बीच सडकमा पसल



बाँके, (नेस)
बीच सडकमा पसल ? धेरैलाई अनौठो लाग्न सक्छ । नेपालगञ्जको त्रिभुवनचोकमा भने खासखास पर्वमा बीच सडकमा पसल राख्नु ‘परम्परा’जस्तै भएको छ ।

भोलीको रक्षा बन्धनलाई मध्यनजर गर्दै यतिबेला त्रिभुवनचोकदेखि त्रिवेणीमोड जाने बीच सडकमा पसल राखिएका छन् । दाईभाईलाई लगाइदिने विभिन्न प्रकारका ‘राखी’हरु बेच्न राखिएको छ । यहाँ विशेष गरेर रक्षा बन्धन, होली र तिहारमा पसल राख्ने गरिन्छ ।

बीच सडकमा राखिएको पसलबाट नगरपालिकाले दुईदेखि तीन सयसम्म राजश्व उठाउने गर्दथ्यो । यसपाली भने निशुल्क राख्न दिएको पसलेहरुले बताए । पसलमा सामान बेच्न बसेका ताम्बे लखेरले नगरपालिकाले निशुल्क पसल राख्न दिएको बताउनुभयो । ‘अनुमति माग्न जादा नगरपालिकामा बैठक थियो, सबैले निशुल्क दिनु पर्ने बताएपछि यसपाली निशुल्क भयो, लखेरले भन्नुभयो ।

बीच सडकमा पसल राख्दा हिड्डुल गर्न यात्रुहरुलाई अप्ठेरो परेको बेलाबेलामा जनगुनासो आएका थिए । त्यो कुरालाई मध्यनजर गरेर नगरपालिकाले बेलाबेलामा पसल राख्न नदिन जोडबल गरेको थियो । तर, नगरपालिकाले सकेन । अहिले बाटो फराकिलो भएको छ । पर्वहरुमा तीन दिन लाग्ने पसललाई सञ्चालन गर्न दिने कुरामा व्यापारी अगुवाहरु सहमत छन् । नेपालगञ्ज उद्योग बाणिज्य संघको चुनावमा समेत यहाँ निशुल्क पसल राख्न दिने कुरा मुद्दा बन्ने गर्दछ ।

नेपालगञ्जको त्रिभुवनचोक पुरानो बजार हो । नेपालगञ्ज शहर बस्दा नै यो प्रमुख बजार रहेको जानकारहरु बताउँछन् । त्रिभुवनचोक, सदरलाइन अहिले पनि प्रमुख बजार नै मानिन्छ । घरबारीटोल, न्यूरोडमात्रै होइन, धम्बोझीदेखि कारकादोसम्म बजारको रौनकता बढ्दै गएको छ ।

उपमहानगरपालिकामा १५ जना व्यापारीले बीच सडकमा पसल राख्नका लागि निवेदन दिएका थिए । यद्यपि, पछि अरु पनि थपिएका छन् । यसपाली पसल राख्न दिने कि नदिने भनेर छलफल भएको थियो । परम्परादेखि चलिआएकाले दुवैतिरबाट अत्यावश्यक सवारी साधनहरु दमकल, एम्बुलेन्स, प्रहरीको गाडीहरु हिड्न मिल्ने गरी पसल राख्न दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

पसलेलाई बीच सडकमा पाँच फुटमा पसल राख्न दिन भनिएको छ । नगरपालिकाका हवल्दार पवन कनोजियाले पाँच फुट भन्दा लामो राखिएको पसल हटाइदिएको जानकारी दिनुभयो । चलिआएको बीच सडकमा पसल राख्ने कुरामा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले पनि पहल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्