पत्रकार मञ्चको अध्यक्षमा बिद्रोही



काठमाडौ । नेपाल पत्रकार महासंघको एशोशियट शाखा नेपाल पत्रकार मञ्चको मंगलबार सम्पन्न पाँचौ महाधिवेशनले युवराज विद्रोहीको नेतृत्वमा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ ।

काठमाडांैमा सम्पन्न मञ्चको पाँचौ महाधिवेशनबाट उपाध्यक्षमा ललितध्वज खड्का, महासचिवमा विमलकुमार थापा, सचिव प्रितमसागर कर्माचार्य तथा कोषाध्यक्षमा यज्ञबहादुर ढकाललाई निर्वाचित गरेको छ भने सदस्यहरुमा विष्णुलाल श्रेष्ठ, प्रज्ज्वल थापा, राजु भण्डारी, उदयनारायण भट्टराई, जितेन्द्र श्रेष्ठ (जेन), लक्ष्मण पन्थी, कमला नेपाल, मनिष अबस्थी, पासाङ शेर्पा, मनुका कँुवर, सुनिता लोहनी तथा बसन्त शर्मा चयन हुनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि इजरायलका राजदूत बेन्नी ओमेरले नेपाल र इजराइलबीचको कुटनीतिक सम्बन्धले दुई देशबीचको आर्थिक विकासमा योगदान पु¥याउन मद्धत पुगेको बताउनुभयो । उहाँले इजरालमा प्रयोग हुँदै आएको आधुनिक कृषि प्रणालीबाट नेपालले पनि धेरै सिक्न सक्ने बताउनुभयो । ‘केही समययता नेपाली युवाहरु इजरालयमा पुगेर त्यहाँको आधुनिक कृषि प्रविधिबाट सिकेर नेपालमा पनि त्यसको व्यवसायिक प्रबद्र्धन गर्न थालेका छन् ।’राजदूत ओमेरले बताउनुभयो ।

कार्यक्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नको निम्ति जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताउनुभयो । विगतमा परिवर्तनका निम्ति नेपाली सञ्चार जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै आचार्यले व्यवसायिक पत्रकारिताको निम्ति जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताउनुभयो ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले मुलुकी संहिता जारी भएपश्चात स्वतन्त्र पत्रकारितामा अंकुश लाग्न सक्ने आशंका बढेको बताउनुभयो । उहाँले भन्नुभयो,‘अहिले जारी मुलुकी अपराध संहिताले स्वतन्त्र प्रेसमाथि सोझै अंकुश लगाउन सक्ने देखिएको छ । यसलाई सच्याउन महासंघ सरकारसँग माग गर्दछ ।’

नवनिर्वाचित अध्यक्ष युवराज विद्रोहीले पत्रकारहरुको हकहित र अधिकार संरक्षण गर्ने सन्दर्भमा नेपाल पत्रकार मञ्च सदैव क्रियाशील रहने बताउनुभयो । उहाँले मुलुकमा जारी कुनै पनि कानुनले प्रेस स्वतन्त्रालाई हनन् गर्न नमिल्ने बताउनुभयो ।
‘यदि स्वतन्त्र प्रेसको विपक्षमा कुनै पनि कानुन आउछ भने त्यसको कडा प्रतिपाद गर्न महासंघ लगायत पत्रकार मञ्च सदैव क्रियाशील हुनेछ ।’ उहाँले भन्नुभयो ।

सोही कार्यक्रमा प्रताप स्मृति पत्रकारिता पुरस्कारबाट एशिया प्यासिफिक दैनिकमा कार्यरत पत्रकार आस्मिका गुरागाईंलाई सम्मान प्रदान गरिएको थियो भने अग्रजपत्रकारद्वय अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारी तथा वरिष्ठ पत्रकार विष्णुलाल श्रेष्ठलाई अग्रज पत्रकार सम्मानबाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्