एसियाडमा २० वर्षपछि नेपाललाई रजत पदक



-कविरस शर्मा
इन्डोनेशियामा जारी १८औं एसियाली खेलकूदमा नेपालले २० वर्ष पछि दोस्रो रजत पदक जितेको छ । नेपाली खेलकूदमा छायाँमा पर्दै आएको एडभेन्चर खेल पाराग्लाइडिंगले बुधबार २० वर्षपछि जितेको रजत समग्रमा नेपालको दोस्रो रजत पदक हो । सन् १९९८ को बैंकक एसियाडमा सविता राजभण्डारीले तेक्वान्दोमार्फत् नेपाललाई पहिलो ऐतिहासिक रजत पदक दिलाएकी थिईन् । त्यसयता दोस्रो पटक रजत दिलाउने श्रेय नेपाली खेलकूदले नचिताएको खेल पाराग्लाइडिंगले पाएको छ ।

पुरुष क्रस कन्ट्रीमा नेपाल स्वर्ण जित्नबाट २७ अंकले मात्र पछि परेको थियो । स्वर्ण जितेको जापानले ११ हजार ३९१ अंक जोडेको थियो । विमल अधिकारी, विजय गौतम, योकेश गुरुङ, सुशील गुरुङ र विशाल थापासहितको नेपाली टोलीले ११ हजार ३६४ अंक जोडेर पाराग्लाइडिंगमार्फत दोस्रो रजत दिलाउन सफल भए । नेपालमा विशेषतः पर्यटन प्रवर्द्धनका लागि खेलिने यस खेलले एसियाकै प्रतिष्ठित प्रतियोगितामा रजत जित्छ भनेर धेरै कमैले मात्र सोचेको थियो होला । तर अहिले नपत्याउने खोलाले बगाउँछ भन्ने उखानसँग यो मेल खाएको छ ।

पाराग्लाइडिंगमा नेपाल सरकारले कति लगानी ग¥यो अथवा कत्ति अन्तर्राष्ट्रिय सहभागीता जनायो भन्ने प्रश्न एकातिर छ । तर रजत जितेर पाराग्लाइडिंगले अन्य खेलकूदको तयारी र लगानीलाई गिज्याएको छ । सहभागीता जनाएर मात्र खेलकुदको विकास हुने भए जारी एसियाली खेलकुदमा नेपालको प्रर्दशन कस्तो हुन्थ्यो होला भन्ने प्रश्न पनि तेर्सिएको छ । सन् १९५१ को पहिलो एसियाली खेलकूददेखि नै खेल्न सुरु गरेको नेपालले इन्चोन एसियाडसम्म मात्र २३ पदक बटुलेको थियो । १६ पटक एसियाडमा प्रतिस्पर्धा गरेको अनुभवले पनि नेपाली खेलकूदमा कुनै ठोस प्रभाव पारेको देखिदैन । यदि अनुभवले सिक्ने हो भने प्रायजसो खेलमा समुह चरणबाटै बाहिरीनुले सहभागीताले मात्र खेलको स्तर वृद्धि हुन्छ कुरालाई गलत सावित गरेको पाराग्लाइडिंगमार्फत् जितेको रजतले पुष्टि गर्छ ।

नेपालमा पाराग्लाइडिंगको पृष्ठभूमि
हावामा त्रिकोण आकारको निक्कै कडा प्लास्टिकबाट निर्मित वस्तुको आडमा चराजस्तै उड्ने मिल्ने खेललाई पाराग्लाईंडिंग भनिन्छ । विश्वमा पाराग्लाईंडिंग खेल पुरानो भइसकेको छ । सन् १९९२ मा पाराग्लाईंडिंगको विश्व प्रतियोगितामा जर्मनीका उली वेसमेकरले पहिलो उपाधि जितेबाट यो प्रष्ट हुन्छ । नेपाल भने हवाई खेलकुद संस्था (ना) ले नेपालमा पाराग्लाईंडिंगलाई स्पोर्ट्स टूरिज्मको रुपमा विकास गर्न कदम चाल्दै आएको छ ।

