फष्ट लेडीहरुलाई स्वागत गर्न पाटन दरबार स्क्वायर आतुर



सुनील महर्जन, ललितपुर
बिहीबार र शुक्रबार काठमाडौमा आयोजना हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने फस्ट लेडीहरुलाई ललितपुरको पाटन दरबार स्क्वायरमा सांस्कृतिक झलकहरु देखाईने भएको छ ।

सम्मेलनमा सहभागी हुन आउने फस्ट लेडीहरुले शुक्रबार पाटन दरवार स्वायरदेखि गोल्डेन ट्याम्पलमा तीन घण्टाको समय बिताउने भएका छन । त्यस क्रममा विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्र, गोल्डेन टेम्पलको नाउंले प्रसिद्ध हिरण्यवर्ण महाविहारको अवलोकन कार्य तालिका रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

फस्ट लेडीहरु शुक्रबार बिहान १० बजेपछि पाटन दरबार क्षेत्र अवलोकन गर्न आउने कार्यक्रम रहेको उहांले जानकारी दिनुभयो । त्यस क्रममा अतिथिहरुलाई चर्या नृत्य, कुमारी नृत्य,परम्परागत धिमे बाजा, धा बाजा देखाइने भएको छ । ललितपुर महानगरपालिका १६ वडाले नाचका लागि यहांको परम्परागत गुठी, विहार सुधार समिति लगायत सम्बद्ध पक्षलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

‘ललितपुर एउटा धार्मिक, सांस्कृतिक परिवेशले भरिएको जिल्ला हो । बिमस्टेकमा आउने फस्ट लेडीहरुलाई यहा“को सांस्कृतिक चिनारी दिने झलकहरु देखाउने छौं ।’ ललितपुर महानगरपालिका १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले भन्नुभयो ।

अतिथिहरु विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्रमा कृष्ण मन्दिर, पाटन संग्रहालय, भण्डारखाल बगैचा“, सुन्दरीचोकको अवलोकन गर्ने छन । सम्पदाको अवलोकन गर्ने क्रममा बीचबीचमै चर्या नृत्य, धा बाजा, धिमे बाजा र अन्य शास्त्रीय नृत्यहरु प्रस्तुत गरिने छ । यसले मूर्त संस्कृतिसंगै अमूर्त संस्कृतिको चिनारी दिने वडाअध्यक्ष शाक्यले जानकारी दिनुभयो । दरबार क्षेत्रको अवलोकनपछि पाहुनालाई करिब ५ सय मिटर पर रहेको गोल्डेन टेम्पलमा दर्शन गराउने कार्यक्रम रहेको छ । अतिथिको स्वागतका क्रममा हिरण्यवर्ण महाविहार विहार सुधार समितिका गुरुजुबाट स्वस्ति वाचन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि फष्ट लेडीको समुह पाटन औद्योगिक क्षेत्रमा घुम्ने जाने कार्यक्रम रहेको छ । औद्योगिक क्षेत्रमा त्यहा“ उत्पादन हुने सामग्री र बजारको अवस्था बुझ्ने पनि प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।
पाटनमा फस्ट लेडीहरुले दुईदेखि तीन घण्टाको समय बिताउने कार्यक्रम रहेको छ । ती स्थान वरपर मंगलबारदेखि सेना परिचालन गरिएको छ ।

 

संगसंगै नेपाल प्रहरीको गस्तीलाई तीब्रता दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख रवीन्द्रबहादुर धानुकले बताउनुभयो । यसैबीच सुरक्षा व्यवस्था निकै कडा हुने सूचनाले शुक्रबार हुने परम्परागत नरसिह जात्रा, गणेश पुजा अस्तव्यस्त बन्ने हो कि आशंका सर्वसाधारणहरुमा छाएको छ ।

प्रतिक्रिया दिनुहोस्