शिक्षक पनि नक्कली !



कृष्णउदास खनाल, वीरगन्ज
बिद्यार्थीलाई ज्ञान दिने शिक्षक नै नक्कली भएसी शिक्षाको अवस्था कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ शिक्षाको स्तर त खस्कने छ नै बिद्यार्थीको भविष्य डामाडोल समेत हुनेछ ।

झोले विद्यालयको समस्या समाधान भएलगत्तै नक्कली शिक्षक पक्राउ परेपछि अहिले हैलाखैला मच्चेको छ । एकताका पर्सा जिल्लामा झोले विद्यालयको बिगबिगी थियो र अहिले नक्कली शिक्षक फेला पर्न थालेका छन् । वीरगन्ज महानगरपालिकामा आव २०७४–७५ मा तलब माग गर्दा दुईजना नक्कली शिक्षक फेला परेका थिए ।

नेरा आधारभूत विद्यालय लालपर्सामा कार्यरत नक्कली शिक्षक अवधेश यादव र सितम्बर ठाकुरको जिल्ला प्रशासन कार्यालय, पर्साले खोजी शुरु गरेको हो । महानगरपालिकामा सो विद्यालयले शिक्षक तलबको माग गरेपछि यो रहस्य खुलेको हो । २०७४ फागुन १ गते दुवैले सो विद्यालयबाट नियुक्तिपत्र लिएको र जिल्ला शिक्षा कार्यालय, पर्साबाट समर्थनसमेत सोही मितिमा लिएको तथ्याङ्क फेला परेपछि महानगरपालिका अन्तर्गत शिक्षा एकाइ शाखाले अनुसन्धान शुरु गरेको थियो । नक्कली शिक्षकद्वय यादव र ठाकुरमध्ये यादव अनुसन्धानको क्रममा जिल्ला प्रशासन कार्यालयको तारेखमा छन् भने ठाकुर फरार छन् ।

पर्सा जिल्लामा चालीसभन्दा बढी नक्कली शिक्षक नियुक्त भएको बुझिएको छ जिशिकाका कर्मचारी तथा विद्यालय व्यवस्थापन र केही शिक्षकहरू यस्तो अवैध कार्यमा लागेको प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले बताए । प्रजिअ पौडेलका अनुसार सो काममा एउटा गिरोह नै सक्रिय रहेकोले गिरोहलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार समेत गरिएको छ । मोटो रकम असुल गरी पर्सामा अधिकांश विद्यालयमा नक्कली नियुक्ति भएको सूचना प्राप्त भएको प्रजिअ पौडेलले बताए ।

शिक्षक स्रोतका अनुसार स्थानीय तह गठन भएपछि शिक्षाको सम्पूर्ण कारोबार स्थानीय तहले हेर्ने भएकोले नक्कली शिक्षक नियुक्त गरी सीधैं स्थानीय तहबाट तलब माग गरिएको र केही शिक्षकहरूले तलबसमेत खाएको बताएका छन् । स्थानीय तहबाट शिक्ष्ँकहरूको तलब, अन्य सेवा सुविधा दिने नेपाल सरकारको निर्णय अनुसार नै माफियाहरूले जिल्ला शिक्षा कार्यालयलाई जानकारी नदिई नक्कली सहीछाप गरी नियुक्तिपत्र दिएको बुझिन्छ । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख लालबाबू साहले अहिलेसम्म फेला परेका नक्कली शिक्षकहरू नियुक्त भएका विद्यालयबारे सोही विद्यालयलाई समेत जानकारी नभएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्