संग्रहालयको अवधारणापत्र सार्वजनिक, नाराहिटी दरवारभित्र सिमा बिवाद



ईश्वरराज ढकाल, काठमाडौं, । नारायणहिटी दरबार संग्रहालयको गुरुयोजना समितिले संग्रहालय परिसरमा बस्दै आएको नेपाली सेना र संग्रहालयको सिमाना तोक्न आग्रह गरेको छ । ७ सय ५४ रोपनी क्षेत्रफल ओगटेको संग्रहालय परिसरको अधिकांस भाग नेपाली सेनाले ओगटेकाले गुरुयोजना निर्माण गर्न बनेको समितिले सरकारलाई सिमाना तोकिदिन आग्रह गरेको छ ।

नारायणहिटी संग्रहालय संचालन व्यवस्थापन र दिगो विकासका लागि तयार गरिएको अवधारणापत्रमा मुख्य विषय सिमाना नै भएको उल्लेख गरिएको छ । संग्रहालयले ३ सय १८ रोपनी क्षेत्रफल मात्रै ओगटेको छ ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा नारायणहिटी परिसरमा रहेको राहदानी विभागलाई संग्रहालयको मातहतमा ल्याएर सो भवनमा ७७ जिल्ला कै संस्कृति झल्कने गरी संग्रहालय निर्माण गर्न सुझाव दिएको छ । ८० कोठा रहेको सो भवनको कोठा तत्कालिन राजा ज्ञानेन्द्रको विभिन्न कार्यालय रहेका थिए । विभाग सरेपछि सो भवनमा संग्रहालय बनाउने गरी प्रतिवेदन बुझाएका छौं–गुरुयोजना निर्माण समितिका संयोजक एवं पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भन्नुभयो । २०६५ फागुन १५ देखि संग्रहालयका रुपमा सर्वसाधारणका निम्ति खुला गरेपछि संग्रहालयको गुरुयोजना तयार भएको थिएन । करिब तीन महिना अघि गठित समितिले दुई साता अघि प्रतिवेदन बुझाएको थियो ।

समितिले नारायणहिटी संग्रहालय परिसरमा रहेको गणतन्त्र स्मारकलाई नाइट स्पट बनाउन समेत सुझाव दिएको छ । फोहरा, फाउन्टेन, बगैचा सहित रात्रीकालिन पर्यटकलाई लक्षित गरी नाइट स्पटको रुपमा विकास गर्न आग्रह गरिएको छ ।
त्यस्तै हाल १९ कक्ष मात्रै खुला रहेको दरबारको सबै कक्ष खुला गर्नुपर्ने र त्यसकालागि पुर्वाधार तयार गर्नुपर्ने, हाल पार्किङको रुपमा प्रयोग गरिएको क्षेत्रलाई बगैचा र त्यहा रहेको ढुंगेधारा संरक्षण गर्नुपर्ने अवधारणपत्रमा उल्लेख छ । २० रोपनी क्षेत्रमा फैलिएको खाली भागलाई सौन्दर्यीकरण गर्न सुझाव दिएको समितिका सदस्यसचिव एवं संग्रहालय विकास समितिका प्रमुख अद्धैतप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । मन्त्रालयलाई बुझाएको प्रतिवेदन समेटेर वृहत गुरुयोजना तयार गर्नेछौ, सोही आधारामा संग्रहालयको थप विकास र विस्तार गर्ने छौ–संयोजक दाहालले भन्नुभयो ।
अवधारणपत्रमा पूर्वराजालाई विदेशबाट उपहार स्वरुप प्राप्त भएका गोल्ड प्लेटेड बन्दुक प्रदर्शनीमा राख्न सुझाव दिइएको छ । नारायणहिटी दरबार भित्र सेनाको कार्यालयमा रहेको उक्त बन्दुकलाई हतियारको रुपमा नभै सोकेसमा राखेर प्रदर्शनी गर्ने गरी नारायणहिटी संग्रहालयलाई बुझाउने प्रतिवेदनमा उल्लेख छ ।

ती हतियार संग्रहालयलाई हस्तान्तरण गर्न मन्त्रिपरिषदले निर्णय गर्नुपर्छ । त्यस्तै संग्रहालयको नाममा रहेको जग्गा संरक्षण गर्न बजेटको व्यवस्था हुनुपर्ने, विसं २०६६ सालदेखि नबढाएको प्रदर्शनी शुल्क बढाउनुपर्ने, श्रीसदन र श्रीपेचलाई प्रदर्शनीमा राख्नुपर्ने लगायतका विषय अवधारणपत्रमा उल्लेख गरिएको छ । २०६५ असार १ गते राष्ट्रिय संग्रहालय बनाउने घोषणा लगत्तै फागुन १५ गते सर्वसाधारणको लागि खुला गरिएको थियो ।

विसं २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा निर्माण गरिएको संग्रहालयको अवस्था समेत जीर्ण बन्दै गएको छ । नारायणहिटी दरबारलाई पुर्ण रुपमा विकास र विस्तार गर्न विज्ञ सहितको गुरुयोजना निर्माण समिति गठन गरिएको थियो । संग्रहालय, त्रिभुवन सदन, फोहोरा बगैचा, श्रीसदन बाहेक अन्य स्थल जीर्ण बन्दै गएको छ । नारायणहिटी दरबारमा ५२ वटा कक्षहरू रहेका छन् । ती मध्ये २०६८ सम्म १९ वटा कक्ष मात्र सर्वसाधारणका लागि खुला गरिएको थियो ।

संग्रहालयको ऐतिहासिक पक्षको जीवन्तरुपमा संरक्षण, पुनःनिर्माण र व्यवस्थापन गर्न गुरुयोजना निर्माण गर्न लागिएको संयोजक दाहालले जानकारी दिनुभयो । अवधारणापत्र तयार भएको छ, त्यसैलाई आधार बनाएर गुरुयोजना तयार गर्नेछौ ।

प्रतिक्रिया दिनुहोस्