ह्वात्तै बढ्यो तीजको लहर



-रश्मी थापा

नेपाली गायकगायिकालाई तीज आउनु महिनौंअघि नै तीज लागिसकेको थियो, तीज पर्व नजिकिँदै गएपछि त झनै यसले ≈वात्तै छोपिदिएको छ। तीज आउनु कहिले–कहिले, तीजलाई विषय बनाएर तयार पारिएका गीतहरू पहिले नै सार्वजनिक गरेर तीजका समयमा तीनै गीतका साथ स्टेज तथा विदेशमा आयोजना हुने कार्यक्रममा सहभागी हुने गायकगायिकाको जमात लामै देखियो यसपालि।

भदौ अन्तिमतिर परेको तीजका विषयमा करिब ३ महिनादेखि नै यसरी तीज गीत आए कि यसलाई हेर्दा कोभन्दा को कम भन्ने होडबाजी धेरै देखियो। तीज नजिकिँदै गएपछि यति बेला तीज गीतहरूले बजार तताइसकेका छन् भने यस्ता गीत सार्वजनिक हुने क्रम अझै बढ्दै छन्। तीजका अवसरमा सरदर ८ सयदेखि १ हजार गीत प्रकाशित हुने गरेका छन्। वर्षैपिच्छे तीज गीत लिएर आउने गायिकामा कोमल वली, मञ्जु पौडेल, शोभा त्रिपाठी, सुनीता दुलाल जस्ता गायिकाहरू पर्छन् भने केही वर्षयता महिलाको यो चाडबारेका गीत पुरुष स्वरमा पनि बाक्लै सुनिन थालेको छ।

पछिल्लो समय तीज गीतका कारण चर्चामा आइरहने गायिका हुन् राष्ट्रिय सभा सदस्य कोमल वली। प्रदेश–५ बाट राष्ट्रिय सभामा निर्वाचित भएपछि पनि कोमलललाई तीजमा गीत गाउन राजनीति बाधक बनेन। यस वर्ष आफ्नी बहिनी प्रज्ञा वलीसँग सयुक्तरूपमा गाएको पहिलो तीज गीत आऊ दिदी–बहिनी होपश्चात् उनले अर्को गीत माननीयज्यू ल्याएकी छिन् भने एउटै तीज पर्वको लागि ४ गीत ल्याएकी छिन्। मलाई घूस खुवाउन आउनेको चाहिँदैन भोट भन्दै कोमल वलीले लोकदोहोरी गायक पशुपति शर्माका साथ तीज गीत गाएकी छिन्। गीत पशुपति शर्माले नै लेखेका हुन् भने पवित्रा आचार्यको कोरियोग्राफी र दुर्गा पौडेलको निर्देशन तथा छायांकनमा यसको म्युजिक भिडियो तयार पारिएको छ। भिडियोमा गायक शर्मा विभिन्न फरक भूमिकामा देखिएका छन्। वली केही वर्षयता पोइला जान पाम, पोइ चाहियो भनेर गीत गाउने मेरो लास्टै चोटी हो, चाहिँदैन पोइ जस्ता तीज गीतबाट चर्चा र विवादमा तानिँदै आइरहेकी छिन्।

त्यसै गरी लोकगायिका तथा सञ्चारकर्मी मञ्जु पौडेल र सन्तु थापाको स्वर रहेको छम्म छम्म बोलको तीज गीतले पनि म्युजिक भिडियोसहित बजार तताएको छ। यो गीतमा शिव हमाल र पवित्रा सुर्तुङ्गे मगरको संगीत छ। तीजमा व्रत बसेकी नारी आफ्नो पति सँगै नाच्न आउँदा झन् खुसी हुन्छिन् भन्ने भावलाई भिडियोमा उतारिएको छ। नीता ढुंगाना र दीपेन्द्र घिमिरेले कम्मर मर्काएको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्।

गायिका तथा सञ्चारकर्मी अनिता चलाउनेले पनि रामजी खाँणका साथ नहेर राजै त्यसरी बोलको तीज गीत ल्याइन्। जसको म्युजिक भिडियोमा नायिका नीता ढुंगाना र रामजी खाँणको नृत्य रहेका छ। गीतको लय रामजी खाँण र शब्द घनश्याम रिजालको रहेको छ भने भिडियो निर्देशन मौसम हिमाली, छायांकन दुर्गा पौडेल र सम्पादन नवीन घर्ती मगरको रहेको छ। सञ्चारकर्मी तथा गायिका शोभा त्रिपाठी पनि वर्षैपिच्छे तीजको अवसरमा गीत बजारमा ल्याउने गायिकामा पर्छिन्। यसपालिको तीजलाई लक्षित गरी उनले खुमन अधिकारीको शब्द संगीतमा तिमी चाहिन्छ बोलको तीज ल्याएकी छिन्। यसको भिडियोमा महेन्द्र गौतमको साथमा शोभा आफैंले नाचेकी छिन्। भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन्। गायिका पारू रञ्जितले तीज गीत तीजको लहर अमेरिकासम्म बोलको गीत सार्वजनिक गरिन्। जसमा शब्द तथा संगीत बाबुल गिरीको छ भने म्युजिक भिडियोमा अभिनेतृ करिश्मा मानन्धरको नृत्य र पवित्रा आचार्यको निर्देशन तथा कोरियोग्राफी रहेको छ। श्रीधर पौडेलको छायांकन रहेको भिडियोमा सम्पादन विष्णु शर्माको रहेको छ।


