संस्थागत सुझाव पठाउन आग्रह



काठमाडौं, (नेस) । नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिले विधानमा गरिनुपर्ने संशोधन र परिमार्जनका लागि संस्थागत सुझाव पठाउन आग्रह गरेको छ ।

विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिएअनुसार पार्टी निकट सबै भ्रातृ एवं शुभेच्छुक संघसंस्था र विदेशस्थित सबै जनसम्पर्क समितिबाट यही भदौ २१ गतेभित्र केन्द्रमा प्राप्त हुने गरी संस्थागत राय सुझाव पठाउनका लागि अनुरोध गर्ने समितिले निर्णय गरेको छ ।

नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिको कार्यविधि २०७५ लाई स्वीकृत गरिएको छ । समिति गठन गर्ने बेला समितिलाई नै कार्यविधि बनाउन अधिकार दिएको थियो । नेपाली कांग्रेसको विधानमा गरिनुपर्ने संशोधन र परिमार्जनका विषयमा नेपाली कांग्रेस कार्यसमितिका पदाधिकारी एवं सदस्य, नेपाली कांग्रेस संघीय संसदीय दल, नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलबाट लिखित राय सुझाव पठाउन पनि समितिले अनुरोध गरेको छ ।

आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा हुने महासमिति बैठकको मुख्य एजेन्डा विधान संशोधन तथा परिमार्जनका लागि समितिले मस्यौदा तयार पार्दै छ ।

प्रतिक्रिया दिनुहोस्