कलाकारले फिर्ता गरे भेटेको रकम



हेटौंडा, (नेस)। देशभरका विभिन्न रंगमञ्चमा पुगेर नाटक प्रस्तुत गर्ने यहाँका परिचित युवा प्रलय चौलागाईंले सडकमा भेटेको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गरेर एक इमानदार युवाको कर्तव्य पालना गरेका छन्।

उनले दाइ प्रकाशसँगै बिहीबार घर जाने क्रममा १६ हजार ६ सय १० रुपियाँसहितको पर्स भेटेका थिए। चौलागार्इं दाजुभाइले पर्समा भएको परिचयपत्रका आधारमा सम्बन्धित व्यक्ति आफ्नै गाउँका घनश्यामसिंह ठकुरीलाई सम्पर्क गरेर रकमसहितको पर्स शनिबार जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रहरीको रोहबरमा फिर्ता गरेका हुन्। रकम फिर्ता गरेपछि प्रलयले भने– ‘अरूको दुःख गरेर कमाएको रकम फिर्ता गर्नुपर्ने मनसायले फिर्ता गरेका हौं।’

कमजोर आर्थिक अवस्थाका ठकुरी पर्स पाएपछि खुसी भएका छन्। ठकुरीले चौलागाईं दाजुभाइले फिर्ता गरेकोमा उनीहरूको इमानदारिताको प्रशंसा गरे। प्रलय गायन, वाद्यवादन र नाटकमा अब्बल छन्। मकवानपुरगढी गाउँपालिका–४ निवासी प्रलय अभिनित तरंग सांस्कृतिक परिषद् हेटौंडाको मान्छे बन्ने रहर नाटकले दर्शकलाई हसाउँदै रूवाइदिने गर्दछ।

प्रतिक्रिया दिनुहोस्