केहि समय अघि पोखरामा साहसिक पाराग्लाईंडिंगको गन्तव्य बनाउन पाराग्लाईंडिंगको प्रि—वल्र्डकपको आयोजना गरिएको थियो । नेपालमा विश्वकप गर्नसक्ने क्षमता भएको एकमात्र खेलको रुपमा पनि पाराग्लाईंडिंगलाई लिइएको छ । नेपालमा थुप्रै अन्तराष्ट्रिय व्यवसायिक पाईलटले यस खेलमार्फत उड्ने सपना साँचेको उक्त प्रतियोगिताको क्रममा पाइएको थियो ।
नेपालमा पाराग्लाईंडिंगको लागि पोखराको सराङकोट क्षेत्रलाई विश्वकै दुर्लभ र उत्कृष्ट स्थल भन्दा पनि फरक नपर्ला ।

सराङकोट बाह्रैमास उडान गर्न मिल्ने स्थलको विश्वमा परिचित छ। उक्त प्रतियोगिताको क्रममा कतिपय विदेशी पाईलटहरु सराङकोटमा उड्ने लक्ष्य नै बनाएर नेपालमा ओइरिने समेत गरेका छन् । सराङकोटको १४ सय ५० मिटरको उचाईबाट ‘टेकअफ’ गरी फेवा तालको सिरान खपौदीमा ‘ल्याण्डिङ’ जोन रहेको छ । जसका कारण पाराग्लाईंडिंग टूरिज्म स्पोर्ट्सको रुपमा नेपाल गन्तब्यस्थल बन्ने सम्भावना पनि प्रबल नै छ । नेपालमा पहिलो पटक आयोजना भएको उक्त प्रतियोगितामा ३४ देशका पाराग्लाईंडिंग पाईटलहरुको सहभागीताले पनि यो स्पोर्ट्स टूरिज्मका रुपमा विकास गर्न आधार बनिरहेको छ ।

२०७२ सालको महाभूकम्पले सारंगकोटलाई केहि समयका लागि अस्तब्यस्त बनाएपनि पोखरामा पाराग्लाईंडिंग च्याम्पियनसिप शुरु भएको भने करीब २ दशक वर्ष पुगिसकेको छ । पाराग्लाईंडिंगमा ओभरअलदेखि एक्रोव्याट्स, स्पट ल्याण्डिङ, क्रस कन्ट्री, बेष्ट र्याफट ल्याण्डिङ जस्ता स्पर्धामा प्रतिस्पर्धा हुने गरेको छ । उक्त प्रतियोगिताकै आधारमा पाराग्लाईंडिंगको विश्वकप नेपालमा गर्न पाराग्लाईंडिंगको अन्तराष्ट्रिय संस्था फेडेरेशन अफ इन्टरनेशनल एरोनोटिकल (एफएआई) ले स्वीकृति दिने कुरा पनि यथावत नै छ ।

साढे ६ दशकमा जम्मा २४ पदक
सन १९५१ मा नयाँ दिल्लीमा भएको पहिलो एसियाली खेलकूददेखि नेपालले सहभागिता जनाए पनि सन १९८६ देखि मात्र पदक जित्न थालेको हो। त्यसयताको ३२ वर्षमा नेपालले २४ पदक जितेको छ । जसमध्ये २ रजत र २२ काश्य रहेका छन् । ‘एशियाड’मा सहभागी हुन नेपालका कुनै पनि खेलाडीले छनोट खेल्न नपर्ने भएकाले जारी प्रतियोगितामा नेपालले ४० खेलमध्ये २९ वटा खेलमा सहभागिता जनाएको छ ।

जारी एसियाडबाट जितेको दोस्रो रजतलाई छोड्ने हो भने पछिल्ला ६३ वर्षको एशियाली खेलकुद इतिहासमा कुल २३ पदक मात्र जितेको नेपालले खेल सहभागितालाई भने बढाउँदै लगेको छ । सोही अनुसार यसपटक १ सय ८६ जना नेपाली खेलाडीसहित जम्बो टोली इण्डोनेसिया पुग्यो । विगतका एसियाली खेलकुदमा नेपालले तेक्वान्दोबाट १ रजत र १३ कांस्य, बक्सिङबाट ६ कांस्य र करातेबाट ३ कांस्य जितेको छ । अहिले पाराग्लाइडिङबाट एक रजत पदक नेपाली खेलकुदले जम्मा गरेको छ ।

