प्रधानमन्त्रीद्वारा आत्मसमर्पण !



-पुष्करलाल श्रेष्ठ
देशलाई समृद्ध बनाउँछु भनी दृढ अठोट लिने कुनै पनि मुलुकका राष्ट्राध्यक्षको सबैभन्दा पहिलो प्राथमिकता समयको व्यवस्थापन हुन्छ । त्यसपछि मात्र उनीहरुले सम्बन्धित क्षेत्रका विज्ञहरुलाई राखेर देश विकासको योजना र खाका कोर्छन् ।

अनावश्यक र अनुत्पादक कुरामा एक सेकेन्ड खर्चिने समय पनि उनीहरुसँग हुँदैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादभिर पुटिन, जर्मनीका चान्सलर एन्जिला मार्केल, चीनका राष्ट्रपति सी जिङ पिङ आदि विश्वका चर्चित नेताहरुको दैनिकी कसरी बित्ने गरिरहेको छ भन्ने कुराको अध्ययन गर्दा पनि यो कुरा पुष्टि हुन्छ ।

भर्खरै सम्पन्न विश्वकप फुटबल प्रतियोगितामा आफ्नो मुलुकका खेलाडीहरुले अप्रत्यासितरुपमा प्रदर्शन गरिरहेको फुटबल खेल हेर्नसमेत रुसका राष्ट्रपति भ्लादभिर पुटिनले समय निकाल्न सक्नुभएन । यसका कारण उहाँको आलोचनासमेत भएको थियो ।

सिंगापुरको भाग्य बदल्ने ली क्वान यु र भूतपूर्व ब्रिटिस प्रधानमन्त्री मार्गरेट थ्याचरलगायत युरोपका राष्ट्राध्यक्षहरुको जीवनी पढ्दा पनि उनीहरुले ठीक समयमा उचित काम गर्नलाई नै पहिलो प्राथमिकता दिएको पाइन्छ । हाम्रा देशका प्रधानमन्त्री केपी ओलीजस्तो ३ घन्टा ढिलो कार्यक्रममा पुगेर पनि घन्टौं भाषण गरी आमन्त्रितहरुको समयसमेत अनावश्यकरुपमा बर्बाद गर्दैनन् युरोपका राष्ट्राध्यक्षहरु । प्रधानमन्त्री ओलीको यही शैलीलाई आफ्नै पार्टीका पूर्वप्रवक्ता नारायणकाजी श्रेष्ठले समेत सार्वजनिकरुपमै आलोचना गरिसक्नुभएको सबैमा विदितै छ ।

गाईजात्राका दिन सम्पादकहरुलाई बालुवाटारमा दिनुभएको तीनघन्टे प्रवचनमा प्रधानमन्त्री केपी ओलीले घुमाउरो शैलीमा अहिले सञ्चारमाध्यमकै कारण नेपाली जनतामा निराशा छाउन थालेका कारण सकारात्मक सन्देश मात्र पस्कन उपदेश पनि दिनुभएको रहेछ । सरकारी मुखपत्र गोरखापत्र दैनिकबाहेक गाईजात्राको भोलिपल्ट निस्केका अखबारहरुमा प्रधानमन्त्रीको गन्थनलाई त्यति महत्वका साथ प्रकाशित गरिएको पनि पाइएन । शायद प्रधानमन्त्रीबाट लेख्नयोग्य र सकारात्मक कुराहरु नपाएरै होला !

भर्खरकै कुरा गर्ने हो भने पनि प्रधानमन्त्री ओलीले केही मिडियाका सम्पादकहरुलाई आफ्नो निवास बालुवाटारमा बोलाएर तीन घन्टा प्रवचन दिनुभएको रहेछ, त्यो पनि गाईजात्राको दिनमा । आफ्ना अभिव्यक्तिहरु र कार्यशैलीका कारण पूरै गाईजात्रे शैलीमा देश चलिरहेकाले पनि उहाँले व्यस्त सम्पादकहरुको घन्टौं समय बर्बाद गर्न गाईजात्राकै दिन रोज्नुभएको होला ! आफूले शासन सम्हालेको ६ महिना बितिसक्दा पनि कुनै काम गर्न नसक्नुको कारणबारे सम्पादकहरुलाई प्रधानमन्त्री ओलीले दिएकोे बाहिर आएको स्पष्टीकरण सुन्दा गाईजात्रा प्रहसनमा कहिलेकाहीँ भद्दा हास्यव्यङ्ग्य प्रहसन सुनेका भन्दा केही फरक छुट्याउन नसकिने खालको देखिन्छ ।

