गाईजात्रे झटारो किन थाहा छ ?



मरुभूमि नारायण, तनहूँ,
बासी सडे गलेको झिंगा भन्केको, विषादी हालेको खानुपर्ने
किन मैले सफा, ताजा, झिंगा नभन्केको, विषादी नहालेको खाएँ ?

जनताको सेवासुविधाका लागि सडकमा स्विमिङ पुल हुँदा हुँदै
किसान प्रधान देशको सडकमा मार्सी धान रोपाइँ गर्दा गर्दै
म किन महँगो चार्ज तिरेर सुन्दरीको फिला हेर्न स्विमिङ पुल गएँ ?

म किन सडकको धान रोपाइँ छोडेर गैरी खेतमा गएँ ?

झुट बोल्नुपर्ने, ठग्नुपर्ने, लुट्नुपर्ने, अर्काको दुःखमा नाच्नुपर्ने
सधैं अर्काकै श्रम, पसिना चुसेर डकारेर आनन्दले बाँच्नुपर्ने
म किन सत्य बोलेर, अरूकै सेवा गरेर, आफ्नै श्रममा रमाएँ ?

अरू जति पीडामा रून्छन् मलाई त्यति नै आनन्द आउँछ
अरू जति अकालमा मर्छन् मेरो आयु त्यति नै पलाउँछ
अरू सेतो धन्दा दुई नम्बरी, तीन नम्बरी गर्छन्
म कालो धन्दा एक नम्बरी गर्छु
लोडसेडिङ बढाउनुपर्ने सोलार, ब्याट्री, जेनेरेटर आयात गरेर
मेरो देश उज्यालोमा आत्मनिर्भर बनाउनुपर्ने
म किन जलस्रोतको दोस्रो धनी देश सम्झेर
दिउँसै मैन बत्ती बालेर अँध्यारो लखेटिरहेछु ?

अफ्ठ्यारोमा पार्नी तिनीहरू
दोषी मान्छे मार्नी तिनीहरू
शान्ति सुरक्षा भड्काउने तिनीहरू
अमुक गोरू चुटेर हलो अड्काउने तिनीहरू
तिनका बाउको घोचो पड्काउने तिनीहरू
अरूको गल्तीमा आफ्नै गाला चड्काउने तिनीहरू
विचरा देशकै लागि दुःख गर्छ कालुले
सम्मानको गरुंगो माला भिर्छ लालुले
जनता बोल्दा किन मुख टाल्दिन्छ आलुले ?

त्यसैले तिमी विकास गर्न होइन विनाश गर्न लाग
सपार्न होइन बिगार्न लाग
राम्रो काम गर्न होइन, नराम्रो काम गर्न लाग
एउटी बिहे गर्ने होइन, दुईटी, तिन्टी बिहे गर
आफ्नै हातमा डाडु पनिउँ अरू के नै छ र ?

प्रतिक्रिया दिनुहोस्