ओलीको काँध, अधिनायकवाद



चिरञ्जीवी मास्के,
एउटा मनुवा बाटोमा हिँड्दै गर्दा ढुंगामा ठोक्किएर मजैले लड्यो। दुखाइको रनाहमा उसको दिमागमा अधिनायकवादभन्दा अरू केही आउँदै आएन। कान रातो–रातो पारेर उसले ओलीको काँध चढेको भन्दै अधिनायकवादलाई यसरी गाली गर्यो–

अपराधी ढुंगा तैले, ठोक्नुसम्म ठोकिस्
धेरै टाढा पुग्नु थियो, बीच बाटोमै रोकिस्
ओली सरकार बनेपछि यस्तै–यस्तै भा’छ
सबै भन्छन् देशमा अहिले अधिनायकवाद आ’छ

सँगै रहेको अर्को मनुवालाई पनि ओली सरकारसँग निकै रिस रैछ क्यार। दर्के पानीमा निथ्रुक्क भिजेका ती मनुवाले पनि हो मा हो मिलाई हाले र भने–

हो भनेको अधिनायकवाद सबैतिर आयो
घूस खान नि नपाइने, कानुनले भ्यायो
पानी पर्छ जताततै पोखरी छ टन्न
पाएका छौं ओलीजीलाई, डुंगा चलाउ भन्न

दुई मनुवाको आक्रोशपूर्ण गफ तेस्रो मनुवाले निकै ध्यानपूर्वक सुनिरहेको थियो। उनीहरूको गफले उसलाई भित्रभित्रै हाँसो उठेको पनि थियो, आश्चर्य लागेको पनि थियो। यी दुई कस्ता मनुवा होलान्, त्यो तेस्रो मनुवाले मनमनै गम्यो। वर्षा याममा पानी पर्नु, पोखरी जम्नु, बाटोमा जथाभावी राखिएको ढुंगामा ठक्कर खानु यसमा सरकारको दोषचाहिँ कहाँनेर छ ह ? तेस्रो मनुवाले मनमनै प्रश्न गर्यो। उनीहरूको गफ सुनेर एक्लै गनगनायो तेस्रो मनुवा–

कस्तो–कस्तो मनुवाको जन्म भा’को हेर
किन आए संसारमा जानुपथ्र्यो खेर
राम्रो काम गरभन्दा अधिनायकवाद ठान्ने
यसलाई भन्छन् खुकुरीभन्दा कर्द बढी जान्ने

दुई मनुवा गफिँदै थिए। ओली सपनाको चर्चा भएकै थियो। कैले पानी जहाजमा दौडाउँथे ओली सरकारको सपना। कैले रेलमा छुकछुकाउथ्यो ओली सरकारको विकास र कैले झोलुंगे पुलमा दौडन्थ्यो ओली सरकरका समृद्धि। तेस्रो मनुवा दुई मनुवाको गफ सुनेरै गनगनाइरहेको थियो।
फुत्त चौथो मनुवाको प्रवेश भयो। हट्टाकट्टा, ढाकाटोपी, लवेदा सुरुवाल र गम्छा भिरेको चौथो मनुवालाई मधेसको चिन्ताले सताइरहेको थियो। पहिले–पहिले ओलीको ओछ्यानै भिजाइदिउँलाजस्तो गर्ने चौथो मनुवा अहिले ओली सरकारको विकास र समृद्धिको नारामा शान्त थियो। दुई मनुवाको गफ र तेस्रो मनुवाको गनगनमा आक्रान्त थियो। अनि शहरमा ढिडोरा पिटिएको अधिनायकवादको नाराले भ्रान्त थियो। तीन मनुवाको कविते गन्थनमा चौथो मनुवामात्र किन चुप बस्न सक्थ्यो र ? उसले पनि तोल न मोल छन्दको बोल अलापिहाल्यो–

मधेसमा विकास गर्न कसले सक्छ हेरौं ?
गफमात्र हैन अब कामको लागि खेरौं
कसले भन्छ यो सरकारले अधिनायकवाद ल्याउँछ ?
मुर्ख कुरा विपक्षको, गोरू कैले ब्याउँछ ?

प्रतिक्रिया दिनुहोस्