कराते र बक्सिङमा पदकविहीन



नेपाल समाचारपत्र, काठमाडौं
कराते र बक्सिङ ती खेल हुन् जसले नेपालको इज्ज्त अघिल्ला दुई एसियाली खेलकुदमा धानेका थिए । २०१० ग्वान्झाउ एसियाड (चीन) र २०१४ इन्चोन एसियाड (दक्षिण कोरिया) मा यी दुई खेलले नेपालको इज्जत अन्तिममा राखेका थिए ।

यसपटक इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपालको लागि यी दुबै खेलमा पदकविहीन भएको छ । करातेमा अनु अधिकारी र चन्चला दनुवारले कांस्य पदकका लागि खेले तर दुबै जना खेलाडी विपक्षी खेलाडीसँग नराम्रोसँग हारेका छन् । सोमबार अनुले ५० केजी मुनिमा कांस्य पदकका लागि जापानकी मिहो मियातेरासँग प्रतिस्पर्धा गरिन् । तर उनी एकोहोरो रुपमा मिहोसँग ९–० अंकले हारेपछि नेपालको करातेमा पदक जित्ने अन्तिम आसा पनि सेलायो ।

एसियाडमा नेपालले करातेबाट ३ कांस्य जितेको छ । जसमध्ये चार वर्षअघि इन्चोनमा भएको एसियाडमा विमला तामाङले महिला एकल काँतामा नेपाललाई कांस्य पदक दिलाएर राष्ट्रको पदकविहीन हुने संभावनालाई समाप्त पारेकी थिइन् । यस पटक काँतामा चन्चलाले प्रतिस्पर्धा गरिन् । तर उनी पराजित भइन् ।

त्यसो त अनुले पहिलो चरणमा मकाउकी चिङ छियुङको चुनौती ५–१ अंकले पाखा लगाएकी थिइन् । क्वार्टरफाइनल पुगेकी अनु सो स्पर्धामा ताइपेईकी सियाउसुङ गुसंगसँग ५–१ ले हार्न पुगिन् । सियाउसुङ भने फाइनलमा पुगेर स्वर्ण जितिन् भने उनी फाइनल पुगेपछि नेपाली खेलाडीको भाग्य चम्कियो र रिपाचेमा लाओसकी सिरिभिमाने सिरिमोङ खौनलाई ३–१ ले हराइन् ।

यो जितसँगै अनु कांस्य पदकको भिडन्तमा जापानी खेलाडीसँग भने जित हात पार्न सकिनन् । यसअघि अनुले १२औं सागमा रजत पदक जितेकी थिइन् । अर्का नेपाली खेलाडी दिवस श्रेष्ठले ८४ केजी समूहमा पहिलो चरणमै माथ खाए । उनी इरानका पोर्सब जाभिओलाहसँग ८–० ले हारेका थिए ।

बक्सिङतर्फ पनि नेपालले निरासा हात पार्नु प¥यो । पुरुष ७५ केजी समूहमा दीपक श्रेष्ठको पराजयसँगै नेपालको बक्सिङ खेलमा पदक जित्ने आशा तुहिएको हो । दीपकलाई ताइपेइका खेलाडी चियावेइ कानले ५–० ले हराएका थिए । बक्सिङमै २०१० एसियाडमा दीपक महर्जनले नेपालको एक मात्र कांस्य पदक जितेका थिए । अब नेपालको लागि जुडो खेलबाट पदक जित्ने आसा बाँकी रहेको छ ।

सोमको राष्ट्रिय कीर्तिमान
एथ्लेटिक्समा नेपाली धावक सोमबहानुर कुमालले पुरुषको ८ सय मिटर दौडमा नयाँ राष्ट्रिय किर्तिमान रचेका छन् । सोमले सन् १९९५ मा साफ गेम्समा बनाएको राष्ट्रिय कीर्तिमानलाई छायामा पारेका हुन् ।

उनले सो दुरीमा १ मिनेट ५०.२५ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदा धनीरामको १ मिनेट ५०.६० सेकेण्डको समय ओझेलमा प¥यो । यस्तै नेपालको प्रतिनिधित्व गरेकी सरस्वती भट्टराईले महिला ८ सय मिटर दौडमा आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी छिन् । सरस्वतीले निर्धारित दूरी २ मिनेट १२.८५ सेकेन्डमा पूरा गर्दै पहिलेको २ मिनेट १३.९९ सेकेन्ड समयलाई पछि पारेकी हुन् ।

टेबलटेनिस
टेबलटेनिसको पुरुष÷महिला दुवै टिम इभेन्टमा नेपालको पराजय यात्रा जारी छ । पुरुषमा नेपाल दक्षिण कोरियासंग ३–० तथा लाओससंग ३–१ ले पराजित भएको थियो । महिलामा नेपाली टिम हङकङ र भियतनामसँग समान ३–० को नतिजामा हारेको थियो ।

सेपाकताक्रो
एसियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाएको सेपाकताक्रोको पुरुष रेगु स्पर्धामा नेपालको चुनौती समाप्त भएको छ । सोमबार नेपाल भारतसंग २–० ले पराजित भयो । भारतसँग हार्न अघि नेपाल चीन, मलेसिया र दक्षिण कोरियासंग पनि सोही नतिजामा हारेको थियो ।

पाराग्लाइडिङ
पाराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको तेश्रो चरण समाप्तिसम्म नेपाली पुरुष टिम चौथो स्थानमा छ । नेपाल अघिल्लो चरणमा भन्दा एक स्थान तल चिप्लेको छ । आयोजक इन्डोनेसिया, जापान र दक्षिण कोरिया क्रमशः शीर्ष तीन स्थानमा छन् ।

सोही स्पर्धाको महिलामा भने नेपाल पाँचौंबाट छैटौं स्थानमा झरेको छ । जापान पहिलो, दक्षिण कोरिया दोश्रो र इन्डोनेसिया तेश्रोमा छन् ।

स्क्वास
नेपालले एसियाडमा सहभागिता जनाउने २९ खेल मध्ये अन्तिममा समावेश भएको स्क्वासको पुरुष टिम इभेन्टमा नेपाल पराजित भएको छ नेपाल दक्षिण कोरिया र पाकिस्तानसंग समान ३–० को नतिजामा पराजित भयो । पुरुष सिंगल्समा भने नेपालको चुनौती समाप्त भइसकेको छ ।

 

१८औं एसियाली खेलकुद
पदक तालिका
राष्ट्र स्वर्ण रजत कांस्य जम्मा
चीन ८६ ६२ ४३ १९१
जापान ४३ ३६ ५७ १३६
द.कोरिया २८ ३६ ४२ १०६
इन्डोनेसिया २२ १५ २७ ६४
इरान १७ १५ १५ ४७
ताइपेई १२ १२ १७ ४१
उ.कोरिया १२ ६ ७ २५
थाइल्यान्ड ९ १० ३३ ५२
भारत ८ १३ २० ४१
काजाकिस्तान ७ ८ २८ ४३

प्रतिक्रिया दिनुहोस्