पछिल्लो समय तेक्वान्दो ओरालोतिर झरिरहेको जारी एसियाडसमेत गरी तीन एसियाडले झल्काएको छ । तेक्वान्दो मात्र होइन सबै खेलले त्यही बाटो समाइरहेका छन् । एसियाड खेल्ने धेरै खेलको हालत उस्तै छ । विश्व खेलकुद अत्याधुनिक प्रविधि पछ्याउँदै अगाडि लम्किरहेको छ । सबै कम्प्युटर प्रणालीमा चल्छ । जसरी अहिले आधुनिक प्रविधि विस्तार भएको छ त्यसैअनुरूप खेलकुदमा पनि ती प्रविधि भित्रिएका छन् ।

तर नेपाली खेलकुद ती प्रविधिसँग अभ्यस्त हुन सकेको छैन । पुरानै ढांचामा चलेको छ । विगतमा खेलाडीले प्रदर्शन देखाउनुपथ्र्यो । कडा मिहिनेत गरे पुग्थ्यो । थोरै टेक्निकले पनि साथ दिन्थ्यो । उस्तै परे पदकै हात पथ्र्यो । सबै काम हाते पद्धतिमै हुन्थ्यो । रेफ्री–जजले पनि जिताउन चाहेकोलाई जिताइदिन सक्थे । तर अहिले फोरजी प्रविधिमा आधारित छ विश्व खेलकुद ।

तर नेपाली खेलकूदमा भने अझै आधुनिक प्रविधि प्राथमिकतामा पर्न सकेको छैन । यस्तो प्रविधिलाई भित्र्याउने सरकारसँग कुनै योजना नै छैन । खेल पूर्वाधारमा लगानी छैन । खेलाडीले खेलकुदमै भविष्य छ भनेर धुक्कका साथ बस्ने अवस्था पनि छैन । धेरै प्रतिभावान खेलाडी पलायन हुने क्रम पनि बढ्दो छ ।

जसको प्रमुख कारण एसियाड, ओलम्पिकजस्ता ठूला प्रतियोगिता खेल्न एउटा दीर्घकालीन योजना नहुनु हो । सबै खेललाई एउटै नजरले हेर्न मिल्दैन । कुन खेलको पूर्वाधार र पहुँच सहज छ, त्यसलाई छानेर प्राथमिकतामा राख्नुपर्छ । सहभागितामा मात्र सिमित हुने चलनबाट माथि उठेर पदक नै जित्ने मानसिकताको विकास आवश्यक छ । त्यसको लागि योजना बनाएर लगानी गर्नुपर्छ ।

एक्सपोजर गर्नुपर्छ
खेलाडीलाई एक्सपोजर लक्षित हुने वातावरण बनाउनु पर्दछ । अभ्यास गरेकै भरमा राम्रो नतिजा निस्कने होइन । खेलाडीको स्तर मापनका लागि प्रतिस्पर्धा नै मुख्य माध्यम हो । जसमा नेपाली खेलाडी चुक्ने गरेका छन् । प्रायजसो नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउनु त टाढाको विषय हो । वर्षमा एउटा राष्ट्रिय प्रतियोगिता पनि खेल्न पाउँदैनन् । कति खेलका त राष्ट्रिय प्रतियोगिता परीको कथा जस्तो हुने गरेको छ ।

खेलस्तर उकास्न खेलाडीमात्र नभई नयाँ प्रशिक्षक उत्पादन र पुरानालाई समय सापेक्ष बनाउने निति नियम बसाल्नुपर्छ । अहिले नयाँ पद्धतिमा प्रशिक्षण गराइन्छ । विज्ञान प्रविधिमा आधारित अभ्यास चल्छ । जसअनुसार नेपाली खेलाडीसँगै प्रशिक्षक पनि परिमार्जित बन्न सकिरहेको छैन । मुख्यतः खेल संघभित्र चल्ने राजनीति पनि खेल विकासको बाधक बनेको छ ।

१८ औं एसियाडमा नेपाली खेलकूदको उतार चढाव
इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ मा नेपालले नसोचेको खेल पाराग्लाइडिंग मार्फत २० वर्षपछि दोस्रो रजत जित्दा आशा गरिएको खेलको प्रदर्शन भने बिर्सन लायक बनेको छ । रजत पदकलाई छोड्ने हो भने अहिलेसम्म राष्ट्रिय कीर्तिमान बाहेक अरु केही गर्न सकेको छैन ।

