नयाँ मुलुकी ऐनले क्यारिकेचर गर्न रोक्ने नरोक्ने अन्योल



-रश्मी थापा

भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐन २०७४ ले हास्यव्यंग्य विधाका कलाकारमा अन्योल बढाएको छ। मुलुकी ऐन २०७४ को मुलुकी देवानी (संहिता) ऐनको दफा २१ अन्तर्गत खण्ड (घ) मा सम्बन्धित व्यक्तिको मञ्जुरीबिना कसैको आकृति वा तस्वीर खिचेमा तथा खण्ड (ङ) मा अरूको नाम, आकृति, तस्वीर वा आवाजको नक्कल गरी सार्वजनिक गरेमा गोपनीयताको अधिकार अतिक्रमण भएको मानिने उल्लेख भएको पाइएपछि हास्यव्यंग्य विधाका कलाकारहरू अन्योलमा परेका हुन्। तर उपदफा (१) को खण्ड (घ) वा (ङ) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले साहित्यिक वा कलात्मक प्रयोजन वा सार्वजनिक हितका लागि ती खण्डहरूमा लेखिएको कुनै काम गरेमा गोपनीयताको अधिकार अतिक्रमण भएको मानिने छैन भन्ने उल्लेख छ। यी दफाहरूका कारण हास्यव्यंग्य कलाकारमा अन्योल देखिएको हो।

हास्य अभिनेता सन्तोष पन्त प्रजातान्त्रिक शासन व्यवस्था भएको राज्यमा कसैको नक्कल गर्न नपाइने ऐन कानुन हुनु ठीक नभएको बताउँछन्। ‘पहिले पञ्चायती शासनकालमा राजपरिवारका सदस्यहरूको क्यारिकेचर गर्न पाइँदैनथ्यो। तर क्यारिकेचर नै गर्न नहुने भन्नेचाहिँ थिएन। जुन व्यवस्था भए पनि क्यारिकेचर नै गर्न नपाउनेचाहिँ राम्रो कुरा होइन। क्यारिकेचरको नाममा अरूको बेइज्जती हुने काम भने कसैले गर्नुहुँदैन’, पन्त भन्छन्– ‘यदि कसैले प्रधानमन्त्री केपी शर्मा ओलीको क्यारिकेचर भनेर एउटा ठिटीसँग नग्न अवस्थामा स्विमिङ गरेको क्यारिकेचर ग¥यो भने त्यसले पक्कै राम्रो सन्देश दिँदैन। अरूको इमेज नबिग्रने गरी सन्दर्भअनुसार क्यारिकेचर गर्दा फरक पर्दैन। अहिले प्रजातन्त्रमा स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा विकृति फैलिइरहेको छ। त्यस्ता विकृतिलाई रोक्न ऐन बनाइएको होला। क्यारिकेचर गर्नु भनेको आफ्नो ट्यालेन्ट प्रस्तुत गर्नु हो। सही ढंगमा कला प्रस्तुत गर्नेहरूका लागि यो ऐन राम्रो हो। यसले हास्य क्षेत्रलाई असर गर्दैन। तर यदि क्यारिकेचर नै गर्न नदिने हो भने त अन्य बाटाहरू पनि छन्।’

हास्यव्यंग्यकार मनोज गजुरेलको बुझाइमा सामाजिक सञ्जालमा हुने गरेका विकृतिलाई नियन्त्रण गर्न मात्र सरकारले यस्तो कानुन ल्याएको हो। ‘हास्यव्यंग्यलाई नियन्त्रण गर्न यो कानुन ल्याइएको होइनजस्तो लाग्छ। तर यदि शासकलाई चित्त बुझेन र उनीहरूको हातमा प¥यो भने यो कानुनको दफा प्रयोग गरेर नियन्त्रण गर्न सक्ने खतरा छ। हामी त्यो खतरालाई चिर्न सक्छौं। हामी कहिल्यै पनि कर्मबाट पछाडि हटेका छैनौं’, मनोजले नेपाल समाचारपत्रसँग कुरा गर्र्दैै भने– ‘पञ्चायत व्यवस्थामा पनि हास्यव्यंग्य मरेन, शाही शासन कालमा पनि जीवित थियो।

