बलात्कारीलाई कडा कारबाही गर



यति बेला देश हत्या, हिंसा र बलात्कारका घटनाले जर्जर बनेको छ । घटना तुलनात्मकरुपमा बढेका हुन् वा सहजै बाहिर आएका हुन्, त्यो अध्ययनको पाटो हो । तर केही घटनाहरु यसरी आएका छन् कि ती घटनाको प्रकृतिले नेपाली समाज कति निर्दयी र हिंस्रक बनिरहेको छ भन्ने देखाएको छ ।

यद्यपि यस अघि धेरै घटनाहरु लुकेर बाहिर आउने अवसरसमेत पाएका थिएनन् । सञ्चार, सामाजिक सञ्जाल र नेपाली समाजको सचेतनाको कारण आपराधिक घटनाहरु सार्वजनिक गर्न सहज भएको छ । अनुसन्धानको लागि नेपाल प्रहरीले पनि धेरै सुधार गरेर अप्ठ्यारो अवस्थामा पनि अनुसन्धान गरेको छ । यो सबै परिणतीले पीडितले राहत पाउने अवसर पनि बनेको छ ।

तर केही यस्ता प्रतिनिधि घटना छन्, जहाँ नेपालका सबै सुरक्षा निकाय पनि चुकेका छन् । मौन छन् वा अनुसन्धान गर्नै सकेका छैनन् ? त्यो नेपाली जनताले बुझ्न सकेका छैनन् । कन्चनपुर घटना यसको एउटा जिउँदो उदाहरण हो । यहाँ नेपालको प्रहरी निकायको वरिष्ठ अधिकारी निलम्बन गर्नेसम्मको घटना भएको छ । चौबीस घन्टामै सिडिओ र प्रहरी प्रमुख फिर्ता बोलाउनेसम्मको सरकारले काम गरेको छ ।

 

यसरी हेर्दा सरकार निकै चनाखो छ भन्ने पनि देखिन्छ । तर सरकारकै सुरक्षा निकाय भने निलम्बन हुने काम किन गरिरहेको छ ? अथवा यो कतै सरकारको देखाउने खेल त होइन ? एउटा बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रमुख दोषी देखाइएको व्यक्ति त्यहीँको समाज मान्न तयार छैन । उनीहरुले मुख्य अपराधी अर्कै छ भन्छन् । सरकार सुरक्षा प्रमुखहरुलाई फिर्ता र निलम्बन गरेर बसेको छ ।

यहाँ सरकारका मन्त्रीहरुलाई थाहा भएको र अनुसन्धान गर्ने प्रहरी अधिकारीहरुलाई थाहा नभएको अवस्था हो ? किन यस्ता घटना भएका हुन् ? त्यति मात्र नभएर घटनापछिको आन्दोलनमा पनि बालबालिकाकै हत्या भएको छ ।

आन्दोलनमा ढुंगामुढा गरेको व्यक्तिलाई गोली लागेको भए सामान्यरुपमा पचाउने अवस्था हुन्थ्यो । तर त्यहाँ संलग्न नभएको, हुन नसक्ने अवस्थाको मानिस मारिनुले राज्य संयन्त्र कति गैरजिम्मेवार छ भन्ने प्रस्ट हुन्छ । त्यति मात्र होइन, नेपालको प्रहरी, सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानमा घटनापूर्व अनुसन्धान गर्ने संयन्त्र पनि छ । पूर्वतयारी गर्ने तथा घटनालाई पहिले नै रोक्नेसम्मका संयन्त्र बनाइएको छ । तर कन्चनपुर घटनापछि त्यस्ता घटनामा राज्य अलि गम्भीर होलाभन्दा फेरि पोखरालगायतका स्थानमा पनि त्यस्तै प्रकृतिका घटना झन् दोहोरिएका छन् ।

अनुसन्धानले कतिपय घटना पुष्टि हुन बाँकी छन्, तर आमजनतामा फेरि उस्तै प्रकृतिका घटना दोहोरिएकोले सन्त्रास फैलिरहेको छ । आमजनताले दबाबमूलक कार्यक्रम गर्दा उल्टै गोली खानुपर्ने अवस्था भैरहेकै अवस्थामा फेरि यस्ता घटना दोहोरिनुले आमनागरिकले सुरक्षाको प्रत्याभूति कहिले महसुस गर्ने हो ? किन राज्यले आफ्नो प्रशासन, कानुन र सुरक्षालाई मजबुत बनाउन नसकेको हो ? यो समय देशलाई सुशाशन र समृद्धिमा लैजानेबाहेक अरु कुनै उद्देश्य नभएकै समयमा यति धेरै समस्या आउँछन् भने नेपाली जनताले सुरक्षा, न्याय र कानुनी शासनका लागि कुन युग, कुन सरकार पर्खेर बस्नुपर्ने हो ?

देशभर बढिरहेको बलात्कारका घटनाका विषयमा सडकदेखि सदनसम्म जनआक्रोश बढेको छ । कन्चनपुरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सरकारले गम्भीर ढंगले छानबिन नगरेको प्रकरण एक दृष्टान्त हो । उक्त घटनाप्रति राज्य गम्भीर हुन नसक्दा घटनाले अनपेक्षित मोड लिन पुग्यो ।

बालिका बलात्कारका घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग चौतर्फी बढिरहेका बेला उक्त घटनामा प्रहरीको संवेदनशीलता नदेखिनु आपत्तिजनक कुरा हो । दोषीमाथि कारबाहीको माग गरी जनता सडकमा ओर्लिएपछि प्रहरीले गोली बर्सायो । सो घटनाप्रति प्रहरीले बेलैमा आवश्यक संवेदनशीलता नदेखाउँदा प्रहरीको कार्यक्षमतामाथि नै जनविश्वास गुम्न पुग्यो ।

दोषी पत्ता लगाउन नसकेको र जनतामाथि दमन गरेको भन्दै संसद्मा समेत प्रहरीको तीव्र आलोचना बढेको छ । स्थानीयहरुसमेत घटनाको अनुसन्धानमा प्रहरीको भूमिका शंकास्पद रहेको भन्दै आक्रोशित भएका छन् । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक बालकले अनाहकमा ज्यान गुमाउन पुगे । स्थिति गम्भीर मोडमा पुगेको छ । स्थानीयले राज्यलाई दबाबस्वरुप प्रदर्शन व्यापक बनाएका छन्, प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । प्रहरीले अपराधी जोगाउन खोजेको आरोप चिर्न पनि प्रहरी प्रशासन सक्रिय र संवेदनशील बन्नै पर्छ ।
– सुरज चापागाईं, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्