स्थानीय निकाय र निकुञ्जबीच तनाव



कृष्णउदास खनाल, वीरगन्ज
पर्सा राष्ट्रिय निकुञ्जले ठोरी गाउँपालिकाको ट्रिपर र ट्रयाक्टर नियन्त्रणमा लिएपछि स्थानीय र निकुञ्जवीचमा तनाव पैदा भएको छ ।
ठोरी गाउँपालिका कार्यालयले वडा न. ५ सुवर्णपुरमा आफ्नै डोजर, ट्रिपर र ट्याक्टर प्रयोग गरेर सडक मरम्मत गरिरहेको अवस्थामा पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत गडवालाइन पोस्टबाट खटिगएको सेनाको टोलीले ठूलो बाघमोर्चा गाउँको माझबाट ति साधनहरु नियन्त्रणमा लिएपछि तनाब शुरु भएको हो ।

अविरल वर्षका कारण ठोरी गाउँपालिका यातायात पहुचबाट बिच्छेद भएको अवस्थामा बागमोर्चा खोलाबाट आवश्यक गिट्टी वालुवा झिकेर सडक मरम्मत गर्दा निकुञ्जले गाउँपालिकाको ट्रिपर ट्रयाक्टर नियन्त्रणमा लिएपछि निकुञ्जको यो कदमको सर्वत्र आलोचना गर्न थालिएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने खोलाबाट अनुमतिबिना ग्रेभेल निकालेकोले उपकरण नियन्त्रणमा लिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । तर ठोरी गाउँपालिका अध्यक्ष पि.एल.श्रेष्ठले वर्षाको कारण बिग्रेको सडक जनताको सहभागितामा मरम्मत गरिएको बताए ।उनले सडक सम्याउदा चाहिएको २/४ टिप ग्राभेल गाउँकै वीचको सडक छेउवटा झिक्दा आरक्षले जनआवश्यकतालाई नजरअन्दाज गरेर शासकीय दम्भ देखाएको टिप्पणी गरे ।

गएको जेठ २० देखी २४ सम्म निकुञ्ज क्षेत्र भित्र रहेको ओडार खोलाबाट एक्साभेटर प्रयोग गरे अनधिकृत रुपमा गिट्टी वालुवाको उत्खनन् हुदा निकुञ्जले कुनै हस्तक्षेप नगरेको स्थानीयको भनाइ छ । हुलाकी सडकको निर्माणको ठेक्का लिएको बानिया निर्माण सेवा नेपालको राजनीतिका एक हस्ती भएकोले पनि निकुञ्जले कुनै प्रतिक्रिया नदेखाएको स्थानीयको आरोप छ ।

पछिल्लो समय वर्षा सुरु भएसंगै ठोरी गाउँपालिकाका कच्ची सडकमा पानी जमेर खाल्डाखुल्डी बन्न थालेपछि गाउँपालिकाले बाटो ग्राभेलिङको काम थालेका थिए । हुलाकी सडक पानी पर्ने बित्तिकै हिलो हुने र आवतजावत नै गर्न नसकिने भएपछि सो सडकको विकल्पका रुपमा रहेको ठुलोबाघमोर्चाबाट ठोरी ४ बिशालचोकजाने सडक बर्षाको पानीले भत्काएर सवारी संचालन नै गर्न नसकिने भएपछि गाउँपालिकाले सडक मर्मत गरेर सुचारु गराउन थालेक हुन् ।

प्रतिक्रिया दिनुहोस्