बलात्कार न्यूनीकरणका उपायहरु



बालिकाहरुमाथि बलात्कारका घटनाहरु बढ्नुमा कस्ता पक्षहरु जिम्मेवार छन् र यस्ता घटना दोहोरिन नदिन आगामी दिनमा के–कस्ता पहलहरु आवश्यक देखिन्छन् ? यो विषय अहिले गम्भीर बनेको छ । समाजमा घट्ने कुनै पनि घटनाप्रति सम्बन्धित व्यक्ति स्वयम् मात्रै नभएर परिवार, समाज र राष्ट्र पनि जिम्मेवार हुन्छ । घटना घटाउनुमा व्यक्ति विशेषको समेत विशेष सहभागिता देखिए पनि परिवारले दिएको संस्कार, सामाजिक वातावरण र राष्ट्रको नीति कारक हुन् ।

इजरायलको अनुभवलाई शेयर गर्दा यहाँ अभिभावकले आफ्ना सन्तान किशोर अवस्थामा आइपुग्दा उसका गतिविधिलाई निगरानी गरेर १२ वर्ष पुगेपछि बमिर्चवा भन्ने एक संस्कार गरेपछि वयष्क भएको जानकारी गराइन्छ । त्यसपछि आफूसरहको दौँतरी साथीहरुसँग घुलमिल गर्नमा प्रोत्साहित गरेको पाइन्छ । अर्को कुरो, इजरायलीहरु यौनका मामिलामा उदार छन् । यौनलाई शरीरलाई चाहिने नियमित भोजनजस्तै मान्छन् तर आफ्नो साथीसँग इमानदार हुन्छन् । किशोर अवस्थाबाटै उत्पन्न हुने यौनसम्बन्धी जिज्ञासा मेट्न घर–परिवारकै प्रोत्साहनबाट आफूलाई मन परेको साथी चुन्छन् । त्यसैले, यौनप्रतिको जिज्ञासाले विकृत रुप लिन पाउँदैन ।

यहाँ राजिखुशीका साथ स्थापित गरिएको सम्बन्धप्रति न त समाजले बाधा र विरोध गर्छ, न त राष्ट्रको नीति र कानुनले ? जबर्जस्तीको सम्बन्धलाई भने कडाइका साथ कानुनी कारबाहीको दायरामा ल्याइन्छ र कारबाही गरिन्छ, अनि त्यस्ता प्रवृत्तिहरुलाई दुरुत्साहन गरिन्छ । अर्को कुरा, पीडित पक्षलाई नलुकाई उसलाई हौसला दिएर न्याय दिलाउन यहाँको समाज र राष्ट्रको कानुनले प्रोत्साहन गर्छ ।

भारत र नेपालको अनुभवलाई हेर्दा, यस्ता यौनजन्य हिंसाको अन्त्य गर्नका लागि वेश्यालय खोल्ने र विद्यालयमा यौनशिक्षा अनि कडा कानुन बनाएर पनि नहुने देखिन्छ । बरु, इजरायलले जस्तै परिवार, समाज र राष्ट्रले जिम्मेवारी बहन गरे यस्ता घटना दोहोरिने थिएनन् । यस्ता घटनाको पीडा आज अरुलाई भएको छ, भोलि हामीलाई हुन सक्छ । त्यसैले, बेलैमा सबै पक्ष सचेत हौँ । अनि ती यौनपिपासुलाई हदैसम्मको कार्वाहीका लागि पहल गरौं ।
– प्रदीप भण्डारी, दाङ । हाल: कीर्तिपुर, काठमाडौं

प्रतिक्रिया दिनुहोस्