पुस्तक चर्चा: नारी अस्तित्वलाई न्याय



रश्मी थापा
पाँच दशकदेखि साहित्य लेखनमा सक्रिय उपन्यासकार पद्मावती सिंहले मौन अक्षरका नाममा एक सामाजिक संस्करणात्मक उपन्यास ल्याएकी छिन् । अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन प्रालिद्वारा प्रकाशित र वितरीत उपन्यासमा उपन्यासकारले एक नारी पात्रले आफ्नो जीवनकालमा आँखाले देखेका र भोगेका विभिन्न घटनाक्रमलाई सिलसिलेवाररुपमा प्रस्तुत गरेकी छन् ।

आफ्नी साथी शुभेच्छाले कोरेको तेलचित्रको प्रसंग कोट्याउने क्रमबाट शुरु भएको उपन्यास २०७२ को भूकम्पका सन्दर्भमा आएर अन्त्य भएको छ । मीठो लेखन शैलीका कारण उनको उपन्यास पढ्दा कुनै दिक्दारीको सामना गर्नुपर्दैन । पद्मावतीले उपन्यासमा वक्ताको रुपमा श्रीभाषालाई खडा गरेकी छिन् । मानिसको जीवनमा आइपर्ने विभिन्न उतारचढाव र समाजमा हुने विभिन्न किसिमका क्रियाकलापमा केन्द्रित रहेर तयार पारिएको उपन्यासमा सरिता र गौरीजस्ता तेस्रो लिंगीले समाजमा भोग्नुपरेका पीडा तथा सेरोगसी, पवित्राजस्ता दलित समुदायका महिलाले समाज परिवर्तनका खातिर संस्था खोलेर गरेको दलित उत्थानसम्बन्धी काम पाठक र समाजको लागि उदहारणीय लाग्न सक्छ । गौरी र सरिताले समाजमा पीडा भोग्ने मात्र नभई आधुनिक समाजमा सरिताले तेस्रो लिंगीको रुपमा विभिन्न क्षेत्रत्रमा सफलता हासिल गरी लोभ लाग्दो जीवन बाँचिरहेको विषयले समाजलाई गतिलो पाठ सिकाउँछ ।

उपन्यासकार पद्मावतीले महिलाका आँट, हिम्मत र साहस प्रस्तुत गर्न आफ्नो धेरै शब्द खर्चिएकी छिन् । श्रीभाषाका दुई छोरीहरु अनुष्का र अजन्ताले भरपूर स्वतन्त्रताको उपभोग गरिरहँदा उर्मिलाजस्ता पात्रले आफ्नो जीवनको निर्णय आपैmं गर्दा पाएको सन्तुष्टि र अर्कोतिर आफ्नो खुशी नहेरी परिवार र समाजको लागि प्रेमको बलिदान दिँदा जीवन बरबाद गरेकी शुभेच्छाको टिठलाग्दो कथा प्रस्तुत गरिएको छ । समग्रमा उपन्यासले नारी अस्तित्वलाई न्याय गरेको छ, प्राथमिकता दिएको छ ।

जीवनको उत्तराद्र्धमा पुगेका जयानन्द बालाई आफ्नी श्रीमतीको देहान्तपछि एक्लिँदा ज्वाइँ, छोरी र बाबुको सहमतिमा वृद्धाश्रममा पठाएको प्रसंगले सम्पत्ति भएर पनि घरमा बस्न गाह्रो भएको अवस्थामा वृद्धवृद्धा वृद्धाश्रम बस्दा ठिक्कै हुन्छ भन्ने लेखकको धारणाले वृद्धाश्रमप्रति सकारात्मक धारणा जगाएको छ । उपन्यासकारले उपन्यास तयार पार्नकै लागि घरबाट टाढा रहेर लेखेको उपन्यास पठनीय छ । उनको यो तेस्रो उपन्यास हो । उनले समकालीन जीवनका भिन्न कथालाई समेटेर उपन्यास तयार गरेकी छन्, जुन पढ्दा आफ्नै समाज र वरपरका घटना–दृश्य आँखावरिपरि घुमिरहन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्