व्यावसायिक कृषिमा ध्यान दिऔं



नेपाली कृषि क्षेत्रमा पछिल्लो समयलाई मात्र मूल्यांकन गर्ने हो भने पनि व्यावसायिक कृषि गर्नेको लहर चल्न थालेको छ । हरेको जिब्रोमा कृषि क्षेत्र जोडिनुलाई कृषिको विकासका लागि थपिएको उर्जा मान्न सकिएला । युवा पुस्ताहरु अन्य व्यवसाय भन्दा कृषि नै ठिक हो भन्न थालेका छन् र त कृषिमा लगानी गर्नेहरुको भीड थपिन थालेको छ । कृषिमा लगानी थपिनु ठिक हो । हिजोसम्म अनपढहरुले मात्र कृषिपेशा अंगाल्छन् भन्नेहरु आज शिक्षित भएर कृषि पेशामा लगानी गर्दा मुलुकको आर्थिक मेरुदण्डको एउटा हिस्सा कृषि क्षेत्र विकासको फड्को मार्ने तयारी गरिरहेको छ ।

कृषि क्षेत्रको विकासका लागि लगानी थपिनु वा युवा पुस्ता लगायत अन्य बर्ग र क्षेत्रका व्यक्तिहरु पनि यसतर्फ आकर्षित हुनु गौरवको कुरा हो तर कृषि क्षेत्रमा सरकारले दिन थालेको अनुदान झ्वाम्म पार्ने सोचमा कृषिमा आकर्षित भएको हो भने त्यसले मुलुकका लागि दुरगामी असर पार्ने देखिन्छ । पछिल्लो समयमा परम्परागत कृषि क्षेत्रमा लाग्नेहरु मात्र होइन सामाजिक संघसंस्थाहरु, सहकारीहरु, निजी क्षेत्रहरु समेत कृषिमा होमिएका देखिनुले मुलुकमा खाद्य सुरक्षाका लागि भएको पहल हो भनेर सकारात्मक सोच लिनेहरुले भनिरहेको छन् भने अर्काथरी सरकारी होस् वा दातृ निकायहरुको बजेट सक्ने काम मात्र गर्न कृषिमा होमिएको बताउन थालेका छन् । यद्यपी सरकारले विभिन्न आयोजनाहरु मार्फत कृषिको व्यवसायिकरणमा पहल गरिरहेको भएपनि त्यसलाई दीर्धकालिन विकासका लागि खासै ठोस पहल गरिएको देखिँदैन ।

सरकारी निकाय होस् वा गैरसरकारी निकायहरु मार्फत सञ्चालनमा आएका कृषि आयोजनाहरुले वास्तविक किसानहरुको जीवनस्तर सुधार्ने तर्फ काम गरिरहेको छैन भन्दा फरक नपर्ला ? यद्यपी अन्य पेशा अंगाल्नेहरुले पनि कृषि क्षेत्रमा लगानी गरेर अनुदानमा आँखा गाड्ने काम गरिरहेको पनि देखिन्छ । अनुदानको रकममा आँखा गाड्ने भन्दा पनि व्यवसायिक कृषि शुरुवात गरेर त्यसलाई बजारीकरण गर्न सक्ने हो भने मात्र नेपाली कृषि क्षेत्रले विकासको काँचुली फेर्ला नत्र जुन जोगी आए पनि कानै चिरेका भने जस्तो नहोला भन्न सकिँदैन । कृषि उपजको उत्पादन बढाउने र त्यसलाई बजारीकरण गर्न तर्फ खासै ध्यान दिएको पनि पाईदैन । त्यसकारण यतिखेर कृषिमा लगानी गर्न खोज्नेहरु वा गरिरहेकाहरुले किसानहरुलाई उत्पादन बढाउन प्रोत्साहित गर्ने काममा लगानी गर्नु आवश्यक छ भने उत्पादिन कृषि उपजको बजारीकरणको अभाव भएका कारण व्यवस्थित बजारीकरण तर्फ ध्यान दिन सक्ने हो भने व्यवसायिक कृषिले सार्थकता पाउथ्यो कि ?
– सागर खनाल, हाल किर्तिपुर ।

प्रतिक्रिया दिनुहोस्