भारतीय नाकाबन्दीको बेला पनि भारतीय दादागिरीविरुद्ध अन्तर्राष्ट्रिय मञ्चमा हास्यव्यंग्य प्रस्तुत गरेका थियौं। हास्यव्यंग्यकर्मीले जस्तो राज्य व्यस्थामा पनि आफ्नो धर्मकर्म बचाएर हिँडेका छन्। उनीहरूले जहिले पनि नागरिक दायित्वबोध गर्दै कानुनको दायराभित्र रही अनुशासित भएर आफ्नो काम गरेका छन् र गरिरहनेछन्।’ मनोजले थपे– ‘नेताहरूको क्यारिकेचर गर्नु नराम्रो काम होइन, नेता व्यक्ति होइन संस्था हो। संस्थाको व्यवस्था परिवर्तनका लागि व्यंग्य गर्न नपाइने भन्ने हुँदैन। भोलिका दिनमा पनि राज्यले त्यति तल्लोस्तरमा झरेर कारबाही गर्छजस्तो लाग्दैन। तल्लो दफामा सार्वजनिक कलात्मक वा सार्वजनिक हितको लागि गरेमा गोपनीयताको हक अतिक्रमण भएको मानिनेछैन भनेर कलाकारका लागि सम्बोधन गरिएको छ। यदि हास्यव्यंग्य वा क्यारिकेचरको नाममा हामीलाई कारबाही भएको खण्डमा हाम्रो यही तर्क हुनेछ। यदि कारबाही गर्न खोजियो भने हामी अभैm सशक्त ढंगले अगाडि आउनेछौं।’

अर्का हास्य कलाकार शिवहरि पौडेल स्वस्थ मनोरञ्जनका लागि कसैको क्यारिकेचर गर्नु मानिसको खुबी भएको र ऐनले यस्तो कुरालाई रोक्छ भने कलामाथि नै लगाम लगाइएको ठहरिने बताउँछन्। ‘स्वस्थ मनोरञ्जनका लागि यो नेताले यसरी बोल्छ, यो जनावर यसरी कराउँछ भनेर नक्कल गर्दा केही फरक पर्दैन। छिमेकी देश भारतलगायत संसारकै सबैभन्दा प्रजातान्त्रिक देश अमेरिकामा पनि यस्तो गर्न रोक लगाइएको छैन। यदि कसैलाई आघात पार्ने खालका क्यारिकेचर गरिन्छ भने त्यो पक्कै पनि राम्रो काम होइन। तर कलाकारले कलात्मक र सही हिसाबले कला देखाएर जनमानसमा पपुलारिटी बटुल्न पाउनुपर्छ।

त्यो जहाँ पनि पाइन्छ’, शिवहरिको भनाइ छ– ‘यदि नपाइने हो भने कयारिकेचर मात्र होइन, कलाकारको अन्य विकल्प पनि छन्। पञ्चायतीकालमा पनि क्यारिकेचर गर्न पाइँदैन थियो। तर पनि हास्य कलाकारहरू बाँचेका थिए। यो ऐनको दुरुपयोग भएको खण्डमा हास्यव्यंग्य क्षेत्रलाई अप्ठ्यारोमा पार्न सक्छ।’ हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले यो ऐनले कलाकारलाई अप्ठ्यारोमा नपार्ने र यदि हास्यव्यंग्यलाई प्रतिबन्ध नै लगाउने अवस्था आएमा कलाकारहरूले यसविरुद्ध आवाज उठाउनुपर्ने बताउँछन्। ‘अपराध नियन्त्रण गर्न जरुरी छ।

हास्यव्यंग्यको दुरुपयोग गर्नेहरूका लागि यो कानुन ल्याइनु ठीक हो। किनभने हास्यव्यंग्यको नाममा जे पनि गर्नु त भएन, त्यसको पनि शैली हुन्छ। क्यारिकेचर नै गर्न नपाइने त होइन। तर केकस्तो गर्न नपाइने हो त्यो स्पष्टरूपमा आएको छैन, व्याख्या गरिएको छैन। मैले गाईजात्राको दिन पनि हास्यव्यंग्य प्रस्तुत गरेको थिएँ। तर त्यस्तो अवरोध भएन’, जितुले भने– ‘राम्रो शैलीमा व्यंग्य प्रस्तुत गर्दा यो ऐनले हास्य क्षेत्रलाई बाधा गर्दैन। तर अपराध नियन्त्रण गर्नका लागि भने यो राम्रो कानुन बनेको छ।’

