जुडो खेलाडीहरुको निरासजनक प्रदर्शन



नेपाल समाचारपत्र, काठमाडौं
इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदअन्तर्गत पदक आसा गरिएको जुडोमा नेपाली खेलाडीको प्रदर्शन निरासजनक भएको छ ।

बिहीबार तीन खेलाडी फुपु ल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान र सन्जित डंगोलले प्रतिस्पर्धा गरेका थिए । तीनै खेलाडी पहिलो चरणभन्दा माथि पुग्न सकेनन् । सबैभन्दा निरास नतिजा निकालिन फुपुले । फुपुलाई जापानमै छुट्टै विशेष प्रशिक्षण दिइएको थियो । यसको बावजुद उनको इन्डोनेसियामा प्रदर्शन खराब बन्यो । उनले कमसेकम कांस्य ल्याउने नेपाल जुडो संघले समेत आस गरेको तर उनी त्यसमा सफल भइनन् ।

फुपुले महिला ६३ केजीमुनि तौल समूहको अन्तिम १६ चरणमा प्रतिस्पर्धा गरेकी थिइन् । आयोजक राष्ट्रकी युली अदे्रल्ल फ्राडिभ्ताले उनलाई १–० अंकले पराजित गरेकी थिइन् । यस्तै महिला ५७ केजीमुनि मनिता भियतनामकी थी विच नुगेनसँग हारिन् । उनले अन्तिम ३२ चरणको खेल १०–१ अंक अन्तरले गुमाएकी थिइन् । पुरुष ७३ केजीमुनि सन्जित साउदी अरेबियाका फहाद सुलेमान हमादसँग माथ खान पुगे ।

योसँगै नेपालको तर्फबाट जुडोमा प्रतिस्पर्धा गर्ने तीन खेलाडीको चुनौती बाँकी रहेको छ । आज हुने खेलमा पुरुष खेलाडी श्रीराम माकजु र रविन श्रेष्ठ तथा महिला खेलाडी पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो दिन नेपालको तर्फबाट जुडोमा इन्द्रबहादुर श्रेष्ठ र देविका खड्का समान १०–० अंकको फराकिलो अन्तरले पराजित भएका थिए ।

नविता पराजित
एसियाडअन्तर्गत टेबलटेनिसमा नेपालकी नम्बर एक महिला खेलाडी नविता श्रेष्ठ पराजित भइन् । पहिलो चरणमा मकाउकी फेइ सुट तमलाई संघर्षपूर्ण सात सेटमा हराएर अर्को चरणमा स्थान बनाएकी नविताले अर्को खेलमा जित हात पार्न सकिनन् । उनलाई हङकङकी केम होई डुले सीधा सेटमा हराएकी थिइन् । महिला सिंगल्समै मंगोलियाकी दोलीजिन्जु बत्बयरले नेपालकी स्वेच्छा नेम्वाङलाई सोझो सेटमा हराइन् ।
पुरुष सिंगल्समा नेपालका नम्बर एक टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठ मकाउका छेन चि छियोङसँग हारे । तीन सेट लगातार गुमाए पनि श्यान्टुले चौथो र पाँचौ सेट जितेर खेलमा फर्कने प्रयास गरेका थिए । तर छैटो सेट छियोङले जितेपछि उनले हार स्विकार्न बाध्य भएका थिए । यस्तै अर्का नेपाली खेलाडी अमरलाल मल्ल मंगोलियाका इर्डेनबयर चिन्बाटसँग हारे ।

सेपाकताक्रोमा जित
सेपाकताक्रोको पुरुष क्वाड स्पर्धामा नेपालले पाकिस्तानलाई २–० को सोझो सेटमा पराजित गरेको छ । नेपाल २१–१६ र २१–८ ले विजयी भयो । इरानसंग भने नेपाल २–० ले पछि प¥यो । नेपालबाट गोविन्द मगर, रविन भट्टराई, रुपेश सुनार र सन्जित धिमालले प्रतिस्पर्धा गरेका थिए ।

श्रीलंकासंग पराजित
पुरुष भलिबलमा नेपाल श्रीलंकासंग ३–१ ले पराजित भएको छ । १३ औं देखि १६ औं वरियता निर्धारित हुने खेलमा श्रीलंकाले नेपाललाई २३–२५, २५–१६, २६–२४ र २५–२१ को सोझो सेटमा हरायो । अब नेपालले १४÷१५ स्थानका लागि भियतनाम र किर्गिस्तानबीचको विजेतासंग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

सरस्वती १४ औं
नेपालकी सरस्वती भट्टराईले महिला १ हजार ५ सय मिटर दौडमा १४ औं स्थान हासिल गरेकी छन् । सरस्वतीले निर्धारित दूरी ४ मिनेट ३४.२६ सेकेन्डमा पूरा गरिन् ।

पदक तालिका
राष्ट्र स्वर्ण रजत कांस्य जम्मा
१.चीन १११ ७५ ५३ २३९
२.जापान ५९ ४९ ६६ १७४
३.द.कोरिया ३९ ४६ ५५ १४०
४.इन्डोनेसिया ३० २३ ३७ ९०
५.इरान १९ १९ २० ५८
६.उज्बेकिस्तान १५ १९ १९ ५३
७. चिनियाँ ताइपेई १४ १७ २४ ५५
८. भारत १३ २१ २५ ५९
९.उ.कोरिया १२ ९ १२ ३३
१०.बहराइन १२ ६ ७ २५
११.कजाकिस्तान ११ ११ ३८ ६०
१२.थाइल्यान्ड ९ १४ ३६ ५९
१३.मलेसिया ५ ११ ९ २५
१४.कतार ५ ४ ३ १२
३३.नेपाल ० १ ० १

प्रतिक्रिया दिनुहोस्