गाईजात्राको दिन सम्पादकहरुसँग प्रधानमन्त्री ओलीले आसन्न बिमस्टेक बैठक, बालिका निर्मलाको बलात्कारसम्बन्धी कन्चनपुर घटना, नयाँ मुलुकी संहिता, संस्कृत विश्वविद्यालयका उपकुलपति र माओवादीका पूर्व–बाललडाकूलाई विमानस्थलबाटै फर्काइएको प्रकरण, माइतीघर मण्डलाको निषेधाज्ञा प्रकरणका कुरामा लामो समय लिएको देखिन्छ । साथै मुलकमा भइरहेको अपराध, हिंसा, भ्रष्टाचार, राजनीतिक अस्थिरता, लोकतन्त्र, समाजमा देखिएको वितृष्णा र देशकै विरुद्ध षड्यन्त्र भइरहेको आदि विषयमा पनि उहाँले सम्पादकहरुसँग घन्टौं समय बिताएको देखिन्छ ।

विषयवस्तु गम्भीर देखिए तापनि बाहिर आएको समाचार पढ्दा उहाँको प्रस्तुति सधैँको झैँ हल्काफुल्का नै देखिएको छ । प्रधानमन्त्री ओलीले आजसम्म कुनै काम गर्न नसक्नुको सबै दोष सरकारी कर्मचारी, अदालत, सुरक्षा निकाय, विश्वविद्यालय, अस्पताल, विरोधी राजनीतिक पार्टी र मिडियालाई दिनुभएको रहेछ । यी सबै बेथिति हटाउन नै जनताले उहाँलाई मुलुकमै सबैभन्दा बढी मत र उहाँको पार्टी नेकपालाई लगभग दुई तिहाइ बहुमत दिएर देशको बागडोर सुम्पेका हुन् ।

अहिले आएर दोष जति अरुलाई देखाई आपूm पन्छिन मिल्छ कि मिल्दैन भन्ने बारे त्यहाँ उपस्थित सम्पादकहरुले उहाँसँग चर्चा गर्नुभयो÷भएन अथवा एकोहोरो सुनेर मात्र बसिरहनुभयो भन्ने कुरा बाहिर आएन । तर पनि प्रधानमन्त्री ओलीले चाहिँ लामै समय लिएर यसो भन्नुभएछ– ‘नयाँ मुलुकी ऐन हामीले ल्याएको होइन । हामीले हटाएका सबै मान्छे अदालतले फिर्ता गरिदिन्छ । माइतीघर मण्डला निषेधाज्ञाको कुरा पनि तपाईंहरुकै सञ्चारमाध्यमबाट मात्र थाहा पाएँ । देशमा अपराध र राजनीतिक अस्थिरता विप्लव माओवादीले ल्याएको हो । कर्मचारीको टेबुलमा अन्डरपास चलेकै छ । सुरक्षा निकाय, विश्वविद्यालय र अस्पताललाई विश्वास गरेजस्तो काम हुँदैन । राम्रो काम गरेन भनेर कर्मचारी हटाउँदा फुत्त अदालत जान्छन् र अदालतबाट ‘यी लिएर आएँ’ भनेर आइहाल्छन् । अनि तपाईंहरु मैले केही गर्न नसकेको भनेर लेखिहाल्नुहुन्छ, मैले गर्ने के ?’

