विराटनगरमा ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्रको प्रदर्शनी



सरोज यादव, विराटनगर ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक दस्तावेज “बिमान अपहरण काण्ड”मा बनेको बृत चित्र आइतवार विराटनगरमा प्रदर्शन गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागी कांग्रेसले गरेको साहसिक कार्य मध्ये विमान अपहरण पनि एक हो । अपहरणको बारेमा मोरङका अगुवा कार्यकर्तालाई जानकारी गराउन ४५ मिनेटको यो वृत चित्र पर्दशनी गरियो । कांग्रेस सुविद्या भोगी भएको आरोप खेपिरहेको वेला विगतमा कांग्रेसका पुराना नेताहरूले प्रजातन्त्रको प्राप्तिको लागी कस्तो सम्म साहश र वलिदानी गर्न तयार भए भन्ने ऐतिहासिक दस्तावेज वृत्रचचित्रमा तयार गरी पर्दशनमा ल्याइएको कार्यक्रमका संयोजक उद्धव कोइरालाले बताए ।

नेपाली राजनीतिक ईतिहासमा २०३० साल जेष्ठ २८ गतेको सो बिमान अपहरण काण्ड चर्चित रहेको छ । राजाको निरंकुशता बिरुद्ध तत्कालीन नेपाली कांग्रेसले थालेको सशस्त्र क्रान्ति ब्यवस्थापनका लागि कमान्डर गिरिजाप्रसाद कोइरालाको निर्देशनमा सो बिमानको अपहरण भएको थियो । बिमान अपहरणमा बसन्त भट्टराई, दुर्गा सुवेदी र नगेन्द्र ढुङ्गेलको प्रत्यक्ष सहभागिता थियो । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रमाथि धावा बोलेर जव निरंकुसता शुरु गरेपछिका दिनमा नेपाली जनताको स्वतन्त्रताका लागि नेपाली कांग्रेसले आन्दोलन घोषणा गर्र्यो । शान्तिपूर्ण रूपमा सुरू गरेको आन्दोलनमा राजाले व्यापक दमन गरि बन्दुकको बलले प्रजातन्त्रको चाहमा उठेका आवाजलाई दवाउन थालेसगै बाध्य भएर शसस्त्र आन्दोलन शुरुको वृतचित्रमा उल्लेख छ ।

कांग्रेसले सुरू गरेको यो सशस्त्र आन्दोलनमा प्रजातन्त्रमा आस्था राख्नेहरू की मारिन थाले की निर्मम यातनाको शिकार हुन पुगे । प्रवासमा रहेका गिरिजाप्रसादले नेपाली जनताले प्रजातन्त्रका लागि गरिरहेको आन्दोलनलाई बिश्व समुदाय समक्ष सुनाउन र हतियार व्यवस्थापन गर्न राष्ट्र बैंक,बिराटनगरको भारु ३० लाख रुपैयाँ काठमाडौं पुर्याउन उडेको तत्कालीन शाही नेपाल बायु सेवाको ट्विनेटर जहाज बिराटनगरबाट अपहरण गर्ने शाहसिक निर्णय गरेका थिए । नेपाली आकाशमा भएको सो बिमान अपहरणले आन्दोलनलाई नयाँ मोडमा पुर्याएको थियो । बिराटनगर बिमानस्थलबाट उडेको केहि मिनेटमै बसन्त, दुर्गा र नगेन्द्रले बिमान चालकलाई अपहरणको जानकारी दिदै बिमान नियन्त्रणमा लिएका थिए । १५ जना यात्रु लिएर उडेको बिमानलाई सुरक्षित तोकेको स्थान भारतको फारविसगन्जमा उतार्न झण्डै २७ मिनेट लागेको थियो । अवतरण पछि ३० लाख भारतीय रुपैयाँ निकालेर बिमान फिर्ता पठाईएको थियो । यी सवै घटना वृत चित्रमा वर्णन गरिएको छ कार्यक्रमका व्यवस्थापक दिपक चाँपागाईले बताए ।

प्रजातन्त्रको प्राप्तिमा गरिएको सो बिमान अपहरण पछि भट्टराई, सुवेदी र ढुङ्गेललाई भारतीय जेलमा राखिएको थियो । यता, गिरिजाप्रसादले भने उक्त रकमबाट हतियार र क्रान्ति व्यवस्थापनमा नयाँ उत्साह प्राप्त गरे । त्यहीँ रकमबाट किनिएका हतियारले नेपाली जनताका आवाजलाई तत्कालीन निरंकुश राजाका कान खुलाएको थियो ।
पत्रकार जगत नेपालले निर्देशन गरेको बृतचित्र नेपालको प्रजातान्त्रिक सर्घष बुझ्न र नयाँ पुस्तालाई कांग्रेसका योद्धाहरुको पहिचान गराउन सफल रहेको छ । प्रर्दशनीमा प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइराला रहेका थिए । अपहरण घटनामा पात्र द्धय भट्टराई र ढुङ्गेलले विमान अपहरणको बारेमा अनुभव सुनाएका थिए । केन्द्रीय सदस्य डा.कोइरालाले प्रजातन्त्रको लागी कांग्रेसले गरेको साहसिक विमान अपहरण काण्डको गाउँगाउँ सम्म पर्दशनी गरिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्