यो ऐन अन्योल सृजना गर्ने किसिमको भएकाले यसको विरोधमा गइहाल्ने विचार नभएको र प्रधानमन्त्री नै हास्यप्रेमी भएकाले यो कानुनले हास्य कलाकारहरूलाई अप्ठ्यारो नपार्ने बताउँछन् हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’। ‘यदि अरूको नाम, आकृति, तस्वीर वा आवाजको नक्कल गरी सार्वजनिक गरेमा गोपनीयताको अधिकार अतिक्रमण भएको मानिने भए यो ऐनले पनि हास्य कलाकारको अधिकारको अतिक्रमण भएको मानिने छ’, केदारले ठट्यौली शैलीमा भने– ‘यो ऐन सरकारले उदण्ड व्यक्तिलाई तह लगाउनका लागि ल्याएको हुनुपर्छ। तर अर्को दफामा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले साहित्यिक वा कलात्मक प्रयोजन वा सार्वजनिक हितका लागि ती खण्डहरूमा लेखिएको कुनै काम गरेमा गोपनीयताको अधिकार अतिक्रमण भएको मानिनेछैन पनि भनिएको कारण यो ऐन नै अन्योलपूर्ण छ।

यसको मतलब सरकारका विरुद्ध बोलेको खण्डमा यसले कारबाही गर्ने र सपोर्ट गरेमा छोड्न पनि सकिन्छ भन्ने बुझिन्छ। यो कानुन नै अन्योलपूर्ण भएकोले हामीले अहिले के गर्ने भन्नेबारेमा हामीले सोचेका छैनौं, बरु डेलिगेसनमा जान सकिन्छ।’
अधिवक्ता तथा कानुनी पत्रकार विकास भट्टराई ऐन अन्योलपूर्ण किसिमको भएकाले अदालतले कसरी व्याख्या गर्छ, त्यसमा भर पर्ने बताउँछन्। ‘यो नयाँ ऐन भएकाले यस्तो विषयमा अहिलेसम्म मुद्दा परेको छैन र त्यस विषयमा बहस पनि भएको छैन। यदि मुद्दा परेमा अदालतले के व्याख्या गर्छ त्यसमा भर पर्छ।’ –उनले भने।

अर्का अधिवक्ता तथा फिल्मकर्मी कृष्ण ढुंगाना यो ऐन कलाकार र प्रेसलाई पनि कुण्ठित गर्ने खालको भएको बताउँछन्। ‘साहित्यिक वा कलात्मक प्रयोजन वा सार्वजनिक हितका लागि अरूको नाम, आकृति, तस्वीर वा आवाजको नक्कल गरी सार्वजनिक गरेमा गोपनीयताको अधिकार अतिक्रमण भएको मानिनेछैन भनिएको छ। तर कस्तो कामलाई कलात्मक प्रस्तुति भन्ने व्याख्या गरिएको छैन। हेर्ने हो भने पत्रकारिता पनि कलात्मक काम हो, कलाकारिता पनि कलात्मक काम हो। त्यसैले यो ऐन नै कन्फ्युजन खालको छ। यस्तै हो भन्न सकिने स्थिति छैन’, उनले भने– ‘मुलुकी फौजदारी संहिताले पत्रकारिता र कलाकारिताको दायरालाई संकुचित पार्न खोजेकै देखिन्छ। तर देवानी संहिताको नागरिक अधिकारसम्बन्धी व्यवस्थाले केही राहत दिन खोजेको देखिन्छ।’

शासकलाई चित्त बुझेन भने यो कानुनको दफा प्रयोग गरेर नियन्त्रण गर्न सक्ने खतरा छ
मनोज गजुरेल

 

कानुन नै अन्योलपूर्ण भएकाले के गर्ने हामीले सोचेका छैनौं
केदार घिमिरे
अदालतले के व्याख्या गर्छ त्यसमा भर पर्छ
विकास भट्टराई
क्यारिकेचर नै गर्न नदिने हो भने अन्य बाटा पनि छन् 
सन्तोष पन्त
कलाकारले कलात्मक हिसाबले जनमानसमा पपुलारिटी बटुल्न पाउनुपर्छ 
शिवहरि पौडेल
अपराध नियन्त्रण गर्नका लागि राम्रो कानुन बनेको छ 
जितु नेपाल
फौजदारी संहिताले संकुचित पार्न खोजेकै देखिन्छ, देवानी संहिताको नागरिक अधिकारसम्बन्धी व्यवस्थाले राहत दिन खोजेको देखिन्छ 
कृष्ण ढुंगाना

प्रतिक्रिया दिनुहोस्