नेपालका धनीमा हेटौंडाका सुमार्गी



हेटौंडा ।
नेपालका टप–१० धनी व्यक्तिको सूचीमा सम्भवतः पहिलो पटक एक हेटौंडेली सूचीकृत भएका छन् । विश्वको चर्चित म्यागेजिन ‘फोब्र्स’ ले उहाँको नाम सार्वजनिक गरेको हो ।
मकवानपुरको हेटौंडामा जन्मिनुभएका अजेयराज सुमार्गी उक्त सूचीमा अटाउनुभएको हो । साना व्यवसायबाट माथि पुगेर धनसम्पति आर्जन गर्ने व्यक्तिका रुपमा उहाँ चिनिनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का निकट सहयोगी रहनुभएका उहाँ नेपालको चौथो धनी व्यक्तिका रुपमा ‘फोब्र्स’ मा सूचीकृत हुनुभएको छ । ५४ वर्षीय सुमार्गी बिनोद चौधरी, शेष घले र उपेन्द्र महतोपछि धनी ठहरिनुभएको छ । उहाँ पुष्पकमल दाहालसँगको घनिष्ठ सम्बन्धका कारण बेलाबेलामा चर्चामा आइरहनुहुन्छ ।
मुक्तिश्री प्राइभेट लिमिटेडमार्फत् हेटौंडा चुन उद्योग र पानी उद्योगलगायत कम्पनी सञ्चालन गरिरहनुभएका उहाँसँग २ सय मिलियन डलर भन्दा बढी सम्पति रहेको बताइएको छ ।

उहाँले हेटौंडा लाइम उद्योग, एभरेष्ट मिनरल प्रोडक्ट, दुर्गा कोल्ड स्टोरेज, हिमालयन स्प्रिङ वाटर, इन्को प्यानल, अल इन वान मार्ट, मुक्तिश्री सिमेन्ट, हेटौंडा एकेडेमी, रेडियो थाहा सञ्चार, आँखु खोला हाइड्रो र मुक्तिश्री हस्पिटालिटी आदि सञ्चालन गर्दैै आउनुभएको छ । सुमार्गी परिवारले महालक्ष्मी बैंक र हेटौंडाको चुरेहिल अस्पताललगायतमा पनि उल्लेख्य लगानी गरेको छ ।
आफैं उद्यमी रहनुभएका बुबा माधवराज सुमार्गीबाट व्यवसायतर्फ प्ररित हुनुभएका अजेयका छोरा अभिमतराज सुमार्गीले अक्स्फोर्ड युनिभर्सिटीबाट इन्टरनेसनल रिस्क म्यानेजमेन्टमा स्नातकोत्तर सकेपछि सुमार्गी परिवारको तेस्रो पुस्ता उद्योगमा आवद्ध छ ।
बुबा माधवराजको निधनपछि आमा विश्वकान्ति कलावतीको संरक्षकत्वमा अजेय र हाल नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्यसमेत रहनुभएका भाइ अरुणराजले ती सबै उद्योग प्रतिष्ठानको सञ्चालन गर्दै आउनुभएको छ ।
‘फोब्र्स’ ले नेपालका सर्वाधिक धनीहरुको नाम र सम्पत्ति विवरणसहित पेश गरेको हो । जसमा पहिलो नम्बरमा अर्बपति विनोद चौधरी र दशौं नम्बरमा पूर्वराजा ज्ञानेन्द्र शाह रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्