लघुकथा: सिंगै आकाश थाम्ने उद्घोष



-होम सुवेदी
मनमाया समाजका विविध पाटोमा चर्चित र सक्रिय महिला हुन् । उनका श्रीमान् जीतबहादुर अर्थात् जीत पनि यस कुरामा निकै गर्वको अनुभव गर्दछन् । हिजो जीतकै सहकारीमा आयोजित कार्यक्रममा नारी–पुरुषमा समानता भन्ने विषयमा मनमायाले दिएको स्पिच अहिलेसम्म पनि उनका कानमा गुञ्जिरहेको छ ।

उनले भनेकी थिइन्, ‘हामी कुनै अर्थमा कमी छैनौं । संघर्ष भने संघर्ष, आन्दोलन भने आन्दोलन । हामीमा साहस छ, शक्ति छ, सामथ्र्य छ तर हामीले अवसर पाएका छैनौं । अवसर दिनुहोस्, हामी नारीहरु कोही पुरुषभन्दा कम छैनौं । ठूला–ठूला चुनौतीहरुको समेत सामना गर्ने सामथ्र्य हामीमा छ । आदरका साथ भन्छु– हामीलाई दबाउनु भएन, घरको चौघेरामा मात्र थुन्नु भएन । समान अवसर दिनुप¥यो । आधा मात्र कहाँ हो र ? सिंगो संसार हामीले चलाएका छौं । अनि हामी नारीहरुलाई किन यस्तो पक्षपात, किन एकाङ्की दृष्टिकोण !’
उनको त्यस भाषणका बीच–बीचमा तालीको फोहोरा छुटेको थियो । यही कारणले उनी अहिले आफ्नो क्षेत्रमा चर्चाको शिखरमा थिइन् । आगामी चुनावमा उनलाई जुन पार्टीले पनि टिकट दिनेमा कुनै शंका थिएन । तँछाड–मछाड हुनेवाला छ भन्ने चर्चा मुख–मुखमा छ ।
भाषण जे भए पनि घरमा त काम गर्नै पर्छ । बिहानै उनका पति जीत दूध लिएर फर्कंदै थिए । मनमाया बैठक कोठामा झाडु लगाइरहेकी थिइन् । जीत घरमा पस्दा नपस्दै मनमाया आत्तिएर बैठक कोठाको भित्रबाट कराइन् । सास रोकिएलाजस्तो गरेर भित्रबाट बाहिर आई जीतसँग लेपसिइन् ।

‘के भो ?’ आत्तिए जीत पनि ।
‘खाटमुनि साप छ । लौ न…! ढोकाबाहिर निस्क्या छैन’, निकै पछि मात्र उनको बोली फुट्यो ।
मनमायाका हातमा कुचो छ । हाँप र झाँप गरिरहेकी छिन् । लामो सास फेरिरहेकी छिन् । पत्नीलाई कतै सर्पले टोकेको त हैन भनेर जीतका मनमा भयानक चिन्ता प¥यो । यसो अलिक सुम्सुम्याए । अलिक आस्वस्त भएपछि सोधे– ‘तिमीलाई टोकेको त हैन ?’
‘कहाँ टोक्नु ! खाटमुनि कसिँगर छ कि भनेर टर्च बालेर साफ गर्दै थिएँ, देखिहालें परैबाट । धन्न भगवान्…!’
‘खै एउटा लठ्ठी खोज त’, जीतले लठ्ठी मागे । डराउँदै मनमायाले लठ्ठी दिइन् । होस गरेर काम गर्नु है भनेर सुझाव पनि दिइन् । अनि जीत सर्प भएको कोठाभित्र सतर्क हुँदै पसे । एकैछिन्मा सर्प मारेर बाहिर निस्किए । जीतले मारेको सर्पलाई बाँझो चौरमा लगेर गाडे । मनमायाको मुटु त मरेको सर्प देखेरसमेत ढुकढुक गरिरहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्