समाचार प्रभाव: साउदीमा अलपत्र ३८ नेपालीले काम र दाम पाए



रामधन राई, खोटाङ
साउदी अरबका कम्पनीले अलपत्र बनाएका खोटाङका १३ सहित ३८ नेपाली कामदारले काम र दाम पाउने भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहेका ३८ नेपाली कामदार अलपत्र सम्बन्धी समाचार नेपाल समाचारपत्र दैनिक लगायत विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएको महिना दिनपछि कामदारले काम–दाम पाउने भएका हुन् ।

कार्यरत कम्पनीले तलव उपलब्ध नगराएको भन्दै एक दिन काममा नगएको कारण सडकमा निकालिएको ३८ जना कामदारलाई काम र दाम दुवै उपलब्ध गराउने सहमति गरिएको छ । साउदीअरबको सोनमार अलमामलखास्थित एडभरटाइजिङ कम्पनीमा सप्लाईको काम गर्दै आएका उनीहरु कम्पनीले तलब नदिएको भन्दै गत असार ३२ गते काम छाडेर कोठामै बसेका कारण कामवाट निकालिएका कामदारहरुको आफन्त र म्यानपावर सञ्चालकबीच वैदेशिक रोजगार विभागको रोहबरमा सहमती गरिएको हो । कामदारहरु काममा नगएपछि कम्पनीले त्यसको भोलिपल्ट साउन १ गते कोठाबाट झोला, कपडा लगायत बन्दोबस्तीका सामग्री सडकमा फालिदिनुका साथै गाडीमा राखेर एकान्त ठाउँमा लगेर अलपत्र पारेको जनाइएको छ ।

साउदीअरब पुगेयता ९ सय रियाल मात्र पाएका नेपालीले एक दिन काम छाडेर बसेकामा कम्पनीले सडकमा निकालिदिएपछि उनीहरु बिचल्ली परेका जनाइएको छ । गत २०७४ साल फागुन १ गते एकैसाथ साउदी अरब पुगेका उनीहरु सम्झौता अनुसारको काम र दाम नपाएपछि आन्दोलन गर्दा अलपत्र परेका हुन् । अलपत्र पारिएको समाचार सञ्चार माध्यममार्फत बाहिर आएपछि उद्दार तथा कानुनी प्रक्रिया सुरु गरिएको थियो ।

साउदीअरबमा ३८ नेपाली अलपत्र परेपछि उनीहरुका आफन्तले काठमाडौंमा रहेको सुरक्षित आप्रवासन परियोजना अन्र्तगत पिपुल्स फोरम मार्फत निः शुल्लक कानूनी सहायताको लागि निवेदन दिएका थिए । निवेदन दर्ता भएलगत्तै पीडितको आवश्यक कागजात इमेलमार्फत मगाएर वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरिएको थियो ।

हालै गरिएको सम्झौता पत्रमा सबै कामदारलाई सरसफाइको काम दिइने, एक दिनमा आठ घन्टा महिनामा २६ दिन काम गर्नुपर्ने, तलब साउदी रियाल एक हजार र २ सय खाना खर्च दिइने आदि सर्त उल्लेख छ । द्विपक्षीय सम्झौतापत्रमा कामदारलाई बस्ने, यातायात, सुरक्षा आदि कम्पनीले उपलब्ध गराउने, परिचयपत्र र जीवन बिमा कामदारले काम सुरु गरेको ४५ दिनभित्र कम्पनीले उपलब्ध गराउने पनि सम्झौता गरिएको छ ।

यस्तै, नेपालबाट साउदी गएर काम गरेको दिनदेखि अहिलेसम्म पाउन बाँकी तलब कम्पनीले दिने, काम नगरी बसेको तलब हरेक महिनाको तलबमा थपेर कम्पनीले दिने र सबै कामदारले दुई वर्ष करार अवधि पुरा गरेपछि घर फर्कन चाहने कामदारलाई हवाई टिकट दिएर घर फिर्ता गराउने तथा काम गर्न चाहानेलाई सम्पूर्ण सेवा सुविधा उपलब्ध गराइ पुनः काममा लगाउने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
सम्झौता पत्रमा उल्लेखित शर्त पूरा नभए नेपालबाट पठाउने म्यानपावर कम्पनी काठमाडौं मित्रपार्कस्थित इमप्लाइमेन्ट सर्भिसेज र ईम्पावर ओभरसिज प्रा.लि पूर्ण रुपले जवाफदेही हुने ब्यहोरा समेत प्रष्ट पाारिएको छ ।

म्यानपावर कम्पनी र कामदारका आफन्तबीच शर्त पूरा गर्छु भनेर तयार पारिएको सम्झौता पत्रमा हस्ताक्षर भएपनि कामदारहरु भने अझै असन्तुष्ट रहेको दिक्तेलस्थित सुरक्षित आप्रवासन सूचना केन्द्रका परामर्शदाता बुना विश्वकर्माले बताउनुभयो । बिकका अनुसार अलपत्र अवस्थामा रहेका सबै कामदारको उद्दार गर्न सूचना केन्द्रले हदैसम्म प्रयत्न गरेको थियो । पीडितहरुको उद्दार गर्न धेरै चुनौति भएकाले उनीहरुलाई पुनः काममा फर्काउन बाध्य भएको दिक्तेलस्थित सुरक्षित आप्रवासन परियोजना अन्र्तगतको सूचना तथा परामर्श केन्द्रका परामर्शकर्ताहरुले जनाएका छन् ।

म्यानपावर कम्पनीले गरेको प्रतिबद्धता इमान्दारीपूर्वक पूरा गरे समस्या नहुने बताईएको छ । समस्याको समाधान चाडै र इमान्दारीपूर्वक गर्न सम्बन्धित निकायलाई खबदारी गरिरहेका सूचना केन्द्रले जानकारी गराएका छन् ।

एक महिना नौं दिनदेखि साउदीअरबको दमामस्थित तुक्बा भन्ने ठाउँमा अलपत्र अवस्थामा रहेका कामदारले भने उल्लेखित सम्झौताकै भरमा मात्र काममा नजाने बताउँदै आएका छन् । पीडितमध्येका खोटाङ जालपाका शेषन श्रेष्ठका अनुसार यसअघि पनि कामदारले सबै प्रक्रिया पु¥याएरै साउदी गएका थिए । अब काममा फर्कन राजदुतावासले पनि विश्वास दिलाउनुपर्ने कामदारहरुको माग छ ।

 

प्रतिक्रिया दिनुहोस्