दुई तिहाईको स्पष्ट बहुमत भएका मुलुकका कार्यकारी अधिकारप्राप्त प्रधानमन्त्रीजस्तो व्यक्तित्वको यस्तो गैरजिम्मेवार र हल्काफुल्का टिप्पणी सुन्दा गाईजात्राको दिनमा बालुवाटारमा राम्रै प्रहसन हेरेर÷सुनेर सम्पादकहरु फर्केका होलान् भनी अनुमान लगाउन गाह्रो पर्दैन ।

यस्तै भर्खरै कन्चनपुरमा घटेको कहाली लाग्दो बलात्कार घटनाबारे सम्पादकहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले आपूm पहिले पूरै प्रहरीको भरमा परेको तर जनताले प्रहरीको अनुसन्धानलाई नपत्याएको देखिएपछि शंका लागेर सीआईबीको अर्को टोली खटाएको बताउनुभएको रहेछ । त्यसको निष्कर्ष नआउँदै पुलिसले एकजना गिरफ्तार गरेपछि बल्ल छानबिन बनावटी लागेको, अलिकति संदिग्ध देखिएको, मृतकका बुबालाई जेल बोलाएर अनेक प्रश्न गर्दै दुव्र्यवहार गरिएको, यो सुनेपछि त्यहाँका डीएसपी, एसपी, सीडीओ फिर्ता गरेर सहसचिवको नेतृत्वमा तीनजना डीआईजी राखी उच्चस्तरीय टोली पठाएको बारे पनि प्रधानमन्त्री ओलीले सम्पादकहरुसँग लामो गन्थन गर्नुभएको देखिन्छ ।

कसैले नभने पनि कन्चनपुर घटनाका पीडित बालिका निर्मला पन्तको परिवारलाई सरकारले राहत दिएको प्रधानमन्त्री ओलीले सगौरव बताएको देखिन्छ । तर, स्व. निर्मलाका पिता यज्ञराज पन्तले आफूले पैसा होइन न्याय मागेको भन्दै न्याय नपाएसम्म सरकारले दिएको १ रुपियाँ पनि नलिने बताएर सरकारको अकर्मण्यतामाथि हानेको झापडका बारे सम्पादकहरुलाई प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो कि भएन, त्यो भने थाहा पाउन सकिएन ।

भ्रष्टाचारको मामिलामा सधैँ शून्य सहनशीलता भनी भाषण गरिरहने प्रधानमन्त्री ओलीले आपूm प्रधानमन्त्री भएको ६ महिना बितिसक्दा पनि सरकारी कर्मचारीहरु टेर्दैनन् भन्न छोड्नुभएको रहेनछ । बरु यति धेरै वरिष्ठ सम्पादकहरुको अगाडि लाजै नमानीकन कलंकीको अन्डरपाससँग तुलना गर्दै सरकारी कार्यालयमा हुने अन्डर टेबुल पासको ठट्यौली पारामा बयान दिइरहेको पाइयो । यस्तो अन्डर पासचाहिँ मैले देखेको छैन, हामी कमिसन–घूस खाँदैनौं, सिरक–बर्को ओढेर वा लुकेर केही खाने हाम्रो चलन छैन भन्दै उहाँले आजकाल गाईजात्रा त्यति चल्दैन, त्यसैले गाईजात्राका नाममा रत्यौली खेल्छन् भनेर आलोचकहरुलाई व्यङ्ग्य गर्न पनि भ्याउनुभएछ । यसरी सम्पादकहरुलाई अगाडि राखेर भ्रष्टाचारमा आफूले नातावाद, कृपावाद, राजनीतीकरण गर्दिनँ त भन्नुहुन्छ तर संविधानअनुसार अख्तियार प्रमुख नियुक्ति गर्ने भाका नाघिसक्दा पनि अहिलेसम्म किन नियुक्ति नगरिएको भन्ने बारेचाहिँ सम्पादकहरुलाई केही बताउनुभएको समाचार पढ्न÷सुन्न पाइएन ।

‘कमाउ धन्दामा लाग्ने मान्छे मेरो समीपमा टिक्दैन, अड्दैन, उनीहरुलाई गाह्रो हुन्छ, किनभने म चिनिहाल्छु, शरीरमा अत्तर दलेपछि बासना त आइहाल्छ’ भनेर सम्पादकहरुको अगाडि गफ हाँक्ने प्रधानमन्त्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमान नचढेर कमाउनकै लागि व्यवसाय गरिरहेका निजी विमान कम्पनी हिमालयन एअरलाइन्सका मालिक आङछिरिङ शेर्पाको विमान चढेर राजकीय भ्रमण गर्नुहुन्छ । मार्सी चामलको बासनाको अगाडि दुर्गा प्रसाईंले लगाएको अत्तरको बासनासमेत चाल पाउनुहुन्न हाम्रा प्रधानमन्त्रीज्यू !