‘एशियाड’ मा नेपालका केही खेलाडीले नयाँ कीर्तिमान बनाएपनि अरु खेलाडीको यात्रा सहभागितामा मात्रै सिमीत बन्यो । एथ्लेटिक्सका सोम बहादुर कुमाल र भारोत्तोलनमा कमल बहादुर अधिकारी, तारादेवी पुन र सञ्जु चौधरीले आफनै राष्ट्रिय कीर्तिमानमा सुधार गर्नुबाहेक अन्य प्रतिस्पर्धामा नेपालको प्रदर्शन पहिलो र दोस्रो चरणबाटै समाप्त भएको छ ।

महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ६ केजी गरी कूल १ सय ५ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान जारी ‘एशियाड’मा तोडेकी हुन् ।
त्यस्तै, कमलले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कूलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका थिए । कमलले स्न्याचमा १ सय १९ केजी र क्लिन एन्ड जर्कमा १ सय ६० गरी कूल २ सय ७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

ताराले पनि आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १ सय १ केजी र कुलमा १ सय ७५ केजीको भार उचालेकी हुन् । उनले स्नाचमा एक केजीको मात्रै राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छिन् । तर क्लिन एन्ड जर्कमा उनको यसअघिको राष्ट्रिय कीर्तिमान ९७ केजी र कुलमा १ सय ७० केजी भार रहेको थियो ।

ताराले २ वर्षअघि भारतमा भएको १२औं सागमा कांस्य पदक जितेकी थिइन् । यस्तै यही वर्ष नेपालगन्जमा जेठमा भएको एसियाली खेलकुद छनोटमा उनले तीन राष्ट्रिय कीर्तिमान रचेकी थिइन् । यो कीर्तिमानमा उनले अहिले सुधार गरिन् ।
यस्तै एथ्लेटिक्सको पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । उनले ८ सय मिटर दौड १ मिनेट ५०.२५ सेकेण्डको टाइमिङ निकाल्दै २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्न सफल भए ।

यद्यपी उनी हिट चरणबाट माथि जान सकेनन् । उनी हिट थ्रीको चौथो स्थानमा रहे भने समग्रमा १३औं भए । यसअघि सन् १९९५ को मद्रास साग गेम्समा धनीराम चौधरीले बनाएको १ मिनेट ५०.६० सेकेण्डको कीर्तिमान तोड्दै कुमालले नयाँ कीर्तिमान बनाएका हुन् ।

यता, मार्सल आर्ट भित्रको सबैभन्दा पदकको आशा गरिएको खेल तेक्वान्दो हो । तर, दुई संस्करणदेखि पदक बिहिन बनेको तेक्वान्दो इन्डोनेशिया ‘एशियाड’मा पनि कुनै पदक जित्न सकेन । एसियाली खेलकुद इतिहासमा तेक्वान्दोको गौरवशाली इतिहास छ । एसियाडमा प्रवेश पाएसँगै तेक्वान्दोले पदक जित्दै आएको छ ।


नेपालले एसियाडमा जितेको एक रजतसहित २३ पदकमध्ये तेक्वान्दोकै धेरै छ । तेक्वान्दोले एक रजत र १३ कांस्य जितेको छ । नेपालको एशियाली खेलकुद सहभागितामा जितेको पदकमध्ये तेक्वान्दोबाट मात्र १४ पदक आएको छ । सन् १९८६ को सिओल ‘एशियाड’मा नेपालले तेक्वान्दोमार्फत ४ कांस्य पदक जितेको थियो । त्यस्तै, १९९४ को हिरोसिमा ‘एशियाड’मा तेक्वान्दोले १ कास्य पदक जित्यो ।

सन् १९९८ मा भएको एशियाली खेलकुदमा नेपालका लागि सबिता राजभण्डारी रजत पदक जित्दै नयाँ इतिहास रचिन् । सोही ‘एशियाड’मा तेक्वान्दोमा मार्फत थप २ कास्य पदक समेत भित्राएको थियो ।

सन् २००२ को बुसान ‘एशियाड’मा नेपालका तेक्वान्दो खेलाडी दीपक विष्ट, रेनुका मगर र रितुजिमी राईले कास्य जितेका थिए । दीपकले सन् २००६ मा दोहा एसियाड पनि कांस्य पदक जित्दै एसियाडमा लगातार २ पदक जित्ने पहिलो नेपाली खेलाडी बने । विष्टसँगै मनिता शाही र आयशा शाक्यले पनि तेक्वान्दोबाट कांस्य पदक राष्ट्रलाई दिलाएका थिए ।

