्डोको भूमिका महत्वपूर्ण बनेको थियो । उनले रियलसँग रहेर च्याम्पियन्स लिगसँगै यूईएफए सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकप पनि जितेका थिए ।

नाभास उत्कृष्ट गोलरक्षक
कोस्टारिकाका तथा रियल मेड्रिडका गोलरक्षक केयलोर नाभास उत्कृष्ट गोलरक्षक चुनिए । उनले ब्राजिलका गोलरक्षक एलिसन बेकर र इटालियन गोलरक्षक गियानलुइगी बुफोनलाई पछाडी पारे । मेड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि दिलाउन नाभासले महत्वपूर्ण भूमिका खेलेका थिए ।

नाभासले रक्षात्मक रुपमा बलियो प्रस्तुति दिएपछि विपक्षी आक्रमण विफल पार्न रियललाई सहज भएको थियो । च्याम्पियन्स लिगका ११ खेल खेल्ने क्रममा उनले १३ गोल मात्र बेहोरेका थिए । त्यसक्रममा २ क्लिनसिट पनि उनको नाममा रहयो । उनले रियलसँग रहेर च्याम्पियन्स लिगसँगै यूईएफए सुपर कप, स्पेनिस सुपर कप र फिफा क्लब विश्वकप पनि जितेका थिए ।

नाभासले मतदानमा २ सय २२ अंक हासिल गर्दा दोस्रो स्थानमा रहेका बेकरले १ सय ९७ अंक जोडेका थिए । उनले गत सिजन एएस रोमाबाट खेलेका थिए । तेस्रो स्थानका बुफोनको ९२ तथा चौथो स्थानका मार्क आन्देर टेर स्टेगनले ४७ अंक मात्र रहेको थियो ।

रामोस उत्कृष्ट डिफेन्डर
स्पेन तथा रियलका कप्तान सर्जियो रामोस उत्कृष्ट डिफेन्डर घोषित भए । रामोसले आफ्नै क्लबबाट खेल्दै आएका राफेल भराने र मार्सेलोको चुनौती पन्छाउँदै उपाधि जितेका हुन् । रामोसले मतदानका क्रममा १ सय ८४ अंक जोडेका थिए । दोस्रो स्थान हासिल गरेका भरानेले १ सय ६७ अंक जोडे भने तेस्रो स्थानका मार्सेलोले १ सय ४५ अंक प्राप्त गरे ।

मतदानका लागि युरोप भरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकार सबैले उत्कृष्ट तीन खेलाडी चुन्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्