फेसबुकमा मन्त्रीका स्ट्याटस



सुशीला पराजुली धिताल
साँगाचोक, सिन्धुपाल्चोक

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई एप्पलको म्याकबुक ल्यापटपको व्यवस्था गरेपछि मन्त्रीले फेसबुक खाता खोलेछन्। कहिल्यै १० खर्ब डलरको कम्पनी हुन् नसक्या एप्पल पनि हाम्रा माननीयले ल्यापटप किन्दिएपछि फुत्त १० खर्ब डलरको पहिलो कम्पनी भएछ। हाम्रा मन्त्रीले पनि एप्पललाई गुण लगाकै हुन्। यी झिना मसिना विषय भए, मुख्य कुरा अर्कै छ।

ल्यापटप पाएपछि सामाजिक सञ्जालमा शुरूदेखि नै उपस्थिति जनाएका मन्त्री रवीन्द्र अधिकारीले पहिलो स्ट्याटस अपडेट गरेछन्– ‘अटेन्डिङ मन्त्रिपरिषद् बैठक विथ केपी शर्मा ओली एन्ड २१ अदर्स।’ विमानस्थलमा पासपोर्ट नै नबोकी तहल्का मच्चाएर थाइल्यान्ड
पुगेका उपप्रधानमन्त्रीले उतैबाट कमेन्ट ठोकेछन्– ‘कैले हो ? म त थाइल्यान्डमै छु, एक दुई दिन बैठक नबसेको भए हुने।’ गोकुल बास्कोटाले

रिप्लाई गरेछन्– ‘सामसुङको आइफोनबाट भिडियो अन गर्नुस्, लाइभ कन्फ्रेन्समा बैठक गरौं।’

२ दिनपछि प्रधानमन्त्रीले बास्कोटाको रिप्लाइ लाइक गरेछन् अनि कमेन्ट गरेछन्– ‘बैठक चल्दै गर्दा फेसबुक किन चलाएको?’ अधिकारीको रिप्लाइ आएछ– ‘बैठक सकिएपछि स्ट्याटस हालेको हो प्रमज्यू।’ कमेन्टमा हा..हा…देखि लभ साइनसम्मका रियाक्ट आएछ।
केही दिनपछि खेलकुदमन्त्रीको फोटोसहितको स्ट्याटस आएछ– ‘गाई गोठ उद्घाटन गर्दै’भनेर। पहिलो कमेन्ट कृषिमन्त्रीको आएछ– ‘हैन किन मेरो अधिकारमा हस्तक्षेप गर्या ?’ रिप्लाइ आएछ– ‘युवाले गाईपालन शुरू गर्याछन्, गाई पनि सबै युवा उमेरका तन्नेरी छन्। यस्तो फर्मको युवा तथा खेलकुदमन्त्रीले उद्घाटन नगरेर

कसले गर्छ?’
श्रममन्त्रीको कमेन्ट आएछ– ‘फर्ममा श्रम शोषण नहोस् है।’ वनमन्त्रीको कमेन्ट आएछ– ‘फर्मका लागि वनबाट अवैधरूपमा घाँस दाउरा सोतर ल्याएको सुन्नु नपरोस्।’ शिक्षामन्त्रीको कमेन्ट आएछ– ‘शिक्षित युवा आफैं व्यवसायमा लागेका रहेछन्, राम्रो कुरा। अब गाई दुहुने मेसिन ल्याउन भन्नुस्।’ लास्टमा प्रधानमन्त्रीको कमेन्ट आएछ– ‘अब यस्तो प्रविधि आउँछ, त्यहाँ दोहेको दूध क्यानमा बोकेर कतै हिँड्नुपर्दैन। सबैको घरसम्म पाइपबाट नै दूध पुग्छ। कति प्रयोग गर्यो भनेर थाहा पाउन मिटर जडान हुन्छ।’

विज्ञ अर्थमन्त्रीले सबैको कमेन्ट पढेछन् अनि लेखेछन्– ‘जसले जे–जे गरे पनि सबैमा कर लाग्छ है माननीय मन्त्रीज्यू। करचाहिँ कति–कति तिरिएको छ ख्याल गर्नुस्।’

केही दिनमा प्रधानमन्त्रीले फेसबुक चलाउँदै गर्दा टाइमलाइनमा एउटा भिडियो आएछ। रौतहटमा मन्त्रीको सवारी लेखिएको भिडियोमा दर्जनौं गाडी लस्कर लगाएर गुडिरहेका थिए। उनले तुरुन्त सचिवालयमा फोन गरेर गाडीको

लस्करसहितको मन्त्री रौतहट गएको हो भनेर पत्ता लगाउन निर्देशन दिए। सचिवालयले १५ मिनेटमै २२ जनामन्त्रीलाई सम्पर्क गरेर सोध्दा सबै काठमाडौंमै रहेको प्रधानमन्त्रीलाई ब्रिफिङ गर्यो। फेरि प्रधानमन्त्रीलाई छिमेकीका कोही मन्त्री आए कि भन्ने शंका भयो। परराष्ट्रमन्त्री र गृहमन्त्रीलाई बोलाएर सोधे। त्यो पनि होइन रहेछ। तुरुन्त पत्ता लगाउन निर्देशन दिए।

बुझ्दै जाँदा प्रदेश नम्बर २ सरकारी राज्यमन्त्रीको सवारी रहेछ त्यो। ओलीलाई लागेछ मेरोभन्दा बढी धेरै गाडी लिएर घर जाने? रिस उठेपछि त्यो गाडीको लाइनभन्दा लामो रेल छिटो ल्याउन दुवै छिमेकीलाई फोन गरेछन्। जवाफ आएछ– ‘रेल तयार छ। त्यहाँसम्म ल्याउने ट्र्याक खै?’ ओलीलाई नयाँ आइडिया फुरेछ रेल मात्र भए पनि ल्याउने, अनि पानी जहाजमा रेल पठाइदिन मोदीलाई अनुरोध गरेछन्। रेल नआए पनि पानीजहाज चढ्न भने ओलीले निम्ता दिइसकेका छन् सबैलाई।

पर्खेर बस्दाखेरी रेल आउनुपर्ने ठाउँमा पानीको भेल आयो। तेल पनि नचाहिने भएपछि नेपालीले त्यही भेलमा पानीजहाज चलाए। ओलीले ल्याउनी कहिले–कहिले हामी त चढ्यौं अहिले भन्दै भुरा रमाए। प्रधानमन्त्रीलाई व्यंग्य गर्या आरोप लगाउँदै पक्राउ गर्छु भन्दै अर्का माननीय कराए। पानी पर्न छोडेपछि भेल हरायो, पानीजहाज पनि हरायो, रेलको पनि पत्तो छैन। सबै हराए। खोज्न जानेहरू पनि डराए। गफै रहेछ

भन्दै सबै अघाए।

प्रतिक्रिया दिनुहोस्