लगातार ४ ‘एशियाड’मा पदक दिलाएको तेक्वान्दो पछिल्लो १२ वर्ष उपलब्धी शून्य बनेको छ । जारी ‘एशियाड’ मा सहभागी सबै खेलाडीले तेक्वान्दोबाट कुनै पदक जित्न सकेनन् । गत संस्करणमा भएको ‘एशियाड’ मा कराँतेकी बिमला तामाङले कास्य पदक जित्दै नेपालको लाज बचाएकी थिईन् ।

एशियाली खेलकुदलाई ओलम्पिक पछिको ठूलो प्रतियोगिताको रुपमा लिने गरिन्छ । यति ठूलो प्रतियोगितामा नेपाली खेलाडी खेल्न पाउनु शानको कुरा हो । तर, सहभागितामा मात्र सिमित हुने खेल र खेलाडीलाई ‘एशियाड’मा खेलाउनुको कुनै औचित्य देखिदैन ।

अनुशासनहीन खेलाडी
केहि नेपाली खेलाडीको अनुशासनलाई नियाल्दा देशको प्रतिष्ठा बढाउन विदेशी भूमिमा पुगेर मन लाग्दो पाराले देश छविमा नै आँच आउने कार्य गरेको छ । मुख्यतः एथ्लेटिक्स खेलाडीको ब्यहोरा अपाच्य बन्यो । कोही इन्ट्री नै नगरिएको इभेन्टमा खेल्न चाहेको देखियो भने कोही भएको इभेन्टमा आफ्नो प्रदर्शन सुधार हुदैन जस्तो लागेपछि खेलस्थलमा नै अनुपस्थित भए ।

यति मात्र होईन, खेलाड़ीको नाम दर्ता गर्ने प्राविधिक पक्षमा समेत नेपाली ब्यवस्थापकले त्रुटि दोहो¥याउन थालेको छ । जसका कारण एथलेटिक्सका २ नेपाली खेलाडी आफ्नो प्रतिस्पर्धामा भाग लिनबाट बन्चित भए । नेपाली खेल निकायको लापरबाहीका कारण नै एसियाकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीमाथि यस्तो घटना भएको हो ।

महिला १० हजार मिटरमा विश्वरुपा बुढा र पुरुष ४ सय मिटरमा सोमबहादुर कुमालको नाम ’लेट इन्ट्री’ अर्थात ढिलो नाम दर्ता गरेका कारण प्रतिस्पर्धामा भाग लिनबाट बञ्चित भए । यसअघि एसियाली खेलकुदमा विश्वरुपाले १० हजार मिटर र ५ हजार मिटरमा भाग लिने नेपाली एथ्लेटिक्स संघले जनाएको थियो । यस्तै सोमले पनि ४ सय मिटर र ८ सय मिटरमा प्रतिस्पर्धा गर्ने संघले जनाएको थियो ।

एसियाली खेलकुदको अफिसियल साइटमा पनि विश्वरुपाको १० हजार मिटरमा नाम थिएन । इन्ट्री गर्ने नेपाल ओलम्पिक किमिटीले तथा एथ्लेटिक्सका अफिसियलहरुले समयमै नेपाली खेलाडीको नाम इन्ट्री भएको वा नभएको बारे ध्यान नदिँदा उनी प्रतिस्पर्धामा भाग लिनबाट बन्चित भएका हुन् । राष्ट्रिय टिम तयारी समितिले उपलब्ध गराएको नाममा विश्वरुपाले ५ हजार र १० हजार मिटरमा भाग लिने उल्लेख थियो ।

उक्त स्पर्धा अघि नेपाली अफिसियलहरु भने नेपाली खेलाडीले भाग लिने बताएका थिए । जस अनुरूप उनीहरु बुङ कार्नो रंगशालामा पनि पुगेकी थिइन् । तर सेन्ट्रल जाकर्ताको बुङ कार्नो रंगशालामा भएको दौडमा भाग लिन पुगेकी विश्वरुपाले प्रतिस्पर्धा नगरिककै फर्कन बाध्य भईन् । एथ्लेटिक्सकी व्यवस्थापकले विश्वरुपालाई रंगशाला भित्र पठाएपनि नाम दर्ता नभएका कारण उनी फर्कन बाध्य भईन् । यो भन्दा लाज अर्को के होला?


