बिमस्टेकलाई परिणाममुखी बनाउन एकमत



टीका बन्धन
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले सशक्त र परिणाममुखी क्षेत्रीय सहकार्यमा जोड दिएका छन् ।

चौथो सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनीहरुले शान्ति, समृद्धि, कनेक्टिभिटी, व्यापार, पर्यटन, ऊर्जा, कृषि, यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारणलाइनको आवश्यकता औंल्याए । बिमस्टेक वडापत्र, सचिवालयको संस्थागत सुदृढीकरण, बिमस्टेक कोष स्थापनाको खाँचो रहेकोमा राष्ट्रप्रमुख र सरकार प्रमुखले जोड दिएका छन ।

सम्मेलन आयोजक राष्ट्रका अध्यक्ष एवं नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकलाई दक्षिणपूर्व र दक्षिण एसिया जोड्ने सेतुका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । बिमस्टेकलाई विचार, पहिचान र उद्देश्यका रुपमा हेर्न आग्रह गर्दै उहाँले भन्नुभयो– ‘त्यो भन्दा माथि हामी सबैको पहिचान हो ।’ क्षेत्रीय सहकार्यका लागि कनेक्टिभिटी अपरिहार्य रहेको बताउँदै प्रधानमन्त्री ओलीले यसका लागि सडक सञ्जाल, जलमार्ग, रेलमार्गसँगै ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणमा नवीनतम अभ्यास जरुरी रहेको बताउनुभयो ।

बिमस्टेक क्षेत्रमा भौतिक सम्पर्क र सम्बन्ध विस्तारका लागि बुद्धिस्ट सर्किटको अवधारणालाई मूर्तरुप प्रदान गर्न सकिने उहाँको भनाइ थियो । क्षेत्रीय सहकार्यसँगै उपक्षेत्रीय बीबीआईएन (बंगलादेश–भुटान–भारत– नेपाल) संयन्त्रलाई अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताउँदै ओलीले भन्नुभयो– ‘तर सार्क र बिमस्टेक एकअर्काको प्रतिस्थापक नभई परिपूरक हुन् ।’ बिमस्टेक मुलुकहरु एउटै हिमालयको काख र बंगालको खाडीको समीपमा रहे पनि जलवायु परिवर्तन, भूकम्प, बाढीपहिरोजस्ता प्रकोप चुनौतीका रुपमा रहेको उहाँले बताउनुभयो ।

सशक्त र परिणाममुखी क्षेत्रीय सहकार्यमा जोड
आज ऊर्जा सम्झौता हुने

सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेकलाई सशक्त र परिणाममुखी क्षेत्रीय संगठन बनाउन काठमाडौं सम्मेलन उपयुक्त अवसर भएको बताउनुभयो ।

आर्थिक प्रगति, समृद्धि, साझा सफलताका प्रयासका शान्ति र सुरक्षाका वातावरण आवश्यक रहेकोमा जोड दिँदै उहाँले भन्नुभयो– ‘हिमालदेखि बंगालको खाडीसम्म जोडिएको यस क्षेत्रमा प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ, यसका लागि सबै मिलेर काम गर्नुपर्छ ।’ सबै सदस्य राष्ट्रको वैदेशिक व्यापार समुद्रमार्गसँग जोडिएकाले ‘ब्लु इकोनोमी’ सँगै ‘साइबर इकोनोमी’ को महत्व रहेको उहाँको भनाइ थियो ।

आफ्नो मुलुकले २ वर्षपछि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने तयारी गरेको जानकारी दिँदै मोदीले सो सम्मेलनमा सहभागी हुन सदस्य मुलुकका प्रतिनिधिलाई अग्रिम निम्तो दिनुभयो ।

त्यसै गरी पटनास्थित नालान्दा विश्वविद्यालयमा बिमस्टेक राष्ट्रहरुसम्बन्धी छुट्टै विभाग खोलिने र सबैको प्रतिनिधित्व रहने बताउँदै उहाँले बिमस्टेक युवा सम्मेलन र सदस्य राष्ट्रको महिला फोरमको खाँचो औंल्याउनुभयो ।

अन्तरदेशीय अपराध, लागू पदार्थ र अवैध मुद्राको कारोबार कुनै देशको मात्रै समस्या नभएर साझा समस्या बनेको र यसका लागि यथोचित कानुन र साझा ढाँचा आवश्यक भएको मोदीले बताउनुभयो । बिमस्टेक राष्ट्रबीच विपत्तिका क्षेत्रमा सहकार्य गर्न छिट्टै भारतमा सैन्य अभ्यास हुन लागेको उहाँको भनाइ थियो ।

अन्तरदेशीय अपराध, लागू पदार्थ र अवैध मुद्राको कारोबार कुनै देशको मात्रै समस्या नभएर साझा समस्या बनेको र यसका लागि यथोचित कानुन र साझा ढाँचा आवश्यक रहेको बिमस्टेक राष्ट्रप्रमुखहरुको जोड

त्यसै गरी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, म्यान्मारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाली राष्ट्रपति मैथ्रीपाला सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुट च्यान ओचाले पनि क्षेत्रीय सहकार्य सशक्त बनाउन जोड दिनुभयो । शान्ति र समृद्धिको आवश्यकता सबैले औंल्याए ।

सम्मेलनमा आफ्नो मुलुकको प्रतिनिधित्व गर्दै आउनुभएका विशिष्ट पाहुनाहरुले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक भेटवार्ता गरेका छन् भने विशिष्ट अतिथिको सम्मानमा राष्ट्रपति भण्डारीले दिवा भोजको आयोजना गर्नुभएको छ । साँझ होटल हायातमा रात्रिभोजको आयोजना गरिएको थियो । भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशकी हसिना र थाइल्यान्डका प्रधानमन्त्री ओचा बिहीबार बिहान काठमाडौं आइपुग्नुभएको हो ।
सम्मेलनको दोस्रो दिन आज शुक्रबार ऊर्जा सम्झौता हुँदै छ । बुधबारको मन्त्रीस्तरीय बैठकले ऊर्जासहित बिमस्टेक कोष र अन्य क्षेत्रीय निकायको खाका तय गर्न सुझाएको छ । कनेक्टिभिटी, व्यापार, पर्यटन, ऊर्जा, कृषि, यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारणलाइनजस्ता विषय चौथो सम्मेलनका एजेन्डा बनेका छन् । यी विषयमा सम्मेलनमा छलफल हुँदै छ भने शुक्रबार समापन हुने सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्