स्वअध्ययनबाटै कलामा जमेका गुरुङ, देशको रूपरंग क्यानभाषमा उतार्दै



नेपाली संस्कृतिलाई कलामा उतारेर देशविदेशमा पुर्याउनुपर्ने कलाकारको दायित्व भएको अग्रज पोखरेली कलाकार आलोक गुरुङले बताएका छन्। नेपाल ललितकला पत्रकार समाज (सोफाज)ले नियमित गर्दै आएको कलाका कुराको २६औं शृंखलामा उनले नेपाली कलाक्षेत्रमा पछिल्लो समय निकै प्रगति भएको चर्चा गरे।

डिल्लीबजारस्थित फलैंचा स्पटमा आयोजित मासिक कार्यक्रममा उनले नेपाली कलामा नयाँ पुस्ताले सिर्जनात्मक ढंगले काम गर्दै अघि बढेको धारणा राखे। राज्यले कलाक्षेत्रको विकासका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै उनले भने– ‘कलाले देशको पहिचानलाई अन्तर्राष्ट्रियरूपमा चिनाउन महवपूर्ण भूमिका खेल्ने भएकाले राज्यले कला र कलाकारको संरक्षण र प्रवद्र्धनमा ध्यान दिनुपर्छ।’

तनहुँमा जन्मिएका ६५ वर्षीय कलाकार गुरुङले पोखरामा बसेर साढे ३ दशकदेखि निरन्तर कलाकर्म गरिरहेका छन्। उनले बनाएका चित्र नेपालका विभिन्न स्थानका साथै विश्वका विभिन्न मुलुकमा पुगेका छन्। देशको संस्कृति, प्रकृति र जनजीवनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन पाएकामा उनले सन्तोष मान्दै भने– ‘एउटा कलाकारले गर्ने भनेकै आफू र आफ्नो मातृभूमिलाई चिनाउनु र फैलाउनु हो।’ आफ्ना कलाका बारेमा बोल्दै उनले भने– ‘आफैले बनाएका सिर्जनालाई हेरेर आफ्नो गल्ती, कमजोरी पर्गेल्न सक्ने क्षमताको विकास हुनु भनेको कलाकारितामा ऊ खारिँदै जानु हो।’ आफूले बनाएका चित्र केही समयपछि फेरि हेर्दा त्यसलाई अझै राम्रो र आकर्षक बनाउन सकिन्थ्यो भन्ने सोच हरेकपटक आउने उनले बताए। कार्यक्रममा सहभागी हुन गुरुङ पोखराबाट राजधानी आएका हुन्।

कलामार्फत देशका विभिन्न स्थान घुम्ने र त्यहाँको संस्कृति, रीतिथितिलाई नजिकबाट नियाल्ने अवसर पाएको खुलाउँदै उनले भने– ‘तिनलाई सकेसम्म चित्रमा उतारेर सांस्कृतिक सचेतनाप्रति आफूलाई समर्पित गरेको छु।’ भारतीय सेनामा कार्यरत बाबुसँग १० वर्षको उमेरमा जम्मुकास्मिर पुगेपछि स्कुले पढाइ शुरू गरेका गुरुङले आफूलाई पढाउने शिक्षकले बनाएका कलाकारिताबाट प्रभावित भएर यस क्षेत्रमा लागेको बताए। बेलाबेलामा भइरहने बाबुको सरुवाका कारण ९ कक्षासम्मको अध्ययन गरेका गुरुङले आफ्नो विगत सम्झिए। बुबाको अवकासपछि उनी भैरहवामा आएर कलाक्षेत्रमा लागे।

हिन्दी माध्यमबाट पढेका कारण नेपालमा शुरूमा पढ्न गाह्रो भएकाले अध्ययनलाई अगाडि बढाउन गाह्रो भएको उनले सुनाए। त्यसपछि उनको अध्ययनमा पूर्णविराम लाग्यो। तर कास्मिरमा उनलाई ट्युसन पढाउने शिक्षक हेमबहादुर थापाले दिएको कलाको थोरै ज्ञानलाई मिहिनेतका साथ अगाडि बढाए। उनले त्यत्तिबेला बजारमा पाइने लेनिनको पोस्टरलाई कपी गरे। पहिलोपटक लेनिनको तस्वीरलाई चित्रमा उतारेपछि दंग पर्दै उल्ट्याइपोल्ट्याइ हेरेको बताए।

त्यसपछि विभिन्न रङ, ब्रस, कार्डबोर्ड हुँदै क्यानभासलगायतका माध्यममा विभिन्न व्यक्ति, पत्रिकामा छापिएका हिरो, हिरोइनका तस्वीरलाई उतार्न थाले। ती चित्रलाई मन पराएर छिमेकीले ‘दुरुस्तै पो बनाएछौ’ त भन्दै आप्mनो घरमा लगेर टाँगिदिँदा उनी मख्ख पर्थे। ०३६ सालताका उनले भैरहवामा रहेको तिलक आर्टमा काम गर्न थाले। आर्टका तिलक गुरुङले घरमा आएका बेला चित्र देखेर पसलमा काम गर्ने अफर गरेको उनले सुनाए। त्यतिबेला हरेक कार्यालयमा राजारानीको तस्वीर झुन्ड्याउने प्रचलन थियो। उक्त पसलमा राजारानीका तस्वीर देखेका गुरुङले तिनलाई दुरुस्त उतार्न थाले। उनले बनाएका राजारानीका मुहारचित्रको सरकारी कार्यालयबाट व्यापक माग हुन थाल्यो। त्यसको ३ वर्षपछि उनी पर्यटकीय नगरी पोखरामा कलाको व्यावसायिकता खोज्दै झरे।

पर्यटकको चापका कारण उनका चित्रको माग बढ्दै गयो भने राजारानीका चित्रको समेत माग बढ्दै गयो। उनले कास्कीका पर्यटकीय क्षेत्रमा पुगेर दृश्यचित्र, मुहारचित्र बनाउने कामलाई तीव्रता दिए। अहिले उनी नेपालका सबै जनजातिको पहिचान झल्कने कला बनाउने लक्ष्यका साथ देश घुमिरहेका छन्। देशका विभिन्न भूभागमा पुगेर स्थानीय जीवनशैली, भेषभूषा, रूपरङ नियाल्दै तिनलाई क्यानभासमा उतार्ने उनले लक्ष्य लिएका छन्।

स्वअध्ययनबाटै कलामा स्थापित हुन सफल भएको अनुभव सुनाउँदै उनले अहिले कला सिक्न चाहनेका लागि भ्याएसम्म सिकाउँदै आएको बताए। उनले सम्झे– ‘मसँग कला सिकेका थुप्रै व्यक्ति कलाक्षेत्रमा अहिले स्थापित भएका छन्। मलाई यसमा निकै सन्तोष लागेको छ।’

प्रतिक्रिया दिनुहोस्