नेपाल ओलम्पिक कमिटीले भने विश्वरुपाको नाम नेपालबाट नै दर्ता पूरा गरेको भएको दाबी गरे । नेपाल ओलम्पिक कमिटीले इन्डोनेशियामा नै प्राविधिक समस्या भएको जानकारी दियो । सोमबहादुरको हकमा भने अन्तिम समयमा खेल्न चाहेकाले नाम इन्ट्री गर्न नमिलेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी अधिकृत सुजनलाल श्रेष्ठले बताए ।
पहिला ८ सय मिटर मात्र खेल्ने बताए पनि अन्तिम समयमा ४ सय पनि खेल्न खोजेपछि उनले भाग लिन नपाएको श्रेष्ठले बताए । प्राविधिक कारणले सोमबहादुर कुमालले ४ सय मिटरमा भाग लिनबाट बन्चित भएपनि पुरुष ८ सय मिटरमा भने उनले नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भए ।

यसैगरी नेपाली धावक यामसाजन सुनार १८ औं एसियाली खेलकुदको २ सय मिटर दौडमा प्रतिस्पर्धा नै नगरी स्वदेश फर्किए । उक्त इभेन्ट मुख्य रंगशाला जेरोला बुङकार्नोमा प्रतिस्पर्धा भएको थियो । हिट नम्बर ४ को सूचीमा यामसाजनको नाम थियो । तर लेन नम्बर ५ मा उनी अनुपस्थित रहे ।

नेपाली टिम अफिसियलसामु उनले आफू खेल्न नसक्ने कारण दिएका थिए । त्यसको केही दिन अघि १ सय मिटर प्रतिस्पर्धा गरेका यामसाजनले खुट्टामा समस्या भएकाले २ सय मिटर दौड्न असमर्थ रहेको कारण पेश गरेका थिए । उनले १ सय मिटरको हिट चरणमा ११.३९ सेकेन्डबाट दौड पूरा गरेका थिए । उनी आफ्नो टाइमिङ पनि सुधार्न असफल भए । यामसाजनको २ सय मिटरमा भने २१.७५ सेकेन्डको टाइमिङ छ ।इन्चोन एसियाडसमेत खेलेका उनले १२ औं दक्षिण एसियाली खेलकुदमा २२.३१ सेकेन्डबाट दौड पूरा गरेका थिए ।

यस्तै म्याराथनमा भने दुई धावकले दूरी पार गर्न सकेनन् । कृष्णबहादुरले ४० र गोपीचन्द्रले ३० किमिमा दौड त्यागेका थिए । खेलस्थलको बाफिलो मौसमले गर्दा मांसपेसीमा समस्या आएर बीचमै दौड त्यागेको उनीहरुले बताएका थिए ।
एशियाडको पदक इतिहासमा नेपालले तीन खेलमा मात्र पदक जितेको छ । यी तेक्वान्दो, बक्सिंग र कराते हुन् । तर तीनै खेलले जाकार्ता एशियाडमा एउटा पनि पदक जित्न सकेनन। पछिल्लो एशियाडमा समेत पदक नजितेको तेक्वान्दोले खाली हात फर्केर पदक शून्यतामा ह्याट्रिक गर्दा बक्सिंग र करातेको पनि उहीं हालत भयो ।

राष्ट्रिय खेलमा पहिलो जित
एसियन गेम्समा पुरुष भलिबलतर्फ नेपालले पहिलो पटक एतिहासिक जित हासिल गर्यो । नेपालले एसियन गेम्समा भलिबलतर्फ ३२ वर्षपछि सहभागिता जनाएको हो । सन् १९७८ मा थाइल्यान्डको बैंककमा भएको आठौं एसियाडमा पहिलोपटक सहभागिता जनाएको नेपालले त्यसपछिका दुई संस्करणमा पनि सहभागिता जनायो ।

तर, सन् १९८२ को दिल्ली एसियाड तथा १९८६ को सिओल एसियाडमा पनि नेपालले पुरुष भलिबलतर्फ एउटा सेट पनि जित्न सकेको थिएन । तर यसपटक राष्ट्रिय खेल घोषणा गरिएकै वर्ष नेपालको पुरुष भलिबल टिमले उक्त सफलता हासिल गरेको हो ।

नेपालले मंगोलियालाई ३–१ को सेटमा हराएको थियो।मंगोलियाविरुद्धको पहिलो सेट २६–२८ ले गुमाएको नेपालले दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पाररेको थियो। प्रतिस्पर्धात्मक तेस्रो सेट ३०–२८ ले जितेको नेपालले चौथो सेट २५–१९ ले जित्दै जित सुनिश्चित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्