रेलिगेसनबिना लिगको विकल्प छैन



फिरोज राजोपाध्याय
नेपाली राष्ट्रिय फुटबल टोली यतिबेला आठौं साफ च्याम्पियनसिप फुटबलका लागि तयारीमा व्यस्त छ। २९ जना खेलाडीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आ–आफ्नो तरिकाले अभ्यास गर्दैछन्। हालै १८औं एसियाली खेलकुदअन्तर्गत फुटबलतर्फ तीनै वटा खेल हारेको यू–२३ राष्ट्रिय टोलीका खेलाडीकै वर्चश्व रहेको छ। जकार्तामा निराशजनक फुटबल खेलेको नेपाली खेलाडीले बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा राम्रो गर्न कडा मेहनत गरिरहेको छ।

नेपाली टोलीको नेतृत्व यसपटक कुनै विदेशी कोचले गरेका छैनन्। जापानी मुख्य प्रशिक्षक ग्योटोकु कोजी इन्डोनेसियाबाटै नेपाल नफर्केपछि सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई नेपाली टोलीको जिम्मा दिइएको छ। महर्जनले आफ्नो नेतृत्वमा ३ वर्षअघि बंगलादेशमा सम्पन्न बंगबन्धु कपमा उपाधि दिलाएका थिए। सोही नतिजा फेरि दोहोर्याउन सक्ने उनको भनाइ रहेको छ। उनले बताए– ‘केटाहरूले कडा मिहिनेत गरिरहेका छन्। हामीले साफ च्याम्पियनसिपमा राम्रो गर्नेछौं।’

नेपालले साफ च्याम्पियनसिपमा अहिलेसम्म उपाधि जित्न सकेको छैन। अहिले नेपालका लागि उपाधि जित्ने आश गरिएको छ। तर विगत ५ वर्षदेखि ‘ए’ डिभिजन लिग हुन नसकेकाले को खेलाडी राम्रो र को खेलाडी नराम्रो भन्न सकिएको अवस्था छैन। नराम्रो खेल्यो भनेर सो खेलाडीलाई अर्को खेलाडीले स्थापन्न गर्ने पनि कसैले जोखिम लिन चाहेको छैन। यसैले पनि अहिले जुन नाम चलेका खेलाडी छन् उनीहरूकै प्रर्दशनमा टिकेको छ नेपाली फुटबलको भविष्य।

अहिले नेपालमा ‘ए’ डिभिजन लिग गर्ने मिति पनि तोकिसकेको छ। असोज १३ गतेदेखि ‘ए’ डिभिजन लिग शुरु गर्ने नयाँ कार्य समितिले पहिलो प्राथमिकता दिएको हो। तर यो लिग रेलिगेसनबिना नै हुने भएको छ। रेलिगेसनबिना नै लिग गर्न बाध्य भएको पनि एन्फाले पटक–पटक बताइरहेको छ। अहिले लिग नगर्नुभन्दा रेलिगेसन नहुने लिग गर्नु नै ठूलो कुरा रहेको एन्फाले सफाइ दिइरहेको छ।

रेलिगेसनबिना नै लिग गर्नमा क्लबहरू पनि सहमत छन्। यसैले पनि असोजमा लिग सञ्चालन हुने पक्का छ। रेलिगेसनबिनाकै लिग भएमा बेस्वाद हुने सम्भावना छ। तर एन्फाले अन्तिम तीन स्थानमा रहने टोलीलाई सहयोग गरिने रकमबाट ५÷५ लाख रुपियाँ कटाउने घोषणा गर्नाले लिगमा कडा प्रतिस्पर्धा हुने आश गर्न सकिन्छ।

यसबारे थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले सकारात्मक सुरुआत भएको प्रतिक्रिया दिनुभयो। केसीले नेपाल समाचारपत्रलाई बताउनुभयो– ‘४÷५ वर्ष लिग नभइरहँदा फुटबलको कस्तो हविगत भयो यो सबैलाई थाहा छ। लिग नहुनुभन्दा लिगजस्तै भए पनि हुनु सकारात्मक पक्ष हो। यो एकचोटिलाई रेलिगेसनबिना लिग हुन्छ। पछि त लिग रेलिगेसनवाला नै हुनेछ। फेरि एन्फाले अन्तिम तीन स्थानमा रहने टोलीलाई जनही ५ लाख कटाउने भन्ने घोषणाले यो लिगमा सबैले मेहनत गर्ने नै छन्’,

उहाँले थप्नुभयो– ‘हामीकहाँ क्लब धेरै छैनन्। खेलाडी धेरै छैनन्। अहिले नै रेलिगेसन हुने लिग सञ्चालन भएमा मुस्किल नै हुनेछ। धेरै ग्यापले गर्दा खेलाडीको कमी भएको छ। खाली मोफसलमा खेलाडीहरूले प्रदर्शन गरिरहेको अवस्था छ। यसैले यो लिगले भविष्यमा फुटबलको गतिविधि बढ्दै जाने स्थिति पनि ल्याउन सकिन्छ।’

उता नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङको भनाइ भने बेग्लै रहेको छ। गुरुङ आजभोलि कुनै क्लबसँग आबद्ध छैनन्। मनाङ मस्र्याङदी क्लबबाट अलग भएपछि गुरुङ फुर्सदमा छन्। गुरुङले नेपाल समाचारपत्रलाई बताए– ‘रेलिगेसनबिना लिग हुने भएकाले कसैमा उत्साह देखिएको छैन। कुनै क्लबले कोही खेलाडीलाई अहिलेसम्म अनुबन्ध गरेको पनि छैन। लिग रेलिगेसनकै भएमा राम्रो हुने हो। हेरौं यस्तो लिगले कस्तो नतिजा निकाल्नेछ।’

प्रतिक्रिया दिनुहोस्