नेपाली आधुनिक गीत गायनबाट चिनिएकी गायिका सरू गौतमले यो वर्ष चाइनाको रेलमा बोलको तीज गीत ल्याइन्। कुमार कटुवालको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतको म्युजिक भिडियोमा मोडल सुप्रिया कटुवाल, सबी कटुवाल तथा गायिका सरूको अभिनय तथा नृत्य रहेको छ। उत्सव दाहालले छायांकन गरेको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् भने सुशील न्यौपानेले सम्पादन गरेका छन्। त्यसै गरी बेला–बेलामा पहिरन र लोकगीतको शब्द छनोटका कारण विवादमा आइरहने गायिका तथा मोडल ज्योति मगरलाई लिएर गायिका भूमिका गिरीले विकृति बोलको तीज गीत ल्याएकी छिन्। यसको भिडियोमा भूमिका गिरी, ज्योति मगर, मालती घले, अञ्जिला वाइबा, सविता परियार र सीमा घर्तीको अभिनय रहेको छ। खेम सेञ्चुरीको संगीत रहेको गीतको म्युजिक भिडियोमा राजेश घिमिरेको छायांकन तथा प्रकाश भट्टको निर्देशन रहेको छ।

त्यसै गरी गायकगायिका विक्रम राना र ज्योति मगरको स्वर रहेको तीज गीत उठ माया जुरुक्कै नाच फुरुक्कै पनि बेलैमा बजारमा आयो। करण न्यौपानेको शब्द र संगीत, विपीन आचार्यको एरेन्ज रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने विक्रम राना र आरुषी मगरले नृत्य गरेका छन्। शीतल आचार्य र रीता बुढाथोकीको संयुक्त प्रस्तुति रहेको तीज गीत घिन घिन मादल घन्काउँदै पनि यही वर्ष सार्वजनिक भएका तीज गीतमध्ये एक हो। गायिका रीता बुढाथोकीको साथमा पहिलोपटक कलाकार तथा मोडल शीतल आचार्यले पनि स्वर दिएकी छिन्।

क्षितीज (आरसी कोइरालाको शब्द र बीबी अनुरागीको संगीत रहेको गीतको म्युजिक भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ भने गायिका शीतलकै नृत्य रहेको छ। गायिका लक्ष्मी सिमाली, अस्मिता श्रेष्ठ तथा गायक नारायण नेपाली र राजकुमार काफ्लेको स्वरमा तीज गीत बूढीले सत्यानासै पारी यस वर्षको हास्यप्रधान विषयवस्तुमा तयार पारिएको तीज गीत हो। यसमा राजकुमार काफ्ले, विमल श्रेष्ठ र टीका भुजेलको शब्द रहेको छ। यसको म्युजिक भिडियोमा सरापे काजिश श्रेष्ठ, अञ्जली अधिकारी र आयुष्माको अभिनय तथा नृत्य रहेको छ। रेशम दलार्मीले छायांकन गरेको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन तथा भने दीपक विष्टले सम्पादन गरेका छन्।

तीज आउनु महिनौंअगाडि नै तीज गीतहरू बजारमा ल्याइए पनि यसलाई छिटो आएको मान्न नहुने गायिका कोमल वली बताइन्। ‘असारदेखि तीज गीतहरू आउन थालेका हुन्। मौसमले पनि तीज आएको आभाष गराउँछ। झरी चाडवाड शुरू हुने संकेत हो, झन् साउनदेखि त जता पनि हरियो देखिन्छ। केही तीज गीत अलि छिटो आए पनि अधिकांश गीतहरू असारदेखि शुरु हुन्छन्’, वली भन्छिन्– ‘राम्रोसँग बनाउँदा एउटै तीज गीतका लागि २ देखि ३ लाखसम्म खर्च हुन्छ। यसका लगानी उठाउनका लागि पनि छिटो युट्युबमा राख्नुपर्ने हुन्छ। अर्को कुरा विदेशमा हुने तीज कार्यक्रमका लागि आयोजकहरूले फागुनदेखि नै समय लिइरहेका हुन्छन् र वैशाखतिर त फिक्स नै भइसकेको हुन्छ। आयोजकलाई कलाकार चाहिएको हुन्छ भने कलाकारलाई लोकप्रियता र काम चाहिएको हुन्छ।

आयोजकले पनि यो कलाकारको यो गीत छ भन्ने थाहा पाउनुप¥यो।’ तीज गीतहरूले सांगीतिक बजार र कलाकारहरूलाई पनि सहयोग गरेको कोमलको ठम्याइ छ। ‘गायकगायिकालाई धेरै लगानी गरेर पनि ढिला गीत निकाल्दा कुनै उपलब्धि छैन’, कोमल भन्छिन्– ‘तर, केहिले भने रहर पूरा गर्न या आत्मसन्तुष्टिका लागि पनि गीत निकाल्ने गरेको पाइन्छ भने केहिले तीज गीतमार्फत राजनीतिक तथा सामाजिक कुराहरू जोडेर समाजलाई योगदान दिनका लागि पनि गीत निकाल्ने गरेको पाइन्छ। गायिका तथा सञ्चाकर्मी मञ्जु पौडेल विदेशका कार्यक्रमहरूमा जानुपर्ने कारणले छिटो गीत निकाल्ने गरेको बताउँछिन्। गायिका अनिता चलाउने आधिकारिक कम्पनी नभएको र कलाकारमा आफ्नै युट्युबमा गीत राखेर भ्युअर्स बढाउने भन्ने होडबाजीको कारण जेठ असारमै तीज गीत आउने गरेको बताउँछिन्।

प्रतिक्रिया दिनुहोस्