नैतिक र राजनीतिक शिक्षा जरुरी



मुलुकमा जतिसुकै स्कुल, कलेजहरुको स्थापनाको विकास देखिए पनि पढाइमा स्तरियता हुनु जरुरी छ । त्यसमाथि पनि जबसम्म हाम्रो देशमा औसतमा शिक्षित वर्ग धेरै हुँदैनन् तबसम्म मुलुकको विकास हुन गाह्रो छ ।

बोली र अखबारहरुमा विकासलाई मानिसहरु मान्न तयार छैनन् । यसैको उपज हो आज देशमा लोकतन्त्र आएको । लोकतन्त्र आएको पनि ३ दशक भइसक्यो । तैपनि देश भाँडभैलोको रुपले गुज्रिराखेको छ, जुन भनिराख्नु पर्ने कुरा होइन ।

हामीले जतिसुकै लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र, संघीयताको नखरा गरेर अघि बढिराखे पनि त्योभन्दा पनि जरुरी मानिसहरुले आफ्नो खराब सोच–संस्कारलाई परिवर्तन गरी अघि बढ्नु हो ।

यहाँ जनतालाई करले कस्ने, सत्ता, भत्ता, जत्थालाई अँगाल्ने र यो बाहेक गुटबन्दी, आफ्नो मान्छे, गफ र अल्छीपना आदि कुरा एकनासले दोहोरिराखेका छन् । जुन हामी सर्वसाधारणले भोगिराखेका कुरा हुन् । उदाहरणका लागि बेरोजगार, भ्रष्टाचार, लथालिंग मुलुकको हाल, यस्तो बेला पनि मुलुक हाँक्नेहरु कुर्सी, गफ, कलह आदि कुरामा अल्झिराखेको हामी पाउँछौं । यो मुलुकमा एउटा विडम्बनाको कुरा के छ भने, मानिसहरुलाई परिराखेका केही समस्या पञ्चायत कालको समयदेखि अहिलेसम्म उस्तै छ ।

न त यसलाई समाज र सरकारले बदल्न सकेको छ, न यी बूढाखाडा नेताहरुले गम्भीर भएर यसतर्फ विचार पु¥याउन सकेका छन् । देशको अझै पनि झन्जटिलो प्रशासन, कुरुप बाटाहरु, व्यक्तिहरुको अल्लारे लालच, सोच र सरकारहरुको ढिड एकोहोरोपन हिसाबको कार्य गर्नेजस्ता आदि सोचलाई कसैले बदल्न सकेन, जुन दुःख लाग्दो कुरा हो ।

यस्तो बेलामा पुराना देश चलाउने नेताहरुले अब बिस्तारै आफ्नो शासन युवापुस्ताहरुलाई सुम्पने हो भने यो भन्दा राम्रो कुरा अरु केही हुनेछैन । कारण, अहिलेको घडीमा नयाँ पुस्ताले देशका लागि जुन कार्य गर्न सक्छन्, त्यो कार्य अहिलेका राज्य चलाउनेहरुलाई गाह्रो हुन आउँछ । यही कुरा नभएर हो, अन्यथा हाम्रो मुलुक पनि जमानामा नै अरु देशको दाँजोमा अघि बढिसक्थ्यो होला । तर यो मुलुकमा गफसिबाय अरु केही हुँदैन ।

हन त यो मुलुकमा पुराना बूढाखाडा नेताहरुका पनि केही योगदान नभएको त होइन, कारण यिनीहरुले आफ्ना विगतका दिनमा धेरै दुःख खाए, जेल गए, मार खाए । यी सब कुराहरु सही हो । तर यिनीहरुले दुःखमा बितेका दिनका बदलामा चाहेको कुराहरु पनि त पाइसके नि । मुलुकमा लोकतन्त्र आयो, मान्छेले लेख्न पाए, बोल्न पाए, मौलिक अधिकार, हकहरु पाए । साथै मानिसका जीवनस्तरहरु पहिलाभन्दा केही फेरिए ।

तर अब यसको मतलब यो पनि त होइन नि जिन्दगीभर शासन आफैंले मात्र अँगालेर बस्ने, कि कसो ?

अब यिनीहरु वाच डगको रुपमा माथि बसेर युवा पुस्तालाई शासन हस्तान्तरण गरी यिनीहरुको रेखदेख गर्ने हो । अब यस्तो भएको खण्डमा मात्र मुलुकको द्रुत विकास सम्भव छ । अन्यथा यो मुलुकको हाल सधैँ उस्तै हो । सधैँ रक्सीको बोतलमा रक्सी फेरी–फेरी राख्ने होइन कि बल्की रक्सीको बोतल नै फेर्नु आजको जनमानसको चाहना हो ।

हामीले जति पनि कुरा ग¥यौं, यी सब कुराहरु तब नै सम्भव हुन्छ जब यो देशमा राम्रा–राम्रा बुद्धिजीवीहरु अग्रसर हुन्छन् । तर यो मुलुकमा बुद्धिजीवी र राम्रा पढेलेखेका जमातहरुको तब नै विकास हुन्छ जब सरकारले स्वार्थ, लालचपना, गुटबन्दी त्यागेर स्कुल–कलेजमा विद्यार्थीका लागि नैतिक तथा राजनीतिक ज्ञान विषय अनिवार्य गर्दछ ।

त्यसकारण हाम्रो जस्तो मुलुकको विकास चाहने हो भने सरकारले स्वार्थ भावना र जनताले आफ्नो अल्लारे भावनालाई त्यागेर नैतिक तथा राजनीतिक शिक्षालाई अँगाल्नै पर्दछ । अनि हेर्नुस्, हाम्रो देशको भविष्य कस्तो हुनेछ ? एकतर्फबाट नेताहरुको पनि चाहना त यही नै हो नि । विद्यार्थीलाई यस्ता शिक्षा दिन राणा, शाहले जस्तै आजका नेताले बन्देज लगउँदैनन् होला भन्ने लाग्छ, आशा गरौं ।
– रमेश केशरी वैद्य, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्