नयाँ मुलुकी ऐनसम्बन्धमा सम्पादकहरुलाई दिनुभएको प्रधानमन्त्री ओलीको बयानलाई त यो वर्ष गाईजात्रामा प्रदर्शन गरिएको उत्कृष्ट प्रहसन भन्दै पुरस्कार दिनुपर्ने स्तरकोे छ । कानुन बनाउने संसद्को आफैं जिम्मेवार संसद् सदस्य भएर आफ्नै सहमतिमा लालमोहर लागेको नयाँ मुलुकी ऐनमा प्रेसको विरोध हुन थालेपछि अहिले आएर सम्पादकहरुको अगाडि मुलुकी संहितामा ध्यानै दिन पाइनँ भन्दै रोइकराइ गर्नुहुन्छ । यो मुलुकी ऐन पहिलेकै सरकारले बनाएको जस्तो कुरा गर्नुहुन्छ । अहिलेको सरकारले त सहजीकरण मात्र गरिदिएको रे ! चुनाव प्रचारमा हिँडिराखेकाले बहसमा भाग लिनै भ्याइएन रे ! यो भन्दा मजाक अरु के हुन सक्छ ?

अर्को प्रसंग अझ रमाइलो छ । माइतीघर मण्डलाको निषेधाज्ञाबारे सम्पादकहरुकै कृपाले सञ्चारमाध्यममा आइसकेपछि मात्र थाहा पाएको बताउने प्रधानमन्त्री ओलीले भोलि कुनै बेला गृहमन्त्री रामबहादुर थापालाई ‘मैले बनाएको गृहमन्त्री नै होइन’ भन्न बेर नलगाउनुहोला जस्तो छ । यो कुराको संकेत त उहाँले पूर्वमाओवादी लडाकू लेनिन विष्टलाई अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले फर्काएको घटनालाई लिएर २४ घन्टाभित्र जवाफ दिन आफ्नै सरकारको मातहतमा रहेको गृह मन्त्रालयसँग मागेको स्पष्टीकरणबाटै दिइसक्नुभएको छ ।

हिजो मदन भण्डारीको हत्या भएको आरोप लगाउँदै असन, भोटाहिटीको झ्यालमा बसिरहेका निर्दोष मान्छेहरुसमेत गोली लागेर मर्नुपर्ने गरी ताण्डव नृत्य मच्चाएका प्रधानमन्त्री ओली अहिले सन्त ज्ञानेश्वर बनेर माइतीघर मण्डलालाई शान्तिको कामना गर्ने प्रतीक बनाऔं भन्नुहुन्छ । त्यहाँ प्रदर्शन गर्दा ट्राफिक जाम हुन्छ रे ! पूरै देश उज्यालो हुने अरुण तेस्रो बनाउन नदिएर हिजो देशभर जाम हुने गरी प्रदर्शन गरी देशलाई वर्षौंसम्म अँध्यारोमा जाकेको कुरा प्रधानमन्त्री हुनेबित्तिकै बिर्सनुभएछ भनी खोई कसले पत्याउला र !

चुनावअघि उहाँले दिनुभएका भाषणहरुको यूट्युब र अहिलेको उहाँको कार्यशैली हेर्दा जो–कोहीलाई पनि त्यत्तिकै लाज लागेर आउँछ । चुनावका बेला ५० वर्षपछाडिसम्मको देश विकासको सपना देखाउँदै भाषण गर्ने प्रधानमन्त्री ओली आज आफ्नो कमजोरीको ढाकछोप गर्न प्रधानमन्त्री बनेकोे ६ महिना नबित्दै ‘गम्भीर षड्यन्त्र’ देख्न थालिसक्नुभएको छ । हिजो स्व. गिरिजाप्रसाद कोइराला आफ्ना कर्तुतहरु लुकाउन ‘ग्रान्ड डिजाइन’ भन्दाभन्दै त्यसको कुनै पर्दाफास नै नगरी बितेर जानुभयो । अहिले प्रधानमन्त्री ओली पनि गिरिजाप्रसादकै शैलीमा गम्भीर षड्यन्त्र भन्न थालिसक्नुभयो ।

दुई तिहाइको स्पष्ट बहुमत प्राप्त प्रधानमन्त्री आफैं कसको गम्भीर षड्यन्त्रमा पर्नुभएको हो भन्ने कुराचाहिँ स्पष्टसँग बताउनुहुन्न । हुँदा–हुँदा आफ्नै सहयात्री माओवादीलाई समेत सम्पादकहरुसामु विगतमा राजदरबारसँग साँठगाँठ गरेर हिँडेको आरोप लगाउन हिचकिचाउनुहुन्न । जो व्यक्ति अहिले त्यही माओवादी विद्रोहका कारण संघीय नेपालको पहिलो प्रधानमन्त्री हुने अवसर पाइरहनुभएको छ, उही व्यक्ति आफ्ना सहयात्रीलाई त्यत्रो सम्पादकहरुका अगाडि उडाउन छोड्नुहुन्न । ‘बयलगाडा चढेर अमेरिका पुग्न सकिँदैन’ भनी आफूले संघीयताको धज्जी उडाउने गरेको पहिलाको कुरासमेत बिर्सिसकेको जस्तो गरी उहाँले धाराप्रवाह थप अभिव्यक्ति दिएको देखिन्छ ।

गाईजात्राका दिन सम्पादकहरुलाई बालुवाटारमा दिनुभएको तीनघन्टे प्रवचनमा प्रधानमन्त्री केपी ओलीले घुमाउरो शैलीमा अहिले सञ्चारमाध्यमकै कारण नेपाली जनतामा निराशा छाउन थालेका कारण सकारात्मक सन्देश मात्र पस्कन उपदेश पनि दिनुभएको रहेछ । सरकारी मुखपत्र गोरखापत्र दैनिकबाहेक गाईजात्राको भोलिपल्ट निस्केका अखबारहरुमा प्रधानमन्त्रीको गन्थनलाई त्यति महत्वका साथ प्रकाशित गरिएको पनि पाइएन । शायद प्रधानमन्त्रीबाट लेख्नयोग्य र सकारात्मक कुराहरु नपाएरै होला !

यस स्तम्भकारको करिब ४ दशकको पत्रकारिता जीवनमा आफ्नै देश नेपालबाहेक अमेरिका, युरोपेली राष्ट्रहरु, अफ्रिका, दक्षिण अमेरिका, जापान, चीन, भारतलगायत झन्डै ५० राष्ट्रका राष्ट्राध्यक्ष तथा मन्त्रीहरुसँगको अन्तरक्रियामा बस्ने अवसर प्राप्त भइसकेको छ । यस्तो अन्तरक्रियामा आफूले राष्ट्रका लागि गरेका योगदानहरु र उपस्थित विदेशबाट आएका पत्रकारहरुका देशका बारे जिज्ञासा लिनेबाहेक फाल्तु कुराहरु गरेर बस्न उनीहरुसँग एक घन्टा पनि समय हुँदैन ।

हो, जनतासँग आपूmले बाचा गरेअनुसार काम गर्न नसकेको बोध भए मात्र यसरी वरिष्ठ सम्पादकहरुलाई राखेर काम गर्न नसकेकोमा नैतिकताका कारण राजीनामा दिन लागेको जानकारी गराउँछन् । हाम्रा प्रधानमन्त्री केपी ओलीले सम्पादकहरुसँगको अन्तरक्रियामा पनि समाजमा निराशा छाइसकेको कुरालाई पटक–पटक दोहो¥याउनुको अर्थ न कतै उहाँले पनि घुमाउरो पाराले आत्मसमर्पण गरिसक्नुभएको त होइन ?

प्रतिक्रिया दिनुहोस्